मंसिर १६, २०८०
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए ।
दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरसम्म उनी अस्पतालमै रहन्थे । जतिबेला काठमाडौं उपत्यका बाहिर नवलपरासी, चितवन र मकवानपुर एरियामा भएका दुर्घटनाका घाइतेलाई उपचारका लागि ढिलोगरी बी एन्ड बीमा ल्याउने गरिएको थियो । अन्य जिल्लाको तुलनामा ती जिल्लाका बिरामी धेरै हुन्थे ।
दुर्घटनामा परेको ८/१० घण्टापछि डेढ/दुई सय किमी लामो बाटोबाट बिरामीलाई एम्बुलेन्समा हालेर काठमाडौं लैजाँदा कतिपयको घाउ दुखिरहेको र कतिपयको इन्फेक्सन भइसकेको हुन्थ्यो ।
कोही बिरामी रोइरहेका तथा कराइरहेका हुन्थे । इन्फेक्सन भएका बिरामीको घाउ नओभाई अपरेसन गर्न नमिल्ने समस्या बारम्बार झेल्ने गरेका थिए, ड्युटीमा रहँदा ।
बी एन्ड बीमा काम गरिरहेको समयमा प्रमोदको मनमा एउटा कुरा खेल्थ्योे– नजिकै ट्रमा अस्पताल भएको भए चितवन, नवलपरासीका बिरामीले यति कष्ट व्यहोर्नुपर्दैनथ्यो होला, छिट्टै उपचार पाउँथे होला । रेसिडेन्ट डाक्टरको रूपमा काम गरिरहेको समयमा लामिछानेलाई काठमाडौंबाहिर ट्रमा सेन्टर खोल्ने सोच आयो, जतिबेला काठमाडौंको वीर अस्पतालमा रहेको ट्रमा सेन्टर पनि खुलेको थिएन ।
डा. अशोक बास्कोटासँग राम्रो सम्बन्ध बनेका कारण प्रमोदसँग बी एन्ड बीमै जागिर गर्ने सुविधा छँदै थियो । अन्य अस्पतालको ढोका पनि खुलै थिए । तर उनी चुनौती लिन तयार भए । बास्कोटाले बी एन्ड बीमै काम गर्न जोड दिइरहेका थिए ।
एकजना डा. साथीलाई लिएर प्रमोदले चितवनमा अस्पताल खोल्ने योजना बनाए । नाम जुर्यो– अलाइभ अस्पताल एन्ड ट्रमा सेन्टर ।
डा. रिकलमान श्रेष्ठसँग मिलेर प्रमोदले चितवनमा निजी स्तरबाट ट्रमा सेन्टर (घाइतेको हड्डीको उपचार गर्ने अस्पताल) सञ्चालनमा ल्याए । काठमाडौंमा जन्मेको मान्छे चितवनमा बसेर काम गर्दा असुविधा भएपछि डा. रिकलमान भने पछि राजधानी नै फर्के । डा. प्रमोदले अस्पताललाई अगाडि बढाउँदै लगे । एक दशकको अवधिमा अस्पतालले २० हजारभन्दा बढीको सफल शल्यक्रिया गरेको छ ।
भर्खर एमडी सकेको २८/३० वर्षका युवाले नयाँ अस्पताल शुरू गर्दा धेरैले पत्याएनन् । भव्य भवनसहित सञ्चालनमा रहेका दुईवटा मेडिकल कलेज र निजी क्षेत्रबाट सञ्चालित अस्पताल सञ्चालनमा रहेको ठाउँमा सानो घर भाडामा लिएर नयाँ अस्पताल स्थापना गर्नु र स्थापित गर्नु चुनौती थियो । दुःख, कष्ट झेल्दै एक दशकको अवधिमा प्रमोदले अस्पताल स्थापित गरेर देखाइदिए ।
काठमाडौंबाट उपचारका लागि चितवन
सन् २०११ ताका चितवनका ठूला अस्पतालमा आइतवार, मंगलवार र बिहीवार मात्र शल्यक्रिया हुने गर्दथ्यो । शुक्रवार कोही व्यक्ति दुर्घटनामा परेमा अपरेसनका लागि आइतवारसम्म पालो कुर्नुपर्ने अवस्था थियो । या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । यो समस्या समाधानका लागि प्रमोदले चितवनमा अस्पताल खोल्ने निधो गरेका थिए ।
प्रमोदको टीमले अलाइभमा दुर्घटनामा परेर आएका बिरामीलाई तत्कालै अपरेसन गरेर उपचार गर्ने पद्धति शुरू गर्यो ।
‘दुर्घटनामा परेको बिरामीलाई तत्कालै अपरेसन गरेर उपचार गर्ने कि बिरामी पहिलो चोटबाट स्टेबल भएपछि अपरेसन गर्ने भन्ने कुरा अझै पनि विश्वव्यापी बहसको विषय छ,’ डा. लामिछानेले लोकान्तरसँग भने, ‘एउटा उपचारमा धेरैपटक अपरेसन गर्नुभन्दा एकैपटक अपरेसन गरेर उपचार गर्दा बिरामीलाई थप पीडा हुँदैन भनेर हामीहरूले पहिलो विकल्पलाई अपनाउँदै आएका छौं ।’
दुर्घटना भएको ६ घण्टाभित्र उपचार गर्न सकेमा घाउलाई संक्रमणबाट जोगाउन सम्भव हुने भएकाले पनि उनीहरूले यो उपचार पद्धतिलाई निरन्तरता दिइरहेका छन् ।
यो उपचार पद्धतिले गर्दा सामान्य चोटपटक लागेका र हातखुट्टा भाँचिएका बिरामी त्यसैदिन उपचार गराएर घर फर्किन पाउने भए । दुर्घटनाका बिरामीको सफल उपचारका कारण चितवन–नवलपरासी आसपासका मानिसहरू काठमाडौंमा दुर्घटना भए पनि उपचारका लागि चितवन पुग्नेसम्मको ख्याति अस्पतालले कमायो ।
‘काठमाडौंका सुविधासम्पन्न अस्पताल छाडेर यहाँ आउनु भनेको हाम्रो उपचार पद्धतिप्रतिको भरोसा हो,’ प्रमोदले लोकान्तरसँग भने ।
दुर्घटनाका घाइतेहरूका लागि अलाइभले अपनाएको उपचार पद्धतिबारे देश विदेशका विभिन्न फोरममा प्रमोदले कार्यपत्र प्रस्तुत गरेका छन् ।
‘सानो देशको सानो अस्पतालले गरेको कार्यपत्रको (वेट)वजन त धेरै हुँदैन, तर पनि अहिले उपचारको यही मान्यता विश्वभरी शुरू भएको छ,’ डा. प्रमोदले भने ।
ठूलो अस्पतालको खोजीमा काठमाडौं लैजाने र उपचार नभएर फेरि चितवनमै फर्कने गरेको उदाहरण पनि अलाइभसँग छ । ‘अन्यत्र उपचार सम्भव नभएपछि हामीकोमा आउने बिरामी धेरै हुनुहुन्छ । हाम्रो सीपले भ्याएसम्म सफल उपचार गरेरै पठाउँछौं,’ उनले भने ।
अलाइभ शुरू गर्ने समयमा चितवनमा १२ जना अर्थोपेडिक सर्जन रहेकोमा अहिले ४० जना पुगेका छन् । ‘चितवनका अन्य अस्पतालमा पनि अहिले ठूला र धेरै अपरेसन भइरहेका छन् । चितवनकै अस्पतालबाट रिफर मागेर यहाँ आउने बिरामीको संख्या अहिले पनि उल्लेख्य छ,’ डा. लामिछानेले भने, ‘हाम्रा लागि ख्यातिको विषय नै यही बनेको छ ।’
नवजीवन पाउनेहरूको कथा
ट्रक चालक पाल्पाका खेमपाल मगर बुटवल–पाल्पा सडक खण्डअन्तर्गतको सिद्धबाबामा बोत्तलमा खानेपानी भर्न रोकिएका थिए । पानी खाँदै गर्दा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भए । ७ ठाउँमा हड्डी भाँचिएका मगरलाई लामोसमय अस्पतालमा राखेर उपचार गर्नुपर्ने भयो ।
शुरूको केही समय गाडी मालिकले उनको उपचार गर्यो, तर उपचार सफल भएन । उपचार सफल नभएपछि खेमपाल ७ वर्षदेखि परिवारका अन्य सदस्यको सहारामा बसिरहेका थिए । उपचार गरेर निको पार्न सकिने बिरामी घरको बेडमा बसिरहेको समाचार देखेपछि डा. प्रमोदले अस्पतालमा ल्याएमा निःशुल्क उपचार गरिदिने बताए ।
बुटवलको कुनै टोलको आमासमूहले पैसा उठाएर खेमपाललाई चितवन ल्याउने काम गर्यो । केही समयको उपचारपछि उनी हिँड्न/डुल्न सक्ने भए । अहिले उनी गाउँमा सानो व्यापार व्यवसाय गरेर जीवन निर्वाह गरिरहेका छन् । ‘अस्पतालबाट फर्किँदै गर्दा नयाँजीवन पाएँ । आफ्नै पौरखले जिउन सक्ने भएँ भन्ने उहाँको प्रतिक्रिया थियो,’ डा लामिछानेले स्मरण गरे । पटक–पटक गरेर झण्डै साढे ३ वर्षको उपचार अस्पतालले निःशुल्क गरेको थियो ।
****
२०६५ सालको थरुहट आन्दोलनका क्रममा प्रहरीको गोली लागेर चितवनका सञ्जित महतो घाइते भए । पहिलो चरणमा थारू समुदायले पैसा उठाएर उपचार गरे, तर हड्डी जोडिएन । घाउमा इन्फेक्सन भयो । पानी बगेकोबग्यै गर्ने समस्याबाट उनी गुज्रिरहेका थिए ।
५ वर्षपछि थारू समुदायले उनको उपचारका लागि सहयोग गर्न भनेर अभियान चलाए । त्यो अपिल सामाजिक सञ्जालमा देखेपछि प्रमोदले उनीहरूसँग सम्पर्क गरे । ‘त्यो देखेपछि डकुमेन्ट लिएर बिरामी ल्याउन भनें । बिरामी उपचार गर्न मिल्ने खालको रहेछ । दुई वर्ष अस्पतालले निःशुल्क उपचार गर्यो अहिले उनी ट्याक्टर चलाएर जीवन यापन गरिरहेका छन्,’ लामिछानेले भने ।
थारू समुदायले चन्दा उठाएर औषधि किन्ने काम गरे पनि अस्पतालले अन्य उपचार निःशुल्क गरेको थियो ।
****
चितवनको भरतपुर महानगरमा अटोरिक्सा व्यवस्थित गर्ने क्रममा २०७५ साउन ९ गते अटोरिक्सा चालकको आन्दोलनमा गोली चल्दा एक चालक घाइते भए ।
खुट्टा भाँचिएका ती चालकलाई महानगरको खर्चमा सरकारी अस्पतालमा भर्ना गरियो । तर, भाँचिएको हड्डी निको भएन । सरकारी अस्पतालमा गरिएको उपचार सफल नभएपछि ती अटोरिक्सा चालक भरतपुरको अलाइभ अस्पतालमा पुगे । तीन वर्ष लगाएर उपचार गरेपछि उनको खुट्टा साविकको अवस्थामा आयो । तीन वर्षसम्म अलाइभमा उपचारपछि स्वस्थ भएर उनले पुरानो पेशालाई निरन्तरता दिइरहेका छन् ।
****
मकवानपुरका शिवहरि सापकोटा आफ्नै ट्याक्टरले किचिएर मरणतुल्य अवस्थामा अलाइभ आएका थिए । शरीरका अधिकांश भागमा चोट लागेकाले परिवारका सदस्यले बाँच्नेमा आशा मारिसकेका थिए ।
‘शिवहरि सापकोटाको केस हाम्रा लागि पनि स्मरणीय छ, परिवारका सदस्यहरूले माया मारिसक्नुभएको थियो, तर हामीले उहाँलाई बचाउन सफल भयौं,’ लामिछानेले भने । आफ्नै ट्याक्टरले किच्दा चार/पाँच ठाउँमा हड्डी भाँचिएको थियो । तीन महिना अस्पताल बसेर जाँदा उनी हिँडेर गएका थिए । ‘हामीहरूलाई सपनाजस्तो लागिरहेको छ,’ अस्पतालबाट जाँदै गर्दा परिवारका सदस्यले भनेका थिए ।
अस्पतालमा बिरामी कुर्न बसेका नवलपरासीका चक्रप्रसाद सापकोटा चितवनमै यो स्तरको अस्पताल भएपछि काठमाडौं जानुपर्ने बाध्यता हटेको बताउँछन् ।
‘बाइक दुर्घटनामा आफन्तको हात भाँचिएर यहाँ ल्याएको, एकैछिनमा उपचार भयो । यत्तिका लागि काठमाडौं जाने खर्च जोगियो,’ सापकोटाले भने, ‘अरू अस्पतालमा जस्तो यहाँ धेरै दिन कुर्नु परेन ।’
अब्बल विद्यार्थी जसले कक्षा ६ र ७ पढेनन्
लमजुङको भोटेओढारमा जन्मेका प्रमोदले प्रारम्भिक शिक्षा नेपाल प्रहरी स्कूल बेलचौतारा तनहुँमा लिए ।
यूकेजीदेखि ५ कक्षासम्म प्रहरी स्कूलमा पढेका प्रमोदले जीवनमा कक्षा ६ र ७ भने पढेनन् । कक्षा ५ पास गरेपछि उनी एकैपटक कक्षा ८ मा भर्ना भए ।
लमजुङमा रहेको सरकारी स्कूलबाट विशिष्ठ श्रेणीमा एसएलसी उत्तीर्ण गरे । स्कूले जीवनमा सधैं प्रथम हुने प्रमोद जिल्लामा प्रथम त भए तर, एउटा विषयका कारण त्यो बेलाको बोर्ड (देशभरबाट सबैभन्दा धेरै नम्बर ल्याउने १०) जनामा पर्ने सपना अधुरो रह्यो ।
ऐच्छिक कृषि विषयमा कापी जाँचकले गरेको हेलचेक्र्याँइका कारण बोर्डमा अवसर गुमाएको उनको गुनासो छ । अन्य विषयमा उत्कृष्ट नम्बर ल्याएका उनको कृषि विषयमा जस्ट पास नम्बर आयो । उनले आफ्नो रोजाइको विषय विज्ञानमै उच्च शिक्षा शुरू गरे ।
लैनचौरमा रहेको निस्ट कलेजबाट उनले आइएस्सी पास गरे । कक्षामा फड्को हानेका उनलाई एमबीबीएस अध्ययन गर्न भने एक वर्ष कुर्नुपर्यो । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले चितवन मेडिकल शिक्षण अस्पतालबाट एमबीबीएस उत्तीर्ण गरे ।
पछि उनले काठमाडौं विश्वविद्यालयबाट हाडजोर्नीमा एमडी गरे । हाडजोर्नीको विषयमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय फोरममा दर्जनौं कार्यपत्र पेश गरेका छन् । नेदरल्यान्डको विश्वविद्यालयमा उनी फेलो हुन् ।
डा. प्रमोदको अर्को परिचय पनि छ । सामाजिक सञ्जालमा छाइरहेको ‘भाइरल नेपाली घर’सहित चितवनमा भव्य ठिमुरा रिसोर्ट समेत उनले सञ्चालन गरेका छन् ।
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...