
मोरङको पथरी शनिश्चरेका खेम (नाम परिवर्तन) ऐलानी जग्गामा सामान्य घर बनाएर बसेका छन् । उनको ७ जनाको परिवार छ ।
दैनिक ज्याला मजदुरी र घरमा पालिएका बाख्रा/कुखुरा उनले बिहान बेलुका हातमुख जोर्ने कमाइका स्रोत हुन् । कोभिड– १९ का कारण लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फर्निचर सामग्री पनि बनाउँथे ।
लकडाउनले व्यवसाय बन्द भएपछि खेम समस्यामा परेका थिए । त्यसैबेला उनले पहिलेदेखि नै नजिकबाट चिनेका सागर राईले अमेरिका जान सल्लाह दिए ।
तत्कालीन अवस्थामा पथरी शनिश्चरे नगरपालिका– १० का वडाध्यक्ष समेत रहेका राई तिनै पात्र हुन्, जो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन् ।
अमेरिका जान मिल्ने भए जाऊँ न त भन्ने मनस्थिति बनाएका खेमलाई सागरले शुरूमा १० लाख दिनुपर्ने बताए । २ लाख रुपैयाँ साथीभाइसँग मागेका खेमलाई थप ८ लाख जुटाउन मुस्किल पर्यो ।
‘सागरले २ लाख तुरुन्तै ठीक पार्नुस् भनेपछि साथीभाइसँग मागेर दिइहालें । ८ लाख रुपैयाँ जोहो गर्न ससुरालीको जग्गा धितोमा राख्नुपर्यो,’ उनले भने, ‘न अमेरिका जान पाइयो, न त्यो जग्गा उकास्न सकेको छु ।’
आँखामा आँसु टिलपिल पार्दै उनले थपे, ‘ऋणको ब्याज तिर्न नै आफूसँग भएको १० धुर जग्गा बेच्नुपर्यो । यही आँसुको सहारामा दिन बिताइरहेको छु ।’

उनका ८७ वर्षीय बुवा र ७६ वर्षकी आमाको पनि आँखा नओभाएको लामो समय भइसकेको छ ।
खेमकी श्रीमतीले छोराछोरीको स्कूल फी समेत तिर्न नसकेको गुनासो गरिन् ।
तनावका कारण आफू माइग्रेनको रोगी भएर औषधि खानुपरेको उनको गुनासो छ ।
‘दुःख सहन नसकेपछि खाडी भए पनि जान्छु भनेर लागेको थिएँ,’ उनले भनिन्, ‘तर, मेरो स्वास्थ्य समस्यालाई देखाएर म्यानपावर कम्पनीले पठाउन मानेन ।’
पक्राउ पर्नुअघि उनीहरू सागरलाई भेटेर पटक–पटक रोएका रहेछन् । सागरले मिति उल्लेख नगरी बैंकको चेक पनि दिएका छन्, तर खातामा पैसा छैन ।
‘हामीलाई भेट्दा उसले तपाईंहरूको पैसा डुबाउँदिनँ भन्ने गरेको थियो, अहिले त पक्राउ पर्यो,’ खेमकी पत्नीले सुनाइन् ।

सागर पक्राउ परेपछि उनीमार्फत ठगिएकाहरूको डेढ करोड रुपैयाँसम्म तिरिन्दिछौं भनेर सागरका बुवाले भनेको हल्ला उनीहरूले सुनेका छन् ।
त्यो कुराले थोरै आशा भने पलाएको छ । सागरका बुवाआमा अमेरिकामा बस्छन् ।
****
सागरलाई पैसा बुझाएर ठगिनेमध्ये अर्का व्यक्ति हुन्, नवीन (नाम परिवर्तन) ।
अमेरिका जाने सबै प्रक्रिया पूरा भइसक्यो भनेपछि जग्गा बन्दकी राखी ३६ प्रतिशत ब्याजमा ऋण लिएर बुझाएको उनले बताए ।
सागर नजिकको साथी भएकाले पनि ऋण लिएर पैसा बुझाउने हिम्मत गरेको उनको भनाइ छ ।
‘पहिला २ लाखले हुन्छ भनेपछि साथीभाइसँग मागें । अमेरिका जाने भएपछि तिरिहाल्छ भनेर सहजै पैसा दिए । सागरले तीन महिनामै अमेरिका पुगिन्छ भनेको थियो । तीन महिना नपुग्दै ८ लाख ठीक पारिहाल्नुस्, अब जाने बेला भयो भनेर ताकेता गर्यो,’ नवीन भन्छन् ।
त्यतिबेला लिएको १० लाखको सावाँ र ब्याज गरी अहिलेसम्म १४ लाख तिरिसकेको उनको भनाइ छ ।
उनीसहित पीडितहरू कानूनी झमेलामा फसिने डरले पहिचान खुलाउन तयार छैनन् । शरणार्थी बन्न खोज्नेहरूलाई पनि कारवाही हुनुपर्छ भनेको सुन्दा मनमा चिसो पसिरहेको छ ।

पैसा संकलनपछि अस्वाभाविक जीवनशैली
सागर पहिलेदेखि नै स्थानीय युवाबीच लोकप्रिय थिए । सोही कारण केशव दुलाल (सुजाता कोइरालाका स्वकीय सचिव)ले कांग्रेस प्रवेश गराएर वडाध्यक्षको टिकट दिलाएका थिए ।
कांग्रेसमा लामो समयदेखि क्रियाशील रहे पनि केशवको भने खासै प्रभाव थिएन । उनी क्षेत्रीय सभापतिको उम्मेदवार बन्दा जम्मा १६ मत प्राप्त गरेका थिए ।
सोही अधिवेशनका बेला नेताहरूलाई प्रभावित पार्न केशवले विराटनगरकै एक होटलमा ककटेल पार्टी दिएका थिए ।
उक्त पार्टीमा उठेको १ लाख ५० हजार रुपैयाँको बिल केशवले भुक्तानी गरेपछि कांग्रेसका नेताहरू अचम्ममा परेका थिए ।
‘सामान्य परिवारको र त्यसअघि त्यत्तिको खर्च गर्न सक्ने हैसियत नभएको केशवले उक्त बिल भुक्तानी गरेको सुन्दा नै हाम्रो मनमा चिसो पसेको थियो,’ कांग्रेस नेताहरूसँग राम्रै चिनजान रहेका खेम (पीडित) ले लोकान्तरसँग भने ।
केशव पनि अमेरिका लैजाने धन्दामा संलग्न छन् भन्ने उनलाई थाहा थियो, तर सागरले अरू कसैसँग कुरा नगर्नु भनेकाले यसबारे कुराकानी गरेका थिएनन् ।
आफूहरूले पैसा बुझाएको केही दिनमा सागरले गाडी किनेको पनि उनी बताउँछन् ।
‘सागरले नयाँ गाडी किनेर धुपबत्ती बाल्दैछ भन्ने सुनेदेखि नै हो म बिरामी पर्न थालेको,’ खेमकी पत्नीले लोकान्तरसँग भनिन् ।
यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । अमेरिका जाने प्रलोभनमा पैसा बुझाउने धेरैको यस्तै बिचल्ली भएको छ । न म पीडित हुँ भनेर भन्न सकेका छन्, न त लागेको ऋण तिर्न नै ।