प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर अभिवृद्धिमा कटिवद्ध हुन निर्देशन दिएका छन् ।
७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई मंगलवार भर्चुअल माध्यमबाट महानिरीक्षक कुँवरले यस्तो निर्देशन दिएका हुन् ।
प्रहरी कर्मचारीहरूले आफ्नो आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल सरकार र प्रहरी संगठनको नीतिका साथै संगठनको आन्तरिक सुदृढिकरणलाई प्रमुख एजेण्डा मानेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थ भन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारवाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरेर त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।’
महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजश्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नका लागि पनि निर्देशन दिएका छन् ।
नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।