२२ जेठ २०८३, शुक्रबार
सन्दर्भ : गेरुवस्त्र धारण गरेर पूजापाठ

प्रचण्डको ‘बहुरंगी आवरण’ : दशकअघि भैँसी पूजा, अहिले गेरुवस्त्र !

जेठ २४, २०८०
काठमाडौं
प्रचण्डको ‘बहुरंगी आवरण’ : दशकअघि भैँसी पूजा, अहिले गेरुवस्त्र !

सामान्यतः सबै दर्शनको आधारभूत प्रश्न र चिन्तन अस्तित्वसँग सम्बन्धित हुन्छन् । दर्शनको छुट्टा–छट्टै शिविरहरू खडा भएका छन् । जहाँ दर्शनको आ–आफ्नो पक्षधरताको बहस शुरू हुन्छ । प्रकृतिभन्दा चेतनालाई प्राथमिकता दिने र त्यसैबाट विश्वको संरचना बन्यो भन्ने एउटा शिविर छ । जसलाई आदर्शवादी दर्शनका रूपमा चित्रित गरिन्छ । प्रकृतिलाई प्राथमिकता दिएर दर्शन बुझ्नेहरू भौतिकवादीका रूपमा कहलिएका छन् । 

दर्शनका यी दुई शिविरबाट समाज ‘दीक्षित’ भएका कारण समाजमा व्यक्त हुने धारणाहरू स्वाभाविक रूपमा विभाजित छन् । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारत भ्रमणका क्रममा मध्य प्रदेशको उज्जैनस्थित शिप्रा नदी छेउमा अवस्थित महाकालेश्वर मन्दिरमा पूजा गरे । सोही पूजाको विषयलाई लिएर समाजमा दुईखाले धारणा व्यक्त भएका छन् । एक ‘भौतिकवादी भएर पूजा गर्नु हुँदैन थियो ।’ दोस्रो ‘प्रचण्डले पूजा गरेर ठीक गरे ।’

नेपाली कम्युनिस्ट आन्दोलनमा ‘द्वन्द्वात्मक भौतिकवादको व्याख्या र भारतीय विस्तारवाद’को हस्तक्षेप भनेर तल्लो तहका कार्यकर्तासम्म प्रशिक्षण गरियो । भौतिकवादी बनेर धर्म नमान्ने र भारतलाई विस्तारवादी भन्नेमा बढी नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) स्कुलिङका नेताहरू रहे । भलै चौथो महाधिवेशन स्कुलिङका प्रायः नेता भारतमै बसेर नेपालमा पार्टी, संगठन सञ्चालन गरे । चौथो महाधिवेशनकै हाँगा पातलो मसाल, मोटो मशाल, एकताकेन्द्र हुँदै माओवादीमा रूपान्तरित भएको हो । मसालका मोहनविक्रम सिंहदेखि प्रचण्डले सशस्त्र संघर्षको १० वर्षमध्ये झण्डै ८ वर्ष भारतमै बिताए । 

गेरुवस्त्र लगाएर पूजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पुजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कूटनीतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो ।

माओवादी दश वर्षे सशस्त्र संघर्षमा थुप्रै मठ–मन्दिर भत्काउने काम भयो । कार्ल मार्क्सले कुनै सन्दर्भमा भनिएको ‘धर्म अफिम हो’ भन्ने विषयलाई स्थापित गर्ने काम भयो । अध्यात्म ज्ञान प्रचार गरेर भौतिक विकासमा लागेका भागवत वाचक पण्डित नारायण पोखरेललाई हिन्दू धर्म प्रचार गरेको भनेर हत्या गरियो । पोखरेलको हत्यालाई माओवादीको दलित संगठन दलित मुक्ति मोर्चाले जिम्मा लिएको थियो । त्यसको उत्तर अहिलेसम्म माओवादीले दिन सकेको छैन । हिजोका दिनमा माओवादीले गरेका क्रियाकलाप र अहिलेको व्यवहार तालमेल नहुँदा उसको आलोचना हुँदै आएको छ ।

माओवादी विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को गतिविधि उत्कर्षमा पुगेको बेला अध्यक्ष थिए, लेखनाथ न्यौपाने । सादगी जीवन, पार्टीको गतिविधिबारे गहिरो चासो र आलोचना गर्न समेत पछि पर्दैनन् न्यौपाने । प्रचण्डले गेरुवस्त्र लगाएर महाकालेश्वर मन्दिरमा पूजा गरेपछि सामाजिक सञ्जाल फेसबूक वालमा न्यौपानेले ‘ह्यासट्याग’सहित आलोचना गरे ।

न्यौपानले फेसबूक वालमा लेखेका छन्– ‘#स्खलनको यो मात्राले निकै नमीठो अनुभूति ! गेरुवस्त्र लगाएर  योजनाबद्ध पूजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पुजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कूटनीतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो । मोदीले कम्युनिस्ट नेताहरूलाई नाङ्गै बनाएको देख्दा यस्तो नरमाइलो लाग्यो कि शायदै जिन्दगीमा यस्तो अनुभूति भएको थियो !?’

भौतिकवादी शिविरबाट एकाएक अध्यात्मवादी चिन्तनमा आफ्नो सर्वोच्च नेताको आवरण देख्दा न्यौपानेले स्वाभाविक रूपमा यस्तो चिन्ता व्यक्त गरेका छन् । हिजोका दिनमा शासक वर्गको जुन कार्यबाट नेपाली समाजको विकास अवरुद्ध भयो, अहिले त्यही बाटोमा प्रचण्ड हिँडेको निष्कर्षमा न्यौपानेहरू पुगेका छन् । न्यौपानेको यो प्रश्न र आश्चर्यजनक भोगाइले प्रचण्ड वास्तविक कुन धरातलमा उभिएर यी क्रियाकलाप गरिरहेका छन् ? भन्नेमा स्वयं माओवादी नै रनभुलमा छ ।  

प्रचण्डले पूजा गरेको महाकालेश्वर मन्दिर मध्यप्रदेश उज्जैनस्थित शिप्रा नदी छेउमा अवस्थित छ । हिन्दू धर्मालम्बीहरूले महाकालेश्वर मन्दिरलाई अत्यन्तै पवित्र मान्छन् । मन्दिरको विशेषता र पहिचान भनेको दक्षिणा मुर्ति हो । जसको दर्शनले सबै किसिमको पापबाट मुक्ति पाउने र मनोकामना पूर्ण हुने जन विश्वास छ । त्यही जन विश्वासकै आधारमा प्रचण्डले गेरुवस्त्र लगाएर पूजाआजा गरेका थिए ।

भाग्यवादको निरन्तरता !
मार्क्सवादीहरू अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरूको चरित्र बेलाबेला फेरिएका छन् । मार्क्सवादी दर्शनमा आधारित दर्जन बढी संगठनहरूका विभिन्न हाँगाहरू र भुरेटाकुरे संगठनमा विभाजित छन् । उनीहरूले भन्ने गरेको एउटा सत्य को हो भने ‘विचारमा ठीक ठाउँमा रहेको बेला भौतिकवादी बन्ने र धर्मविरोधी रहने, तर विचारबाट गलिसकेपछि अध्यात्मवादी बन्ने ।’

पछिल्ला उदाहरणहरू कम्युनिस्ट पार्टीहरूमध्ये मूलधारमा रहेकाको बढी चर्चा हुने गरेको छ । त्यसको पहिलो उदाहरण झापा विद्रोहबाट उदाएका आदर्श कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले दुई दशकअघि नै गेरुवस्त्र पहिरिएका थिए । प्रचण्डले एक दशकअघि भैँसी पूजा त गरेकै थिए । अहिले भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरे । यही विषयलाई लिएर प्रचण्ड मार्क्सवादी चिन्तनबाट विचलित भएको भनेर आलोचना भएको छ । 

नेपालको भौतिक विकास नहुनुमा ‘भाग्यवाद’ बाधक रहेको मानवशास्त्री डोरबहादुर विष्टको भनाइलाई यतिखेर प्रधानमन्त्री प्रचण्डको व्यवहारले पुनर्पुष्टि गरेको छ । ‘भाग्यवादबाट जिम्मेवारीको भावना पनि प्रभावित भएको छ । भाग्यवादबाट विकसित व्यक्त्तित्व यस्तो हुन्छ, जसले वृहत्तर समाजप्रति आफ्नो जिम्मेवारीबोध गर्दैन । भाग्यवादले जिम्मेवारीलाई सधैं बाहिरिया तत्त्वमाथि पन्छाउँछ, खासगरी दैवी शक्तिमाथि’, विष्टले ‘भाग्यवाद र विकास’ पुस्तकमा भनेका छन् ।

विष्टले भनेका छन्– ‘हिन्दू धर्ममा चाकरी यस्तो अपरिहार्य धारणा हो जसको अर्थ सेवाटहल गर्नु, प्रसन्न तुल्याउनु अथवा भगवानबाट केही पाउने आशामा भक्त्ति गर्नु हो । कोही मन्दिरमा गएर देवताको प्रार्थना गर्छ र फूल नैवेद्य चढाउँछ भने त्यो उसले चाकरी गरेको हो ।’

उनको राष्ट्रवाद र हिन्दू धर्मप्रतिको आस्थालाई जनताले विश्वास गरिरहेका छैनन् । हैन भने ८१.१९ प्रतिशत नेपाली जनताले हिन्दू धर्ममा आस्था राख्छन् भन्ने तथ्य हुँदाहुँदै महाकालेश्वर मन्दिरमा पूजाआजा गर्दा उनको लोकप्रियता ह्वात्तै बढ्नुपर्ने हो । उल्टो यति विघ्न आलोचना हुनु प्रचण्डको ‘बहुरंगी आवरण’ मुख्य दोषी होइन र ?

भारत भ्रमणमा एक भौतिकवादी नेताले महाकालेश्वर मन्दिरमा पूजाआजा गर्नु धार्मिक कूटनीतिका रूपमा पक्कै पनि होइन । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनको व्यक्तिगत होस् वा जनमत प्राप्त गर्ने हेतुले होस् हरेक निर्णय, व्यवहार शोभनीय देखिएको छैन । राष्ट्रवादको नाममा प्रधानमन्त्री बनेपछि शुरूमा दौरासुरुवाल पहिरिए । दौरासुरुवाललाई उनैले पहिले अस्वीकार गरेका थिए । पृथ्वी जयन्तीमा बिदा दिए । २ सय ४० वर्षे एक तन्त्रीय राजतन्त्रविरुद्ध उनैले हतियार उठाएका थिए । उनले लिएका यी विचार र व्यवहारको तालमेल नहुँदा प्रचण्डले गरेका सबै काम ‘नक्कली’ जस्ता देखिन्छन् ।

प्रचण्ड जिकिर गरिरहन्छन्, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, गणतन्त्र स्थापनाको असली हिस्सेदार माओवादी हो भनेर । संयोग कस्तो परेको छ भने प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजा गरिरहँदा राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा हिन्दू धर्म मान्ने ८१.१९ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भारतीय संस्थापन पक्षले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने धारणा राख्नु । प्रचण्डले गेरुवस्त्र धारण गरेर एउटा पात्र बन्नु र अहिलेसम्म रोकी राखिएको जनगणनाको धार्मिक तथ्याङ्क सार्वजनिक हुनु संयोग मात्रै नहुन पनि सक्छ । 

प्रधानमन्त्री प्रचण्डको पूजाआजा मूलतः हिन्दू संस्कारको विधिविधान अनुसार हो । दार्शनिक हिसाबले हिन्दू धर्म आदर्शवादी (अध्यात्मवादी) दर्शनको शिविरमै आधारित छ । यो दर्शनले अन्ततः शासक वर्गको सेवा गर्दछ भन्नेमा दुई मत छैन । प्रचण्डको पछिल्लो गतिविधिहरू यति तीव्रत्तर अघि बढेका छन् कि ‘राष्ट्रवादी’ बन्न दौरासुरुवाल र पृथ्वी जयन्तीको घोषणा, हिन्दू धर्मावलम्बी बन्न पूजापाठ । उनका यी राष्ट्रवाद र हिन्दू धर्मप्रतिको आस्थालाई जनताले विश्वास गरिरहेका छैनन् । हैन भने ८१.१९ प्रतिशत नेपाली जनताले हिन्दू धर्ममा आस्था राख्छन् भन्ने तथ्य हुँदाहुँदै महाकालेश्वर मन्दिरमा पूजाआजा गर्दा उनको लोकप्रियता ह्वात्तै बढ्नुपर्ने हो । उल्टो यति विघ्न आलोचना हुनु प्रचण्डको ‘बहुरंगी आवरण’ मुख्य दोषी होइन र ?

salt training

कमेन्ट गर्नुहोस्