०६ साउन २०८३, बुधबार
आसेपासे नियुक्तिको अखडा

बेकामे बन्दै पर्यटन बोर्ड, गैरकानूनी नियुक्ति पाएका असम्बन्धित व्यक्तिको हालीमुहाली

जेठ २८, २०८०
काठमाडौं
बेकामे बन्दै पर्यटन बोर्ड, गैरकानूनी नियुक्ति पाएका असम्बन्धित व्यक्तिको हालीमुहाली

पर्यटन प्रवर्द्धन र त्यस क्षेत्रको विकास गर्ने निकाय नेपाल पर्यटन बोर्ड कार्यसमितिमा राजनीतिक स्वार्थका व्यक्तिको हालीमुहाली चल्दै आएको छ । 

मन्त्रिपरिषद्ले गर्नुपर्ने बोर्ड सदस्यको नियुक्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाटै हुँदा असम्बन्धित व्यक्तिको हालीमुहाली चलिरहेको हो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा सदस्य नियुक्त गर्दा ३ जनाको मनोनयन समिति बनाउनुपर्ने हुन्छ । सो समितिले सिफारिश गरेका ३ जनामध्येबाट १ जनालाई सरकारले नियुक्त गर्न सक्ने व्यवस्था छ ।

यस्तो सिफारिश समिति औपचारिकता दिन मात्रै बन्ने गरेको छ । मन्त्रीहरूले आफू अनुकूलका व्यक्ति राखेर समिति बनाउने गरेका छन् । सोही आधारमा पहिल्यै तय भइसकेका नामलाई मन्त्रीहरूले बोर्ड सदस्यमा नियुक्त गर्दै आएका छन् । 

नेपाल कानून व्याख्यासम्बन्धी ऐनको दफा १४ (क) ले सरकारले नियुक्त गर्ने भन्ने विषयलाई मन्त्रिपरिषद् भनेर व्याख्या गरेको छ । 

उक्त व्यवस्थाअनुसार कानूनमा नेपाल सरकारबाट सम्पादन हुने भनिएको र सोबाहेकको कार्यसम्पादनको स्पष्ट व्याख्या छ ।

यस्तो व्याख्याअनुसार पर्यटन बोर्डमा हुने बोर्ड सदस्यको नियुक्ति मातहतको मन्त्रीस्तरबाट नभएर मन्त्रिपरिषद्बाटै हुनुपर्छ । तर, पर्यटन बोर्डमा सबैजसो मन्त्रीले आफू अनुकूलका राजनीतिक व्यक्ति नियुक्ति गर्ने गरेका छन् ।

पर्यटन बोर्ड ऐनले पनि पर्यटन क्षेत्रसँग सम्बन्धित, पर्यटनमा योगदान गरेको र आफ्नै पर्यटन व्यवसाय भएको व्यक्तिलाई मात्रै बोर्ड सदस्यमा सिफारिश गर्नुपर्ने परिकल्पना गरेको छ । तर, बोर्डमा मन्त्रीले आफू अनुकूलका राजनीतिक व्यक्तिलाई खडा गर्ने, ३ जनाको सिफारिश समिति देखाउन मात्रै बनाउने र पूर्व निर्धारित व्यक्तिलाई राखेर निर्णय गराउने गरेका छन् ।

पर्यटन बोर्डमा हाल ५ जना सदस्य छन् । यी सदस्यमध्ये तत्कालीन मन्त्री भानुभक्त ढकालले चन्द्रप्रसाद रिजाल, कृष्णकुमार शाह र ङावा ङिमा शेर्पालाई नियुक्त गरेका हुन् । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले नियुक्त गरेका मदनकुमार आचार्य र मिलन देवकोटा पनि हाल बोर्ड सदस्य छन् । 

पर्यटनसँग असम्बन्धित व्यक्ति बोर्ड सदस्य

पर्यटन बोर्ड ऐनको दफा ९ को २ (छ) अनुसार पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका, पर्यटन व्यवसायी तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञलाई नेपाल सरकारले बोर्ड सदस्य नियुक्त गर्ने व्यवस्था छ । बोर्डमा नियुक्त हुन सक्ने योग्य व्यक्तिका लागि दफा १० बमोजिम मनोनयन सिफारिश समिति गठन हुने पनि उल्लेख छ ।

यस्तो समितिले पर्यटन क्षेत्रको प्रवर्द्धन गरेको, निजी क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने सक्ने योग्य व्यक्तिलाई नियुक्तिका लागि सिफारिश गर्ने व्यवस्था छ । तर, पछिल्लो समय राजनीतिक स्वार्थका आधारमा पर्यटनमा संग्लग्न नै नरहेकालाई नक्कली योगदान पत्र दिलाएर धमाधम बोर्डमा पुर्‍याइने गरेको छ । बोर्डका हालका २ जना सदस्य कृष्णकुमार शाह र मिलन देवकोटा पर्यटन क्षेत्रमा योगदान नै नभएका व्यक्ति हुन् ।

शाहको हकमा पर्यटन तालिम दिने भनेर देखाउने एउटा संस्थासम्म छ, तर देवकोटाको भने पर्यटनसँग सम्बन्धित कुनै कम्पनी वा संलग्नता छैन । तत्कालीन मन्त्री प्रेम आलेसँग निकटता भएकै आधारमा उनले नियुक्ति पाएकी थिइन् ।

देवकोटा यसअघि मिडिया मार्केटिङमा काम गरेकी व्यक्ति हुन् । उनको कुनै पर्यटन व्यवसाय छैन । उनले बोर्डमा पेश गरेका पर्यटनमा आबद्धताका प्रमाणहरू समेत नक्कली रहेको आरोप लागेको छ । 

यसअघि एक अनलाइन मिडियाको मार्केटिङमा काम गरेकी देवकोटाले सोलुसन टुर्स एन्ड ट्राभल र सेन्ट्रल पार्क रिसोर्टमा काम गरेको भन्दै बोर्डमा सदस्यको नियुक्ति लिएकी हुन् ।

null

तत्कालीन पर्यटनमन्त्री आलेले विवादित व्यक्ति लीला लामालाई समेत बोर्ड सदस्यमा नियुक्त गरेका थिए । नियुक्ति विवादमा तानिएपछि बोर्डको बैठकमा प्रतिनिधित्व नै नगरी लामाले राजीनामा दिएका थिए ।

यसअघि बोर्डमा सदस्य भएका अवधेश दास पनि पर्यटन व्यवसायमा संलग्न व्यक्ति होइनन् ।

नेपाल पर्वतारोहण संघले यसअघि वातावरण विज्ञको रूपमा नियुक्ति दिएको आधारमा उनले तत्कालीन पर्यटन मन्त्री जितेन्द्र देवको आशीर्वादमा बोर्ड सदस्य पद उपहारस्वरूप पाएका थिए ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यसमिति सदस्य राजेन्द्रप्रसाद सापकोटा बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भनेर पर्यटनसँग सम्बन्धित संघ–संस्था वा पर्यटन प्रवर्द्धनमा लामो समय काम गरेको व्यक्तिको परिकल्पना गरिएको बताउँछन् । तर, बोर्डको ऐनले नै स्पष्ट नपारेका कारण यसको लाभ राजनीतिक व्यक्तित्वहरूले मात्र लिइरहेका छन् ।

‘बोर्ड सदस्य नियुक्त गर्दा क्षेत्र, अनुभव र योग्यता तोकिएको हुन्थ्यो भने अहिलेजस्तो पर्यटनसँग असम्बन्धित व्यक्ति आउँदैन थिए,’ सापकोटाले भने, ‘पर्यटनमा योगदान नभएका व्यक्ति आउँदा यो क्षेत्रको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका हुन सक्दैन ।’

मन्त्री परिवर्तन भएपछि आफू अनुकूल व्यक्तिलाई बोर्डमा नियुक्ति दिलाउने ‘ट्रेन्ड’ नै छ । यसरी नियुक्तिको अवसर कार्यकर्ता र आसेपासेले मात्र पाउने गरेका छन् ।

बोर्ड सदस्य खाली नहुँदा अहिलेका मन्त्री सुदन किराँती आएपछि भने नयाँ नियुक्ति भएको छैन ।

बोर्डलाई समयसान्दर्भिक बनाउँदै पुनरसंरचना गर्नुपर्नेमा पहुँचका आधारमा नियुक्ति दिँदा/लिँदा बोर्ड कामकाजी बन्न सकेको छैन ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यसमिति सदस्य गणेश सिंखडा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सदस्य पर्यटन क्षेत्रमा एक दशक अनुभव भएको, यसै सम्बन्धी कम्पनी भएको व्यक्ति हुनुपर्ने बताउँछन् । नक्कली प्रमाणपत्र पेश गरेर जागिर खानु अपराध भएको उनको टिप्पणी छ ।

पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तिलाई पर्यटन व्यवसायीले नै नचिन्ने अवस्था रहेको उनले बताए । आफूअनुकूल काम गराउन मन्त्रीहरूले जो पायो त्यसलाई नियुक्ति दिने गरेको उनको आरोप छ ।

हिजोका दिनमा राजनीतिक व्यक्ति भए पनि पर्यटन व्यवसायी नै आउने गरेकोमा पछिल्लो समय असम्बन्धित व्यक्तिको हालीमुहाली रहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

लामो समयदेखि पर्यटन बोर्ड राजनीतिक हालीमुहालीको केन्द्र बन्दा पनि पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालाहरू तैँचुप मैँचुपको अवस्थामा छन् ।

पर्यटन बोर्डका एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार पर्यटन क्षेत्र नबुझेको व्यक्ति आउँदा आफ्नै क्षेत्रमा बाटो, मन्दिर, पार्टी पौवा बनाउन पैसा निकासाका लागि दबाब दिने गरेका छन् ।

पर्यटन व्यवसाय भनेर चिनाउने आधार नभएका र व्यवसाय नै नभएका व्यक्तिले प्रभावकारी भूमिका निर्वाह नै गर्न नसक्ने उनको बुझाइ छ ।

बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति सम्बन्धित विषयमा जानकार नहुँदा काम गर्नै समस्या हुने गरेको उनले सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्