
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फाइल बुझाएको हो ।
एक वर्षको अवधिमा पटक-पटक गरी भएको उक्त तस्करी मुख्य नाइके जीवनकुमार गुरुङ विभागको हिरासतमा छन् । गुरुङसँग अर्थमन्त्री पुनको ११ पटक फोन संवाद भएको प्रमाण भेटिइसकेको छ ।
भन्सार विभागमा रहेको मुद्दा कमजोर पार्न पुनले भूमिका खेलेका हुन् । गुरुङको मुद्दाको फाइल हतार-हतार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।
संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनको समय हुन्छ । यही फागुन १४ गते पक्राउ परेका गुरुङको फाइल २ साताभित्रै सरकारी वकिलकोमा पुगेको छ ।
अनुसन्धान गरिराख्दा आफ्नो सहभागिताका थप प्रमाण भेटिने डरले अर्थमन्त्रीको दबाबमा अनुसन्धान टुंग्याइएको स्रोतको दाबी छ ।
गुरुङको मुद्दासम्बन्धी फाइल आफूहरूकोमा आइपुगेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सह-न्यायाधिवक्ता सन्देश श्रेष्ठ बताए ।
'भन्सारले अनुसन्धान सकेर फाइल यहाँ पठाएको छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'अब हामी मुद्दा प्रक्रियामा अगाडि बढ्छौं ।'
मुद्दा कमजोर बनाइएको विषय भने आफूलाई थाहा नभएको उनले बताए ।
'अनुसन्धान सकेपछि फाइल यहाँ आउने सामान्य प्रक्रिया हो । अनुसन्धानबाट के-के पत्ता लाग्यो भन्ने कुरा मैले फाइल पूरै अध्ययन गरेपछि मात्र थाहा हुन्छ । मुद्दा कमजोर या बलियो भन्ने हुँदैन । अनुसन्धान गर्दा जे देखियो, त्यही मुद्दा बन्ने हो ।'
उनले मुद्दा चलाउने सिफारिसका साथ फाइल आएको र मुद्दा अघि बढ्ने जिकिर गरे ।
६० केजी सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरेको थियो । तर, गुरुङको मुद्दा भने पुनकै दबाबका कारण सीआईबीलाई दिइएन ।
अर्थमन्त्रालय मातहत रहेको विभागबाटै गुरुङलाई रिहा गराउने पहल सफल हुन नसकेपछि मुद्दा कमजोर बनाएर सरकारी वकिलको कार्यालयमा फाइल पुर्याइएको विभाग स्रोत बताउँछ ।
'पहिला त पक्राउ गर्नै समय लगाइयो । दोस्रो, पक्राउ परेपछि तत्काल रिहा गर्न र बाहिरै राखेर अनुसन्धान गर्न दबाब आयो । तेस्रो, अहिले मुद्दा कमजोर गराएर छिट्टै अदालत लैजाने र सफाइ दिने प्रपञ्च भइरहेको छ,' नाम उल्लेख नगर्ने शर्तमा विभागका एक कर्मचारीले भने ।
सुन तस्करी प्रकरणमा अर्थमन्त्री पुनको सहभागिता रहेको खुलासा गर्दै लोकान्तरले मंगलवार समाचार लेखेको थियो ।
गत मंसिर २१ गते फ्लाइ दुबईमार्फत ल्याइएको १४ किलो सुन विमानस्थलबाट बरामद गरिएको थियो । त्यसमा संलग्न रहेको भन्दै गोरखाका चन्द्र घले पक्राउ परे ।
अनुसन्धानका क्रममा मुख्य नाइकेका रूपमा पहिचान भएका गुरुङ भने फरार भए । पछि आएर फागुन १४ मा उनलाई पक्राउ गरियो ।
१४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
उक्त समितिले पछिल्लो १ वर्षमा भएको १ सय ३८ किलो सुन तस्करीमा गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो ।
गुरुङसँग अर्थमन्त्री पुनको ११ पटक फोन संवाद
भन्सारको हिरासतमा रहेका गुरुङसँग जोडिएका अर्थमन्त्री पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ ।
विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।
पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।
यसबारे प्रतिक्रिया लिन खोज्दा अर्थमन्त्री पुन सम्पर्कमा आउन चाहेनन् ।
२०७९ मंसिरपछि अहिलेसम्म भएको १ सय ३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए ।
उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।
पढ्नुहोस्, यो पनि:
१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !