
सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो ।
नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गरे ।
नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताइन् ।
गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।