
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाली नेताहरूले गठबन्धनलाई जोगाउनु मात्रै कांग्रेसको सफलता नभएको भन्दै आफ्नै मन्त्रीबारे प्रश्न उठाएका हुन् ।
कतिपयले त माओवादीको सरकारमा ठूलो दल कांग्रेस लाचार बनेको आरोप लगाए ।
‘गठबन्धन जोगाउनु मात्रै उपलब्धि होइन, सरकारमा बसेपछि पार्टीलाई लोकप्रिय बनाउनुपर्छ । तर, हाम्रा नेता साथी मन्त्री भए भनेर भन्न सकिने अवस्था छैन,’ प्रदीप पौडेलले भने, ‘राम्रा काम गरे भनेर भन्न पाइएको छैन । सरकारमा यसरी बसेर हुँदैन, लोकप्रिय काम गर्न सक्नुपर्छ ।’
अर्थतन्त्रको हालत हेर्दा कांग्रेसका अर्थमन्त्री छन् भन्ने नै नदेखिएको पौडेलले बताए ।
‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन ? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ पौडेलले भने, ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’
अर्थतन्त्र धरासायी हुँदा गठबन्धन जोगाउनुमात्रै उपलब्धि नभएको उनको भनाइ ।
यसअघि पनि डा. गोविन्दराज पोखरेल, मीन विश्वकर्मासहितका नेताले कांग्रेसको अर्थमन्त्री हुँदा अर्थतन्त्र झन् धरासायी हुनु दुःखद् भएको बताएका थिए ।
अर्का नेता राजीव ढुंगानाले त सरकारको मुख्य आधार नै कांग्रेस भएकाले के गरिरहेका छौं भन्ने प्रस्ट पार्न आवश्यक भएको बताए ।
‘सरकारले गरेका राम्रा कामको जस प्रधानमन्त्रीले लिने र तर, नराम्रा कामको भारी ठूलो दलको रूपमा हामीले लिनुपर्ने अवस्था छ । एकातिर अर्थतन्त्र डामाडोल छ, अर्कातिर नागरिकका सामान्य सरोकार सरकारले पूरा गर्न सकेको छैन,’ ढुंगानाले भने, ‘यसैले सरकारमा हाम्रो सहभागिताबारे गम्भीरतापूर्वक र निर्ममतापूर्वक समीक्षा गर्ने बेला आएको छ ।’
यो जनताको सरकार हो भन्ने प्रत्याभूति गराउनेतर्फ लाग्न जरुरी रहेको उनले बताए ।
अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले जनतामा देखिएको निराशाबाट देशलाई मुक्त गर्न कांग्रेस अग्रसर हुनुपर्ने बताए ।
‘हरेक नागरिकमा नकारात्मक धारणा बनिरहेको छ । यसलाई सकारात्मकतातिर कसरी लाने ? मुद्दामा स्पष्टता पार्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा बोलकबोल गरेर अगाडि बढ्दा पनि हामीसँग जनताको विश्वास बढेको छैन,’ घिमिरेले भने, ‘राजनीतिक अस्थिरताको कारणले नागरिकमा निराशा र आक्रोश छ । संविधानका कारण, निर्वाचन प्रणालीका कारण अस्थिरता आएको छ । कांग्रेसले यी विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । कांग्रेसले नै नेतृत्व गर्ने तयारीका साथ अगाडि बढ्नुपर्छ ।’
केन्द्रीय सदस्य शिव हुमागाईंले कहालिलाग्दो आर्थिक स्थितिबाट मुलुकलाई बाहिर ल्याउन कांग्रेस नै अग्रसर हुनुपर्ने बताए ।
‘आर्थिक अवस्था कहालिलाग्दो छ । बैंकमा पैसा थुप्रिँदा पनि प्रयोग हुन सकेको छैन । मुलुकमा कसैप्रति विश्वास छैन, मुलुक कहाँबाट चलेको छ ? भगवान् भरोसाको अवस्थामा मुलुक गएको छ,’ हुमागाईंले भने, ‘यो अवस्थाबाट मुक्त गराउन कांग्रेसले पहलकदमी लिनुपर्छ । अरूका लागि सोच्नेभन्दा कसरी बाँच्ने भन्ने सबैको चिन्ता भएको बेलामा ठूलो पार्टीका रूपमा कांग्रेस अग्रसर हुनुपर्छ ।’
वर्षाैँसम्म कांग्रेस सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे पनि प्रभावकारी नीति बन्न नसकेको उनले बताए । ‘विगतमा हामीले १० वर्ष र २० वर्षमा देश कस्तो बनाउने भनेर नीति बनाएको भए आजको जस्तो निराशा आउने थिएन,’ हुमागाईंले भने, ‘महासमिति बैठकले अहिलेसम्मका तमाम षड्यन्त्रलाई किनारा लगाउने गरी निर्णय लिनुपर्छ । विज्ञलाई सहभागी गराएर २५/३० वर्ष काम गर्ने नीति बनाउनुपर्छ ।’
अर्का केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेस नेतालाई छानीछानी दुःख दिने क्रम अन्त्य नभएको बताए । ‘सुनकाण्डमा माओवादीका जिम्मेवार नेता कृष्णबहादुर महराको नाम आउँदा उनीमाथि छानबिन हुँदैन, तर कांग्रेसका नेतामाथि छानीछानी दुःख दिने काम भएको छ ।’
बढ्दो महंगी र कमजोर अर्थतन्त्रले सरकार हुनुको आभास नै नभएको उनले बताए ।
केन्द्रीय सदस्य कल्याणी रिजालले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम हुँदा सरकार कहीँ कतै नदेखिएको बताइन् ।
‘ग्यासमा २ सयसम्म बढेको छ । डिजेलमा नियमित मूल्य बढ्दा महंगी र मूल्यवृद्धि थेगिनसक्नु छ,’ रिजालले भनिन्, ‘मुलुकमा सरकार छ, तर यस्तो हालत हुँदा पनि बजार अनुगमन छैन, महंगी नियन्त्रण छैन, नागरिकप्रति चरम वितृष्णा छ, सरकार हुनुको बोध गराउन सकिएको छैन ।’
अर्की केन्द्रीय सदस्य रमा कोइराला पौडेलले सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे बोलाएर पार्टीमा छलफल गर्नुपर्ने बताइन् ।
‘सरकारमा हाम्रा मन्त्री पनि हुनुहुन्छ । मन्त्रीहरूले केही गर्नुभएन भनेर मात्रै आलोचना गर्दा मन्त्रीको मात्रै इमेज बिग्रँदैन, पार्टीको पनि इमेज बिग्रिन्छ,’ कोइरालाले भनिन्, ‘यसैले सरकारमा भइरहेका काम र कमी कमजोरीबारे मन्त्रीलाई बोलाएर पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा छलफल गर्नुपर्छ ।’
संसदमा ठूलो पार्टीका रूपमा भए पनि कांग्रेस सांसदको उपस्थिति न्यून हुनु लाजमर्दो भएको उनको भनाइ थियो । बोल्ने क्रम नसकिएपछि कांग्रेस बैठक सोमवारसम्मलाई लम्बिएको छ । आइतबार ३२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।