०५ साउन २०८३, मंगलबार

भेप प्रकरण– कृष्णबहादुर महरालाई प्रतिवादी बनाउनु नपर्ने सीआईबीको राय

असोज २१, २०८०
काठमाडौं
भेप प्रकरण– कृष्णबहादुर महरालाई प्रतिवादी बनाउनु नपर्ने सीआईबीको राय
फाइल फोटो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।

शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा महराविरुद्ध कुनै प्रमाण फेला नपरेकाले मुद्दा नचल्ने राय पेश गरिएको सीआईबीका एक अधिकारीले लोकान्तरलाई बताए ।

सीआईबीले बुझाएको प्रतिवेदनमा राहुल महरा, दाओजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ भने फरार ६ जना चिनियाँ नागरिक भेटिएको बखतमा मुद्दा चल्ने राय समावेश छ ।

सुन तस्करमा संलग्न दाओजिन वाङसहित ६ जना फरार छन् । प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ ।

२०७९ माघ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले शंकास्पद लागेपछि सुटकेशभित्र रहेको ७३० थान इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको थियो ।

विभिन्न समूहहरूले छुटाउन दबाब दिएपछि भन्सार कार्यालयले अनुसन्धान थालेको थियो । 

पछि यस विषयमा अनुसन्धान गरेको सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत असार २७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सीआईबीले बुझाएको प्रतिवेदनमा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन चार्ट समेत उल्लेख थियो ।

सोहीकारण महराका बाबुछोरामाथि अनुसन्धान गर्न सरकारमाथि दबाब परेको थियो । राहुललाई पक्राउ गरेर अनुसन्धान गरे पनि महरासँग भने कागज मात्र गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्