
आफूलाई बेवास्ता गरेपछि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि नेकपा (एमाले)सँग मिलेर पार्टीमा विद्रोह गरेका छन् । कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नाममा सहमति नजुटेपछि सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्यो । यसपछि शेखरले विद्रोह गरेका हुन् ।
सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउन ४७ जनाको हस्ताक्षर बुझाएर दाबी विरोध गरेका थिए । लगत्तै शेखर पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ जनाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरे ।
कांग्रेसले आफ्ना सबै २९ जना (कार्कीसहित), माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ जनाको सांसद पुर्याएर पहिले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर शेखर पक्षका ८ सांसद उपस्थिति भएर सनाखत गर्दै एमालेका सांसदको सहयोगमा मुख्यमन्त्रीमा कार्कीलाई अगाडि सारेका हुन् । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस सांसदमा उनका अलावा शमशेर राई, इन्दिरा थापा, रामकुमार खत्री, मानबहादुर लिम्बू ,सुनीताकुमारी गुरुङ, लीलाकुमारी राई र गोविन्द गिरी छन् ।

पहिलेदेखि नै शेखरले कार्कीलाई मुख्यमन्त्री बनाउन जोड गर्दै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तयार भएका थिएनन् । तर आफूसँग कुनै छलफल नै नगरी आङ्बोको नाममा सहमति गरेपछि शेखर पक्ष एमालेसँग मिलेर मुख्यमन्त्री दाबी गर्ने पक्षमा पुगेको हो ।
‘कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर शेखर दाइले निरन्तर प्रयास गर्नुभएकै हो । सभापतिलाई दुईपटक भेट्दा महामन्त्री मान्दैनन् भनेर देखाउनुभयो । महामन्त्री दुवैजना सम्पर्कमा आएनन् । प्रधानमन्त्रीसँग सोध्दा तपाईंको सभापतिले मान्नुभएन भनेर देखाउनुभयो,’ शेखरनिकट स्रोतले लोकान्तरलाई भन्यो, ‘पार्टीको जिम्मेवार नेता भए पनि उहाँसँग सल्लाह नमागीकन माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने समझदारी गरे । यसपछि सविधानले खुला राखेको विकल्पमा गएका हौं ।’ तर कांग्रेसको पार्टी संस्थापनले भने कोशीमा पार्टीभित्रको विद्रोहलाई आफ्नो चाहनाविपरीत भएको अप्रत्याशित भनेको छ ।
‘हिजोसम्म कोशीको विषयलाई लिएर असन्तुष्टि थियो । कांग्रेसले आफ्नै नेतृत्वमा मुख्यमन्त्री बनाउने नभए गठबन्धनभित्रैबाट बनाएर बाहिर नजाने निर्णय गरेको हो । तर कोशीमा असामान्य परिस्थिति आउने घटनाक्रम भएका छन्,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘कोशीमा एउटा भंगालो फुट्यो । अब नेतृत्वको बैठक बसेर सामान्य, असामान्य, गम्भीर के भनेर धारण बनाउने हो भन्नुहोला । कांग्रेसकै नेता यत्तिको तहसम्म जानुहोला भन्ने लागेको थिएन ।’
कांग्रेसकै सांसदको हस्ताक्षर माओवादीका आङ्बो र पार्टीकै कार्की दुवैतिर प्रयोग भएपछि अब के होला भन्ने प्रश्नमा विश्वकर्माले प्रदेश प्रमुखले निर्णय लिने बताए ।
‘आङ्बोलाई मुख्यमन्त्री बनाउन कांग्रेसका सबै सांसदको हस्ताक्षर बुझाइएको छ । उताबाट पनि कांग्रेसकै मुख्यमन्त्री बनाउन भन्दै हस्ताक्षर भएको बुझेका छौं,’ विश्वकर्माले भने, ‘अब यस्तोमा प्रदेश प्रमुखले तत्काल नियुक्त नगरी केही समय लिनुहोला भन्ने लागेको छ ।’
आफूले विश्वासको मत (४७ मत) पाउन नसक्ने देखेपछि एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुखले संविधानको १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । एक दिनअगावै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरे पनि फेरि सांसदको हस्ताक्षरले विवाद भएको छ ।
कोशीमा भइरहेको तनावका बीच कांग्रेस कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् । संसदीय दलका नेतासँग कुरा नमिलेपछि राजीनामा दिएको उनले बताएका छन् । ‘मलाई दलको नेताले उपनेतामा मनोनित गर्नुभएको हो, उहाँसँग कुरा नमिलेपछि राजीनामा गरेको हुँ,’ उनले भने ।
कोशीमा कांग्रेसका सांसदले विद्रोह गरेको विषयमा प्रश्न गर्दा उनले पनि अनभिज्ञता प्रकट गरे । ‘सत्ता गठबन्धनबाट कांग्रेसका सबै सांसदको हस्ताक्षर बुझाएको सुनेका छौं । तर यिनै मध्येका केदार कार्कीको नाम पनि उल्लेख छ,’ हिमालले भने, ‘अर्कोतर्फबाट मुख्यमन्त्रीमा केदारले नै दाबी गर्नुभएको छ । उहाँहरूले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेपछि अब नियुक्त होला होला ।’
यता कोशी कांग्रेसले शुक्रबार आवश्यक निर्णयको लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रसँगको समन्वयमा बैठक गरेर आवश्यक निर्णय लिने तयारी कांग्रेस कोशीको रहेको एक नेताले जानकारी दिए ।
तर संविधानको यो धाराअन्तर्गत सांसदले पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्दा वा फरक समीकरण बनाउँदा कारबाही गर्ने र ह्वीप लगाउन मिल्दैन ।
तर शेखर समूहबाट विद्रोह गरेका ८ सांसदले गठबन्धनले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको दाबी गरेका छन् ।