
१७ वर्षीय बालक मनिष (नाम परिवर्तन) विगत ५ वर्षदेखि काठमाडौंको रानीबारीमा बस्दै आएका छन् । उनका साथी काभ्रेबाट काठमाडौं आए । फेसबुकबाट चिनजान भएका मनिषका साथी हरि (नाम परिवर्तन) आउँदा एउटा चाबी लिएर आएका थिए । चाबी हरिले बाटोमा भेटाएको बताएका थिए।
उनीहरूले हिँड्ने क्रममा रानीबारीमा पार्किङ गरिराखेको बा ६५ प ५७७३ नम्बरको स्कूटर चोरी गरे । मनिषले प्रहरीलाई दिएको बयानमा ‘बाटोमा फेला परेको स्कूटर साथीले फेला पारेको चाबीले खोल्न खोज्दा स्टार्ट भएपछि चोरी गरेको’ बताएका छन् ।
उनीहरू त्यही स्कूटर लिएर फेरि रानीबारीकै नजिकै चोर्न गए । उनीहरूले घरधनी नभएको मौका पारेर चोरी गर्न लाग्दा घरबेटीले देखेपछि उनीहरू भागेका थिए । त्यहाँबाट भागेर उनीहरू नयाँ बजारको खुशीबुमा पुगेर स्कूटर बिक्री गर्न खोज्दा प्रहरीले असोज १ गते पक्राउ गरेको थियो।
यस्तै असोज ९ गते बौद्धमा यस्तै प्रकरको चोरी भयो । असोज २४ गते काठमाडौं बसन्तपुरमा दाँत सफा गर्न गएकी एक युवतीको मोबाइल, पर्सलगायत सामानहरू हातैबाट चोरले खोसेर फरार भए ।
पक्राउ परेका २ चोरले प्रहरीलाई बताएअनुसार उनीहरूले दैनिक पकेट मार्नुभन्दा अगाडि मुख्य नाइके राजनले ब्रिफिङ लिने गरेको थिए । उनीहरू कार्यालय समयमा स्वयम्भुलगायत उपत्यकाका विभिन्न ठाउँको खुला चौरमा अनिवार्य उपस्थित हुने र त्यहाँ कसरी पकेट मार्ने ? कुन एरियामा मार्ने ? कसले के गर्ने ? कुन गाडी चढ्ने ? मानिसहरू कति भएपछि चढ्ने ? जस्ता कुराको निर्णय र जिम्मेवारी बाँडफाँट गर्ने गरेको ती युवकले प्रहरीलाई बताएका छन् ।
‘उनीहरूले गज्जबको कुरा सुनाए । उनीहरू दैनिक ९ बजे स्वयम्भुको खुलाचौरमा भेटेर बदाम खाँदै त्यो दिन पकेट मार्ने क्षेत्रको ब्रिफिङ लिँदा रहेछन्,’ प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने, ‘अझ रमाइलो त उनीहरूको पकेट मार्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेछ ।’
उनीहरू बेलुका ५:३० बजे बिहान मिटिङ बसेकै ठाउँमा भेटेर पैसा बाँडफाँट गरी घर फर्किने गरेका रहेछन् । यदि कुनै दिन पकेट मार्न नसके त्यही दिन साँझ जम्मा भएर किन पकेट मार्न सकिएन? कसको के कमजोरी भयो भन्ने कुराको पनि समीक्षा हुने रहेछ ।
पकेटमारको कोड भाषा प्रहरीलाई ‘बकुल्ला’ र पैसालाई ‘रामराम’
प्रहरीका अनुसार उनीहरूले प्रहरीलाई बकुल्ला भन्ने गरेका रहेछन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार धेरै प्रहरी आए भन्नलाई ‘बकुल्लाको टोली’ एउटा मात्रै प्रहरी आयो भन्नलाई ‘बकुल्लो’ र महिलाहरूले ‘मामा’ पनि भन्ने गरेका छन् । पैसा छ पकेट मारिहाल भन्नलाई उनीहरूले ‘रामराम’ भन्ने गरेको परिसरका एसपी कुमोद ढुङगेलले लोकान्तरलाई बताए ।
‘उनीहरूले पैसालाई रामराम भन्दा रहेछन्,’ एसपी ढुङ्गेले लोकान्तरसँग भने, ‘प्रहरी आयो भागलाई ‘बकुल्ला’ २ चोटी भन्ने गरेका रहेछन् ।’
उनीहरूले उपत्यकामा कति प्रहरी पोशाकमा खटिन्छन्? कति प्रहरी सादा पोशाकमा खटिन्छन्? कुन ठाउँमा खटिन्छन्? प्रहरी कसरी हिँड्छन्गायत गतिविधिसमेत जानकारी राख्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
३ महिनाको अवधिमा मात्र आफूहरूले ७२ जनाभन्दा धेरै पकेटमारलाई पक्राउ गरेको एसपी ढुङ्गेलले बताए।
उपत्यकाबाट बाहिर जाने सवारी साधन र उपत्यकाभित्र चल्ने सवारी साधनलाई लक्षित गरेर पकेटमारले आफ्नो क्षेत्र कलंकीलाई बनाउने गरेको प्रहरीले जनाएको छ ।