०१ साउन २०८३, शुक्रबार

रहिनन् मोडल दीपाशाः जसले मृत्युको अघिल्लो दिनसम्म पनि मोडलिङ गरेकी थिइन् !

कात्तिक २३, २०८०
काठमाडौं
रहिनन् मोडल दीपाशाः जसले मृत्युको अघिल्लो दिनसम्म पनि मोडलिङ गरेकी थिइन् !

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई मृत घोषणा गरिसकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले लोकान्तरलाई जानकारी दिइन् ।

दीपाशाको मृत्युको कारण भने खुलिसकेको छैन ।  उनको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ ।  दीपाशाले केही फिल्मसँगै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरी लोकदोहोरी गीतको म्युजिक भिडियो उनले बढी खेलेकी छिन् ।

बुधवार पनि उनले एक म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्म एवं गीतसंगीत क्षेत्रका कलाकर्मीहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । थुप्रै कलाकार नर्भिक अस्पताल पुगेका छन् ।

null 

‘स्कूले जीवनबाटै कलाकारिता

सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी दिपाशाले स्कूले जीवनबाटै कलाकारिता शुरू गरेकी थिइन् । सानै उमेरदेखि उनमा कलाकारिताप्रति रुचि थियो । 

कक्षा ३ मा पढ्दाबाटै नाच्नमा अगाडि सर्ने उनी अभिनयसमेत गर्न रुचाउँथिन् । कक्षा ६ मा पढ्दा उनले पहिलोपटक कार्यक्रममा नृत्य गरेकी थिइन् । ‘स्कूलको सांस्कृतिक कार्यक्रममा डान्स र अभिनय गरेर दुवैमा प्रथम भएकी थिएँ । त्यसपछि कलाकारिताप्रतिको मोह अझै बढेको थियो’ उनले केही वर्षअगाडिको एक अन्तवार्तामा भनेकी थिइन् । 

सुर्खेतमै नृत्यको प्रशिक्षणसमेत लिएकी उनले गोपीकृष्ण मुभिजले सञ्चालन गरेको ‘को बन्छ कलाकार ?’ नामक कार्यक्रममा नेपालगञ्ज पुगेर अडिसन दिएकी थिइन् । त्यसमा छनोट भएपछि कलाकारितामा अगाडि बढ्ने माहोल बन्दै गयो । उनी २०६४ सालमा काठमाडौं आएकी थिइन् । 

‘को बन्छ कलाकार ?’ कार्यक्रममा दीपाशाको अभिनयले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको ध्यान तान्यो । त्यसपछि खड्गीले उनलाई ‘दुलही रानी’ फिल्मका लागि प्रस्ताव गरेका थिए । सोही फिल्ममा सानो भूमिका निर्वाह गर्दै दीपाशाले रजतपटमा डेब्यू गरेकी थिइन् । यो समय उनी कक्षा ८ मा मात्र पढ्थिन् । 

उनले म्युजिक भिडियोमा भने ‘अझै छु म पागल बनेको’ गीतबाट पाइला चालेकी थिइन् । त्यसयता उनी क्रमश म्युजिक भिडियोमा व्यस्त बन्दै गएकी थिइन् । 

विशेषगरी लोकदोहोरी गीतको भिडियोमा उनी बढी देखिने गरेकी थिइन् । कुनैबेला एकैवर्षमा ३५ वटासम्म तीज गीतमा उनले नृत्य गरेको अनुभव संगालेकी थिइन् । 

बुधवार पनि उनले म्युजिक भिडियोमा अभिनय गरेको पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

‘कलाकारिताबाहेक अरु सपना देखेकी थिइनँ’ भन्ने उनी कलाकारितामा पाएको सफलतामा खुशी रहेको विभिन्न अन्तर्वार्तामा बताउने गर्थिन् । उनले पछिल्लो केही वर्षयता व्युटीपार्लरसमेत सञ्चालन गरिरहेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्