०३ साउन २०८३, आइतबार

युट्युबमा दयाहाङका नयाँ चार फिल्म, चारवटै ट्रेन्डिङमा

कात्तिक २८, २०८०
काठमाडौं
युट्युबमा दयाहाङका नयाँ चार फिल्म, चारवटै ट्रेन्डिङमा

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । 

यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्रो व्यापार गरे । अहिले उनी अभिनीत फिल्म ‘दिमाग खराब’ हलमा प्रदर्शनरत छ । यो फिल्मले पनि दर्शक तानिरहेको छ । 

दयाहाङका फिल्मले हलमा मात्र होइन, युट्युबमा समेत लोभलाग्दो दर्शक पाएका छन् । चाडपर्वको अवसर पारेर दयाहाङका चारवटा नयाँ फिल्म युट्युबमा सार्वजनिक छन् । ति चारवटै फिल्म यतिबेला युट्युब ट्रेन्डिङमा छन् । ​ 

दयाहाङ स्टारर ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’सँगै ‘फूलबारी’ समेत युट्युब ट्रेन्डिङमा छ । 

तीन दिनअघि रिलिज गरिएको फिल्म ‘के घर के डेरा’ युट्युब ट्रेन्टिङको शीर्ष स्थानमा छ ।

यस फिल्मलाई मंगलवार दिउँसोसम्म २३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा दयाहाङसहित विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतको अभिनय छ । ​

त्यसैगरी दुई दिनअघि रिलिज गरिएको फिल्म ‘बिहे पास’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । फिल्मले अहिलेसम्म २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यो फिल्म यही वर्षको वैशाखमा हलमा प्रदर्शनमा आएको थियो । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल,बुद्धि तामाङलगायतको अभिनय छ । 

यस्तै, दुई साताअघि सार्वजनिक फिल्म ‘कबड्डी ४’ अहिलेसम्म पनि ट्रेन्डिङको चौथो स्थानमा छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले युट्युबमा अहिलेसम्म ८८ लाख हाराहारी भ्युज पाइसकेको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’मा दयाहाङसहित सौगात मल्ल, मिरुना मगरलगायतको अभिनय छ । 

तीन साताअघि सार्वजनिक अर्को फिल्म ‘फूलबारी’ पनि युट्युब ट्रेन्डिङबाट हटेको छैन । ९७ लाख हाराहारी भ्युज पाइसकेको यो फिल्ममा दयाहाङसहित विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्