
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ ।
सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी’को कमाइ सबैभन्दा बढी छ । उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको यो चलचित्रले हलमा १ सय दिन मनाएको थियो । असार मसान्तसम्म चलचित्रले १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको विवरण चलचित्र विकास बोर्डले गत साउनमा सार्वजनिक गरेको थियो ।
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । लिम्बु समुदायको जारी प्रथाको कथामा बनेको चलचित्रले विदेशमा समेत राम्रो कमाइ गरेको थियो । दर्शकले निकै रुचाएको चलचित्रले समीक्षा पनि निकै राम्रो पाएको थियो ।
असारको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बगान’ले सन्तोषजनक कमाइ गर्न सफल रह्यो । पुराना अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको यो चलचित्रले माउथ पब्लिसिटीबाट दर्शक बढाउँदै लगेको थियो । चलचित्रले नेपालमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।

करिष्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, सरोज खनाल, आकाश श्रेष्ठ, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतको अभिनय रहेको चलचित्र विदेशमा समेत प्रदर्शनमा आइसकेको छ । स्वप्निल निरवको कथा, सुरेश वाग्लेको निर्माण रहेको चलचित्रले एकल आमा र छोरीको कथा प्रस्तुत गर्छ ।
त्यस्तै, भदौं २९ गतेबाट प्रदर्शनमा आएको ‘नाङ्गो गाउँ’ यसवर्षको अर्को सफल चलचित्र हो । दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, कार्म, बुद्धि तामाङ लगायतको अभिनय छ ।

वितरक रोहित कट्टेलका अनुसार चलचित्रले नेपालमा ४ करोड ५० लाख ग्रस कलेक्सन गरेको थियो । विदेशमा समेत चलचित्रले राम्रो कमाइ गरेको छ । ‘नाङ्गो गाउँ’ स्थानीय तहको राजनीतिको विषयमा निर्माण भएको हो । हिमाल कड्रिया यस चलचित्रका निर्माता हुन् । चलचित्र सफल भएसँगै यसको सिक्वेल ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा समेत भइसकेको छ ।
भदौंपछि दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले निकै रुचाए । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रले ८ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको यसका निर्माता राजेश वंशलले जानकारी दिए । उनका अनुसार अहिले पनि नेपालका केही हलमा प्रदर्शन भइरहेको चलचित्रले विदेश प्रदर्शन पनि आरम्भ गरिसकेको छ ।

रमेश बिजीको कथा रहेको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ ।
अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनामा चलचित्र बनेको हो ।
दशैंकै अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २: भस्मे डन’ पनि दर्शकको माया पाउँदै यसवर्षको अर्को हिट चलचित्र बन्न सफल रह्यो । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रले ८ करोड रुपैयाँ बढी ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन एवं निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’माथि केन्द्रित रहेर बनेको हो । यो चलचित्र सफल भएसँगै ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा भइसकेको छ ।

प्रदर्शनरत चलचित्र ‘दिमाग खराब’ यसवर्षको अर्को हिट चलचित्र हो । तिहारको अवसर पारेर प्रदर्शनमा आएको निश्चल बस्नेतको निर्देशन रहेको यो चलचित्रले दुई सातामा ७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले सार्वजनिक गरेको थियो । यो चलचित्र अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतको अभिनय छ । आकाश बरालको कथा लेखन रहेको चलचित्रको निर्माता रौनक विक्रम कँडेल हुन् ।
आफूले चुनेर पठाएको नेतृत्वले सोझासिधा जनतालाई कसरी ठगिइरहेका छन् ? त्यसरी ठग्ने नेतृत्वविरुद्ध साधारण जनतामा विद्रोहको आगो सल्कियो भने त्यसले कुन रूपसम्म लिनसक्छ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । पारिवारिक जीवनलाई सहज बनाउन वैदेशिक रोजगारीमा जाने तयारी कसेका साधारण व्यक्तिलाई केन्द्रमा राखेर चलचित्रको कथा प्रस्तुत गरिएको छ ।