
नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो ।

दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन् ।
दर्तामा उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ ।
सर्वोच्चले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो ।
यसलाई लिएर अधिकारकर्मीहरूले लामो संघर्षपछि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन् ।