०३ साउन २०८३, आइतबार

‘अज्ञानताप्रति लज्जित छु’ भन्दै प्रकाश सपूतले मागे माफी

मंसिर २१, २०८०
काठमाडौं
‘अज्ञानताप्रति लज्जित छु’ भन्दै प्रकाश सपूतले मागे माफी

चार महिनाअघिको म्युजिक भिडियो सुटिङको दृश्यलाई लिएर भइरहेको विवादमा गायक एवं मोडल प्रकाश सपूतले माफी मागेका छन् । 

म्युजिक भिडियो सुटिङमा सपूत र मोडल जुना विश्वकर्मा वसन्तपुरको एक इनारमाथि नाचेको दृश्य केही दिनयता भाइरल भइरहेको छ । उक्त इनार ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने रहेको र त्यसमाथि नाचेर सपूतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै उनको आलोचना गरिएको थियो । 

बुधवार मध्यराती फेसबुकमा स्टाटस लेख्दै भिडियोका मोडल सपूतले आफ्नो अज्ञानताप्रति लज्जित रहेको उल्लेख गरेका छन् । ‘म कलाकारको रुपमा त्यहाँ थिए र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’ उनले भनेका छन् ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदायप्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निरास बनाएको मा म दुखी छु । मनैदेखि दुखी छु ।’

उनले गल्ती, कमजोरीहरू सच्याएर, सिकाएर, सचेत गराएर, एक अर्कालाई स्विकार गरेर समाज र देशलाई सुन्दर, सभ्य, समृद्ध र सचेतनामूलक बनाउन सकिने उल्लेख गरेका छन् । 

अहिले त्यो इनार वरिपरि फूलको गमलाले घेरिएको छ र इनारमाथि नबस्नुहोला भन्ने सूचना राखिएको छ । यसपछि यो अझै सुन्दर र सुरक्षित बनेको समेत प्रकाशले उल्लेख गरेका छन् । 

उनले एउटा कलाकारको रुपमा आफूलाई, आफ्नो व्यवहार, विचार र गतिविधिप्रति प्रेम दिने साथै कमजोरीहरुमा खबरदारी गर्ने सबैमा धन्यवाद समेत दिएका छन् । 

यो विवादमा म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले माफी मागिसकेको छ । 

‘कमाउने नी हो रमाउने नी हो’ चार महिना अगाडि सार्वजनिक तीज विशेष गीत हो । खेम सेञ्चुरी र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका थिए । गीत तीजमा निकै चलेको थियो ।

सोही भिडियो छायांकनको क्रममा दर्शकले खिचेको भिडियो अहिले भाइरल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्