
लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल आएको हो ।
आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो ।
कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो ।
४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।
अघिल्लो कारोबार दिन (बिहीवार ) १८५२.७८ अंकमा कायम भएको बजार आइतवार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएको छ ।
आइतवार कारोबार रकम भने जम्मा ४८ करोड २४ लाखमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ। त्योभन्दा मुनिको जोखिम भार १०० प्रतिशत छ ।
मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।