
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।
दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ऋण तिर्ने दायित्व कलिलै उमेरमा परिवारका एक्ला छोरा प्रतीकको थाप्लोमा आयो ।
बाबाको उपचार गर्दा लागेको ऋण र घर बनाउँदा गरिएको खर्च तिर्न मामाहरूले उनलाई पोर्चुगल पठाउने योजना सुनाए ।
तर, प्रतीकलाई कुनै साथीले पोर्चुगलभन्दा रुसमा राम्रो कमाइ हुने बताइदियो । उनी काठमाडौंको एक कन्सल्टेन्सीमार्फत ११ लाख खर्चिएर असार अन्तिम साता रुसका लागि उडे ।
प्रतीककी आमा तिलकुमारी पुन छोरा रुस पुगेपछि कमाइ गर्ला भन्ने आशामा थिइन्, तर अहिले प्रतीक युक्रेनी सेनाको कब्जामा परेको खबर आएको छ ।
युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनी सेनाले आफूलाई कब्जामा लिएको बताएका छन् ।
‘मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपालको दाङ जिल्लास्थित बिजौरी पर्छ । म रुसी सेनामा भर्ना भएको थिएँ, अहिले युक्रेनको कब्जामा छु,’ प्रतीकले भिडियोमा भनेका छन् ।
भर्ती भएपछि प्रतीक रुसको राजधानी मस्कोमा तीन महिना बसेका थिए ।
सेनामा रहँदा खासै समस्या नहुने र मनग्गे आम्दानी हुने प्रलोभनमा परी उनी रुसी सेनामा भर्ती भएका हुन् । रुसी सेना बनेर मनग्गे कमाइ गर्ने प्रलोभनमा परेका प्रतीक अन्ततः युक्रेनी सेनाको नियन्त्रणमा पुगेका छन् ।
‘यता साहुले ऋण कहिले तिर्छौ भनेका छन्,’ आमा तिलकुमारीले लोकान्तरसँग भनिन्, ‘उता, एक्लो छोरो मलाई उद्धार गर, म दुस्मनको कब्जामा छु भन्छ, हे भगवान ! मेरो छोरोलाई दुस्मनहरूको कब्जाबाट उन्मुक्ति देऊ ।’
प्रतीकको फोन प्रतीक्षा गर्दै परिवार सदस्यहरू भगवानसँग प्रार्थना गरेर बसेका छन् । सरकारले पहल गरेर छोरो छुटाइदिन्छ कि भन्ने झिनो आशा तिलकुमारीलाई छ ।
युक्रेनी सेनाले नियन्त्रणमा लिएको पाँच दिन बितिसक्दा समेत नेपाल सरकारका तर्फबाट भने पुन परिवारलाई सामान्य आश्वासन समेत आएको छैन । यो बीचमा प्रतीकले उद्धारको याचना गरेको २ वटा भिडियो सार्वजनिक भइसकेको छ ।
प्रतीक ३ महिनाअघि रसियामा तालिम लिएर युद्धमा होमिएका थिए । त्यसैक्रममा उनी युक्रेनी सेनाको कब्जामा परेका हुन् ।
एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन् । उनको भिडियो परिवारले आइतबार मात्र देखेको प्रतीककी आफन्त सुमित्रा पुनले लोकान्तरलाई बताइन् ।
‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, अहिले युक्रेनमा छु,’ भिडिओमा पुनले भनेका छन्, ‘नेपालीलाई रुस नआउन अनुरोध गर्छु । रुसी राहदानी र पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’
प्रतीकले होटलको कामभन्दा सेनामा धेरै पैसा कमाइ हुने देखेकाले आफू सेनामा प्रवेश गरेको बताएका छन् । ‘धेरै पैसा कमाइ हुन्छ, कोही पनि नआत्तिनुहोला भन्थ्यो,’ तिलकुमारीले भनिन्, ‘प्रतीकले जे सुनाए पनि हामीलाई भने त्यहाँ लडाइँ भइरहेकाले केही भइहाल्ने हो कि भनेर डर लागिरहन्थ्यो ।’
रुसी सेना बनेपछि पनि प्रतीक परिवारको सम्पर्कमै थिए । तर, गत साता प्रतीकले बहिनी विपनालाई फोन गरेर अब आफू अनलाइन आउन नपाउने बताएका थिए ।
प्रतीकको परिवारलाई छोरा युक्रेनी सेनाको कब्जामा परेको मलेसियामा रहेका एक आफन्तले थाहा दिएका थिए । सामाजिक सञ्जालमा भिडियो देखेपछि ती आफन्तले प्रतीकको घरमा पठाइदिएका थिए ।
एक्लो छोरा युक्रेनी सेनाको नियन्त्रणमा पुगेपछि तिलकुमारी छोरा फर्केर आउन नपाउने पो हो कि भनेर विचलित छिन् । प्रतीका ३ दिदीबहिनीमध्ये कान्छी विपना अहिले ९ कक्षामा पढ्दैछिन् ।
दुई छोरीको विवाह भइसकेको छ । रुस पुगेयता प्रतीकले दुईपटक गरेर १ लाख २५ हजार रुपैयाँ मात्र घरमा पठाएका थिए । एक साताअघिको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने बताएका थिए ।
विद्यार्थी भिसामा रुस गएका नेपाली युवा सेनामा भर्ती हुने क्रम बढेको छ । यसक्रममा ६ जनाको मृत्यु तथा अन्य केही घाइते समेत भएका छन् । प्रतीकसहित बाँकी केही भने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।