
पुर्वमध्यकालमा खसिया मल्लहरूको अधीनस्त बैतडी झुलाघाट । खसिया मल्लहरूले करिब ईसाको दशौं शताब्दीदेखि चौधौं शताब्दीको अन्त्यसम्म एक बृहत् राज्यमा शासन गरेका थिए । यी खसिया मल्लहरूका राज्य पूर्वमा त्रिशुलीसम्म फैलिएको थियो, बैतडी झुलादेखि । कालापानीभन्दा माथि लिपुलेकको कन्दराबाट निस्कने महाकाली दार्चुला, जोलजिवी, झुलाघाट हुँदै बग्दछ । दुई साता (१४ मंसिर, २०८०)देखि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम नाका बैतडी झुलाघाट १८७९ किलो मिटर राजनीतिक यात्राको नेतृत्व गरिरहेका छन् ।
यात्राको १३ औं दिन मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ । पुष्पलाल मध्यपहाडी राजमार्गले छोएका २६ जिल्लाभित्रका १८७९ किलो मिटर वरपरका स्थानीयसँग संवाद, भेटघाट, सभा गर्दै टोली अघि बढेको छ । ‘समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएको केपी शर्मा ओली नेतृत्वको टोलीले पाँचथर जिल्लाको चिवाभञ्ज्याङ पुगेर यात्रालाई समापन गर्नेछ ।
‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’को नाराले कति सार्थकता पाउला ? यतिखेर सतहमा आलोचना, समर्थन पोखिएका छन् । यात्रा अघि बढिरहँदा हरेक दिन ओलीले नयाँ अनुभूति गरिरहेका छन् ।
स्थानीयसँगको सम्बन्धमा त्यहाँको समाजबारे ओलीलाई स्थानीय पार्टीले के कति जानकारी दियो, त्यो एउटा पक्ष हो, तर मध्यपहाडी लोकमार्गले जोडेका २६ जिल्लाभित्र के भइराखेको छ भन्ने जानकारी ओलीले प्रत्यक्ष लिएको देखिन्छ ।
सामाजिक सञ्जालमा उनले गरेका अनुभूतिहरू अपडेट हेर्दा प्रस्टै हुन्छ । मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूमा उत्पादन तथा व्यापार प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, रोजगारीका अवसरहरू सिर्जना र स्थानीयको जीवनस्तर उकास्ने महत्त्वपूर्ण साधन बन्यो कि बनेन ? त्यसको प्रत्यक्ष जानकारी ओलीले लिएका छन् ।
मध्यपहाडी लोकमार्गले चर्चेका भू–भागमा जोडिएको यातायात सञ्जालले स्थानीयको जीवनस्तरमा कति भिन्नता लियो ? ती क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास भएको छ कि छैन ? यी यवात पक्षसँग यो यात्राको साइनो गाँसिएको छ । ‘समृद्धि’को अर्थ सबैको सहज पहुँच र समान न्याय पाउनु हो । यही अर्थलाई थप पुष्टि गर्न एमालेले ‘संकल्प यात्रा’ भनेको हो ।
राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग निर्माण कार्य थालनी भएको डेढ दशक भएको छ । यो अन्तरालसम्ममा १ खर्ब रुपैयाँ बढी खर्च भैसकेको छ । कार्यसम्पादन मूल्यांकन गर्दा ७० प्रतिशतको हाराहारीमा मध्यपहाडी लोकमार्गको काम सम्पन्न भएको छ । ‘जति पूर्व आइपुगियो उति नै क्रमैसँगले विकास हुँदै आएको देखें’, यात्राको सातौं दिन ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आइपुग्दा ओलीले आफ्नो अनुभूति सुनाउँदै भनेका थिए ।
मध्यपहाडका बासिन्दाको जीवनयापनलाई सहज बनाउने यो तेस्रो विकास आयोजना (मध्यपाहाडी राजमार्ग)ले दुई छिमेकी नाका जोड्न निक्कै सहज देखिन्छ । जुन बिन्दु (झुलाघाट)बाट संकल्प यात्रा उद्घाटन गरियो, सोही ठाउँ हुँदै फैलिएकोे खस साम्राज्य र त्यसपछि सिंजा राज्यको भूगोल त्रिशुलीसम्मै थियो ।
हालको गण्डकी प्रदेश खस साम्राज्य र सिंजा राज्यको व्यापारिक र सैन्य हमला गर्ने सामरिक नाका थियो । भोटमा नुन र सुनको व्यापार, रिडी साँस्कृतिक सम्बन्ध, पोखरा हुँदै नुवाकोट, उपत्यका (काठमाडौं) जोड्ने नाकाकै बाटोबाट ओली नेतृत्व टोलीले पूर्वपश्चिम यात्रा गरिरहेको छ । नेपाल एकीकरणपछि उपल्ला २२ र तल्ला १८ खानीमा विभाजन गरिएको थियो । ती उपल्ला २२ खानी गण्डकी प्रदेशभित्रै पर्दछन् । हालै खोलिएको उत्तरी नाका कोरोलाको सहज पहुँच मध्यपहाडी लोकमार्गसँग छ ।
कोरोला नाकाको फाइदा सबैभन्दा बढी गण्डकी, लुम्बिनीको पहाडी जिल्ला, कर्णाली र सुदूरपश्चिमले लिन सक्छ । लोकमार्गको केही साँघुरा र अप्ठ्यारा बाटो छिचोल्ना साथ कोरोला नाकामा ती प्रदेशको सहज पहुँच पुग्छ । कोरोलादेखि करिब १ हजार किलो मिटर सडक हिड्दा झुलाघाट पुगिन्छ । मध्यपहाडीका कतिपय जिल्लामा वैकल्पिक बाटो जोड्दै स्तरोन्नति गरेमा दूरी झन् घट्छ ।
झुलाघाटदेखि रैथाने परम्परा, भेषभुषा, रहनसहन, भिन्न सांस्कृतिक परम्परा, खानपानबाटै टोलीलीलाई स्वागत गरिएको छ । सहज इन्टरनेट, सञ्चारको धेरथोर पहुँचका कारण जनताले केही न केही राजनीति बुझेका छन् । जनताको त्यो चेतनास्तर अनुसार पार्टीले कस्तो राजनैतिक दृष्टिकोण निर्माण गर्ने र आफू पनि बदलिने भन्ने पाठ सिक्न यो यात्राले पक्कै पनि मद्दत गर्नेछ । जनतासँग जहाँ सम्वाद भएको छ, त्यहीँ मागका चाङ लगाइको छ । उनीहरूको माग हेर्दा लाग्छ, जनताको चेतना धेरै माथि पुगेको छ । त्यो चेतनालाई वर्गीय दृष्टिकोणमा कसरी बदल्ने भन्ने प्रश्न एमालेको यो अभियानलाई चुनौती हो ।
हरेक समस्याको गाँठो राजनीतिक रूपमै छ भन्ने आमबुझाइ छ । पुराना दलकै कारण जनताको जीवन कष्टकर बन्दै गएको भनेर शहरिया मध्यम वर्गले खडा गरेको भाष्यलाई मध्यपहाडी क्षेत्रका जनताले कसरी लिएका छन् भन्ने आकलन समेत यात्रापछिको समीक्षाले गर्नेछ ।
यात्राको १३ औं दिनसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्रीहरूलाई हरेक ठाउँमा भव्य रूपले स्वागत गरिएको छ । स्थानीय जनताको उत्साहमा कुनै कमी देखिन्न । डेढ वर्षका बीचमा स्थानीय, संघीय चुनाव, ग्रासरुट, प्रदेश अधिवेशनलगत्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्राको अभियानलाई स्थानीय कार्यकर्ताले भोगिरहेका छन् । स्थानीय कार्यकर्तामा आर्थिक भार त थपिएको छ, तर उत्साह र ऊर्जामा कुनै कमी देखिन्न ।
मंगलबारदेखि सांगठनिक रूपले बलियो देखिएको प्रदेश कोशीमा यात्रा प्रवेश गरेको छ । त्यहाँ सोहीबमोजिम चुनौती पनि छ । ‘पहिचानवादी’को नाममा बन्द, विरोध हड्तालले के कति असर गर्दछ, हेर्न बाँकी छ । स्वयं अध्यक्ष केपी शर्मा ओलीको प्रदेशसमेत भएकाले त्यहाँको चुनौती सामान गर्नु पार्टीका लागि अर्को अवसर हो । कोशी नाम राखिएको भनी ‘पहिचानविरोधी पार्टी एमाले’ भनेर जसरी स्थापित गर्न खोजिएको छ, त्यसलाई चिर्ने अवसर मंगलबारदेखिको कोशी प्रदेश यात्राले प्रदान गर्नेछ ।
पचासौं ठाउँमा लाखौं जनतासँग साक्षात्कार, भेटघाट, बन्दै गरेका ठूला परियोजनाको अवलोकन, स्थानीय जनताको समस्या, कष्टकर जीवनयापन, निर्वाहमुखी उद्यम, खराब सडकका अवस्थालाई प्रत्यक्ष हेर्दै ओली ‘संकल्प यात्रा’मा हिँडिरहेका छन् । यो अभियानले कम्तीमा राष्ट्रिय सन्देश दिने गरी विज्ञहरूसँगको रायमा दीर्घकालीन महत्त्व राख्ने एउटा गुरूयोजना तय गरोस्, जसलाई कार्यान्वयन गराउन प्रतिपक्ष हुँदा र कुनै पनि बेला सत्तामा पुगेको बेला प्रयासमा लाग्न प्रतिबद्धता जाहेर गर्न जरुरी छ । मध्यपहाडी लोकमार्गले नेपाली जनताको मुहारमा कति उज्यालो दियो ? त्यसको परिणाम कम्तीमा पछिल्लो पुस्ताले पाउने छ ।
बाहिर देखिने स्वागतद्वार र स्वागत कार्यक्रमले चुनावी अभियानकै झल्को दिन्छ । कतिपय ठाउँमा अध्यक्ष ओलीले दिएका अभिव्यक्तिहरू सत्तापक्षप्रति कटाक्षले चुनावी भाषणजस्ता लाग्छन् । आफ्ना कार्यकर्ताबीच यस्ता अभिव्यक्तिले पार्ने प्रभाव एउटा पक्ष हुन सक्छ, तर रित्तिँदै गएको गाउँ र युवाविहीन बस्तीलाई कसरी भरिभराउ गराउन सकिन्छ भन्ने गतिलो सन्देश यात्राले दिन सकेको छैन । यात्रा राजनीतिक उद्देश्य वा मिसन– ८४ का लागि भए पनि अन्ततः त्यसका लागि चाहिने जनता नै हुन् ।
राजनीतिक दलको नेतृत्वबाट यो अभियान सञ्चालन गरेकाले राजनीतिक रंग आउनु स्वाभाविकै हो । पार्टीले मिसन– ८४ नाम दिनु पनि स्वाभाविक नै हो । प्रमुख प्रतिपक्षी दलको सिंगो कार्यालय झण्डै एक महिना जनतासँग सँगसँगै हिँड्दा स्थानीयसँग सम्बन्ध जोडिएको छ । केही सपना देखाइएको छ । जहाँ पुग्यो, त्यहीँको माग आएका छन् । कम्तीमा ती मागहरूलाई मसिनो गरी केलाएर अध्ययन गरी सम्बोधनको खाका तय गरे मात्रै यो यात्राको सबैभन्दा ठूलो सफलता हुनेछ ।