
चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ अस्ट्रेलिया उडेका छन् । केही साताअघि कतारमा प्रस्तुति दिएर फर्किएका उनी आइतवार बिहान अस्ट्रेलियातर्फ लागेका हुन् ।
‘हल्का रमाइलो’ फेम्ड अभिनेत्री पुजन घिमिरे ‘पुकु’का साथ अस्ट्रेलिया लागेका उनको त्यहाँ एक महिनाको बसाइ रहनेछ । त्यसक्रममा केही स्टेज कार्यक्रममा यी दुईले प्रस्तुति दिनेछन् भने सिरियलको छायांकन समेत गर्नेछन् ।
अस्ट्रेलिया उड्दै गर्दा बल्छीले लोकान्तरसँग भने, ‘केही कार्यक्रममा प्रस्तुति दिन्छौं । घुमघाम त हल्का भइहाल्छ । हल्का रमाइलोको एउटा एपिसोड उतै खिच्नेछौँ । त्यस्तै सर्टफिल्म र म्युजिक भिडियो समेत छायांकन गर्नेछौँ ।’
‘हल्का रमाइलो’मा अस्ट्रेलियाको आकर्षक दृश्यहरू देखाउने प्रयास रहने बल्छीले बताए ।

उनका अनुसार नेपालबाट अध्ययनको शिलशिलामा अस्ट्रेलिया पुगेका विद्यार्थीको संघर्षको कथामा सर्ट फिल्म बनाउने तयारी छ ।
त्यस्तै, उनकै स्वरमा रहेको एउटा गीतको छायांकन समेत बल्छीले अस्ट्रेलियामा गर्नेछन् ।
‘पुकु’ले आफ्नो अस्ट्रेलिया यात्रा पहिलो पटक रहेको बताउँदै उत्साहित रहेको सुनाइन् ।
‘हल्का रमाइलो’ सिरियलमा ‘बल्छी धुर्वे’ र ‘पुकु’ प्रेमी–प्रेमिकाको रुपमा देखिँदै आएका छन् ।