
सर, घरमा छोरी, म र श्रीमती छौं । घरनजिकै एउटा पुल छ । मर्छु भनेर हिँडें, तर सकिनँ । एक्लै बस्छु, रुन्छु र सम्झन्छु, एक दिन कसो राम्रो दिन नआउला । प्रहरी चौकीको हवल्दार’साप आउनुहुन्छ, सम्झाउनुहुन्छ र घर ल्याउनुहुन्छ । श्रीमती र छोरी टाढा भएको कसरी हेरौं । एकजना पीडितले प्रहरीलाई ह्वाट्स एपमा पठाएको म्यासेज हो यो ।
राेमानिया पठाइदिने बहानामा ७ लाख ठगिएपछि आत्महत्याको प्रयास गरेका ती पीडितलाई प्रहरीले अहिले काउन्सिलिङ गरिरहेको छ ।
उनले आफन्तसँग मागेर दलाललाई ७ लाख बुझाएका रहेछन् । पैसा ठगिएर आफन्तको ऋण तिर्न नसकेपछि प्रहरीसँग उनले आफ्नो ‘मनको बह’ पोखेका थिए ।
त्यसपछि प्रहरीले उनलाई ठग्ने व्यक्तिको खोजी गर्न थाल्यो । यस प्रकरणमा अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार हेर्ने ८ नम्बर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीको टीमले सर्लाहीको हरिवन नगरपालिका– ३ का ३५ वर्षीय रामेश्वर सिंह यादवलाई पक्राउ गरेको छ ।
सिंहलाई पक्राउ गर्दाको कहानी निकै रोचक छ । ठगिएका व्यक्तिले दिएको उजुरीमा उनको नाम नागेन्द्रबाबु यादव उल्लेख थियो । त्यही उजुरीका आधारमा नागेन्द्रबाबुकै नाममा पक्राउ पुर्जी जारी भयो ।
पक्राउ पुर्जी लिएर धनुषा पुग्दा नागेन्द्र खेत जोत्दै गरेका भेटिए ।
‘उजुरी परेपछि नाम र नागरिकताका आधारमा खोज्दै धनुषा पुग्दा पक्राउ पुर्जी जारी भएका व्यक्ति खेत जोत्दै गरेका भेटिए । हामी अचम्ममा पर्यौं,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।
त्यसपछि प्रहरीले ‘तपाईंको नाममा यसरी ठगीको उजुरी छ’ भनेर सोधीखोजी गर्दा उनले ७ वर्षअगाडि विदेश जान भनेर भेरी म्यानपावरमा नागरिकतालगायत डकुमेन्ट दिएको र त्यसबाहेक वैदेशिक रोजगारीसम्बन्धी कुनै विषयमा नजोडिएको बताए । उनको भनाइ र म्यानपावरको नाम पच्छ्याउँदै प्रहरी बल्ल वास्तविक ठग रामेश्वर सिंहसम्म पुगेको हो ।
लागूऔषध कारोबार, ठगीलगायत ४ वटा मुद्दामा फरार उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बुधबार) ललितपुरको नख्खुदोबाटोस्थित उनी बस्दै आएको फ्ल्याटबाटै पक्राउ गरेको छ ।
ठगी धन्दाको नालीबेली
सिंहले २०७४ सालमा बजाज ओभरसिसमा कामदारका रूपमा काम शुरू गरेका रहेछन् । प्रहरीका अनुसार १ वर्ष काम गरेपछि ३० लाख पुँजी देखाएर भेरी ओभरसिस नामक म्यानपावर कम्पनी खोले ।
त्यसक्रममा उनले ३ सय जनाको डकुमेन्ट संकलन गरेका रहेछन् । ती व्यक्तिबाट करिब ३ करोड रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
त्यसरी पैसा लिइएका व्यक्तिलाई विदेश पठाउन नसकेपछि वैदेशिक रोजगारी विभागले प्रहरीमार्फत २०७५ साउन ६ मा पक्राउ गर्यो । सो केसमा सिंह डेढ वर्ष जेल बसेर छुटे ।
२०७६ मा सरकारले म्यानपावर दर्ता गर्न २ करोड धरौटी राख्नुपर्ने व्यवस्था ल्याएपछि उनले कम्पनी ‘रिन्यु’ गर्न सकेनन् । त्यसपछि राजदेवी इन्टरनेसनल कन्सल्टेन्सी दर्ता गरेर ठगी धन्दालाई निरन्तरता दिएको पाइएको छ ।
कन्सल्टेन्सीमार्फत विदेश पठाउने भन्दै ३० जनासँग ५० लाख ठगी गरेको उजुरी परेको डीएसपी पन्थीले लोकान्तरसँग बताए । तत्कालीन अवस्थामा अपराध महाशाखा (हालको अपराध अनुसन्धान कार्यालय)ले मुद्दा चलाएको थियो । रामेश्वर फरार थिए ।
फरार रहेकै समयमा साउथ होल्डिङ नामक कम्पनी खोलेर कुवेत पठाउने बहानामा केही व्यक्तिसँग पैसा उठाएर ठगी गरेको पाइएको डीएसपी पन्थीले जानकारी दिए ।
त्यसपछि आफ्नो नाममा कम्पनी खोलेर चलाउँदा प्रहरीले थाहा पाउने भएपछि भेरी म्यानपावर चलाउँदा आएका डकुमेन्टहरूमध्येबाट सुरेन्द्र यादव, सुरेश मुखिया र नागेन्द्रबाबु यादवको नागरिकतामा आफ्नो फोटो राखेर फेरि नयाँ कन्सल्टेन्सी खोलेको पाइएको छ ।
नागेन्द्रको नाममा विराटनगरमा खोलिएको विराट कन्सल्टेन्सीबाट ३० जनालाई ठगेको उजुरी छ । ‘उसले अरूको नागरिकतामा आफ्नो फोटो राखेर कम्पनी खोली विराटनगरमा ३० जनलाई ठगी गरेको छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।
विराटनगरमा उनले राेमानिया पठाउने भन्दै २० लाख रुपैयाँ उठाएको पाइएको छ ।
उनले लक्ष्मण बस्नेतको नागरिकतामा आफ्नो फोटो राखेर बालुवाटार (काठमाडौं)मा गढीमाई कन्सल्टेन्सी समेत खोलेको पाइएको छ । उनले दुरुपयोग गरेकै नागरिकताका आधारमा बैंक खाता खोली सञ्चालन गर्दै आएको समेत खुलेको छ ।
उनले एक वाणिज्य बैंकमा लक्ष्मण बस्नेतको नाममा खोलेको खातामा १७ लाख रुपैयाँ भेटिएको छ । अर्को एक बैंकमा कन्सल्टेन्सीको नाममा खाता खोली एटीएम प्रयोग गर्दै आएको समेत पाइएको छ ।
उनी २०७९ सालमा लागूऔषध मुद्दामा सिन्धुलीमा पक्राउ परेर २४ दिन हिरासत बसेका रहेछन् । ठगी मुद्दामा भने उनी फरार रहँदै आएका थिए ।
ठगीको पैसाले सिंहले साउथ नेपाल होल्डिङ, साउथ नेपाल कन्सल्टेन्सी, कुमारी मल्टिप्रपोज (कृषिसम्बन्धी कम्पनी) र अञ्जली कन्स्ट्रक्सन खोलेको पाइएको छ ।
‘उसले ठगीको पैसाले विभिन्न कम्पनी खोलेको देखिन्छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।
एकै परिवारका ५ जनासम्मलाई ठगी
रामेश्वर सिंहले काठमाडौंमा खोलिएको कन्सल्टेन्सीमार्फत एकै परिवारका ५ जनाको १० लाख ठगी गरेको पाइएको छ । धादिङका एक पीडितले क्रोएसिया जान भनेर परिवारका ५ जनाको जनही २ लाखका दरले १० लाख बुझाएको बताए ।
‘दुई महिनामा क्रोएसिया उडाइदिन्छु भन्दै शुरूमा २ लाखका दरले मागेको थियो । हामीले काम हुन्छ भन्ने लागेर पैसा दिएका हौं,’ नाम नबताउने शर्तमा ती पीडितले लोकान्तरसँग भने ।
आफू, दुईवटा भाइ, सालो र साडुभाइको नाममा पैसा बुझाएको उनले बताए ।
३ हप्तामा अफर लेटर, त्यसपछिको २ महिनामा बायोमेट्रिक र त्यसपछि भिसा आउने बताएका सिंहले थप जनही ५ लाख मागेको पीडितले बताए ।
प्रहरीमा परेका उजुरी र उनीमाथिका पुराना अभियोगहरूको आधारमा उनले कुल ३ करोड ८७ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।