०८ साउन २०८३, शुक्रबार
गण्डकीमा सरकार फेरबदल

अस्थिरताका पर्याय मनाङे– जसको सरकार आए पनि मन्त्री

जेठ २९, २०८१
पाेखरा
अस्थिरताका पर्याय मनाङे– जसको सरकार आए पनि मन्त्री

विसं २०७७ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटनपछि संघमा मात्र नभएर प्रदेशमा पनि कुनै दलको पनि स्पष्ट बहुमत आउने अवस्था छैन । यसले गर्दा त्रिशंकु संसद् (हङ्ग पार्लियामेन्ट)को अभ्यास चलाउनुपर्ने बाध्यता छ ।  कुनैपनि दलसँग सरकार गठनका लागि स्पष्ट बहुमत नहुँदा सत्ता फेरबदल भइरहन्छ । संघभन्दा अझ बढी प्रदेशमा अस्थिरता छाएको छ । गण्डकी प्रदेशमा पनि केन्द्रमा सत्ता फेरबदलको असर परिरहेको छ । साढे तीन वर्षयता यहाँ निरन्तर सत्ताको जोडघटाउ चलिरहेको छ । 

गण्डकीमा यो अस्थिरताको भरपुर फाइदा उठाउनेमा स्वतन्त्र सांसद दीपक मनाङ (राजीव गुरुङ)ले उठाइरहेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएसँगै प्रदेश त्रिशंकु संसदको बाटो लाग्दा त्यसको फाइदा मनाङेले नै उठाइरहेका छन् । च्याँखे थापेरै भएपनि पटक–पटक मन्त्री हुन सफल भइरहेका छन् । उनी २०७८ वैशाख १६ गते पहिलो पटक मनाङे मन्त्री भएका थिए । त्यसको शिलशिला रोकिएको छैन । मनाङे फेरि मंगलवार छैठौँ पटक मन्त्री हुन सफल भएका छन् । गण्डकीमा सात पटक सरकार बदलिँदा उनी छैटौँ पटक मन्त्री बन्न सफल भएका हुन् । 

हरेकपटक फरक नेतृत्वको सरकारमा मन्त्री बन्ने गरेका मनाङेको एउटा बोली हुन्छ –मध्यावधि रोक्न समर्थन गरेको हो । तर, मनाङे सत्ताको पछाडि यसरी दौडिन्छन्– उनले बेलाबेला आफ्नो घर फेरिरहन्छन् । ०७४ ताका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रहेका मनाङे पछि एमाले पुगेका थिए । तर, निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र बनेका थिए । ०७४ मा प्रदेशसभा सांसद भएपछि उनी स्वतन्त्र सांसदको रुपमा उभिए ।

null 

गुण्डागर्दी पृष्ठभूमिका मनाङे निर्वाचित हुँदाताका जेलमा थिए । जेलबाट रिहाइ भएपछि १५ माघ ०७५ मा मात्र उनले प्रदेशसभा सदस्यको शपथ लिएका थिए । उनी कहिले कर्मचारीलाई झापड हानेर त कहिले विभिन्न विषयमा बोलेर चर्चामा आइरहन्छन् । त्योभन्दा माहिर त उनी सत्ताका लागि निर्णायक छन् । उनको एक सिट गण्डकीमा सत्ता टिकाउने वा ढलाउने भन्नेमा निर्णायक हुने गरेको छ । 

१६ वैशाख २०७८ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगाएको उपहार खेलकुदमन्त्री बनेर पाए । सदनबाट विश्वासको मत पाउने नदेखिएपछि राजीनामा बुझाएका  गुरुङ ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री बने । मनाङे दोस्रो पटक उनको मन्त्रिमण्डलमा दोहोरिए । 

मनाङेको प्रवेशका बाबजुद एमाले नेता गुरुङ नेतृत्वको सरकार जोगिने देखिएन । त्यसपछि मनाङेले जेठ २९ मा गठबन्धनलाई समर्थन गरे । यसपछि गण्डकीमा गुरुङ सरकार ढल्यो । यसपछि उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा तेस्रो पटक युवा तथा खेलकुदमन्त्री बने । 
गण्डकीको दोस्रो कार्यकालमा मनाङे निर्विरोध निर्वाचित भएर आए । यसपटक सदनको दृश्य फरक थियो । गठबन्धन गरेर चुनावमा होमिएका माओवादी र कांग्रेसलाई सरकार गठनका लागि सहज बहुमत थियो  । गठबन्धन फुटेमा त्रिशंकु संसदको समस्या यथावत् थियो । 
सरकार गठनमा आफ्नो आवश्यकता नदेखेपछि मनाङे एकाएक नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरे । कारण थियो– गण्डकीमा सो दलबाट कोही पनि सांसद थिएनन् । यस्तोमा भागबण्डा हुँदा आफ्नो भागमा मन्त्रालय पर्नेमा उनको आशा थियो । तर फेरि केन्द्रमा गठबन्धन बदलियो । एमालेका खगराज अधिकारी मुख्यमन्त्री भए । अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढल्यो । २०८० वैशाख १४ गते कांग्रेसबाट सुरेन्द्रराज पाण्डे सरकारमा आए । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि मनाङेलाई मन्त्री बनाउन कसरत गरिरहेका थिए । तर, बहुमतमा रहेका मुख्यमन्त्री पाण्डेले वास्ता गरेनन् । 

फागुनमा फेरि केन्द्रमा राजनीतिक दृश्य परिवर्तन भयो । त्यसको फलस्वरुप प्रदेशमा पाण्डे अलमलमा परे । यहाँ फेरि मनाङ नै चाहियो । सरकार जोगाउन पाण्डेले मनाङेलाई चौथो पटक मन्त्री बनाए । चैत ५ उनले भौतिक तथा यातायात मन्त्रालयको जिम्मेवारी पाए । मुख्यमन्त्री पाण्डे तत्काल विश्वासको मत नपाउने देखेपछि राजीनामाको बाटो अपनाए । मनाङेको मन्त्री पद २० दिनमा गयो । पाँचौँ पटक मन्त्री बन्न उनले अधिकारी नेतृत्वको सरकारलाई समर्थन गरे । चैत २५ मा नै उनी पाँचौँ पटक मन्त्री बने ।

null 

अधिकारीलाई समर्थन गरेर मन्त्री बन्दै गर्दा मनाङेले भनेका थिए, ‘सरकार टिकाउने काम मेरो मुख्यमन्त्रीको हो । मैले त उहाँलाई मध्यावधि नजाउँ भनेर एउटा चान्स दिएकै हो । योभन्दा राप्रपालाई मध्यावधि चाहिन्छ भने म फेस गर्छु । तर, म चुनाव लड्दिनँ ।’ 

मध्यवधि जानबाट रोक्न सत्तालाई समर्थन दिँदै आएको बताउने मनाङेले पाण्डे नेतृत्वको सरकार बनाउन भूमिका भने खेले । मंगलबार उनलाई विश्वासको मत दिँदै बुहमतका लागि ३१ पुर्याउन मद्दत गरे । त्यसको उपहार बुधवार भौतिकमन्त्रीको रुपमा फेरि एकपटक मन्त्रालयमा फर्किएका छन् । यसलाई उनी बाध्यता भन्छन् ।

‘मन्त्री बन्नु बाध्यता हो । मेरो काम सरकारलाई जोगाइदिने मात्र हो । किनभने म पार्टी होइन, स्वतन्त्र मान्छे हो । एउटा सिट किन बिग्राने भन्ने कुरा हो,’ उनले भने, ‘लामो राजनीति गर्नुपर्छ भन्ने छैन । यही तीन–चार वर्ष राम्रो गर्न सके आफ्नो राजनीति बनिहाल्छ,’ उनले मंगलवार मन्त्री पदको जिम्मेवारी सम्हालिसकेपछि भने । 
 
गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुमा माओवादी केन्द्रको हात रहेकोसमेत आरोप मनाङेले लगाए । मनाङे छैटौँ पटक मन्त्री बनेर पनि थाकेका छैनन् । सरकार जोगाउन २० औँ पटक पनि मन्त्री बन्न आवश्यक रहेको उनी अभिव्यक्ति दिन्छन् । 

‘मान्छेहरूले मलाई छैटौँ पटक मन्त्री भयो भनिरहेका छन् । यही यस्तै ताल हो भने २० चोटी पनि खानुपर्ने हुन्छ, यो हाम्रो बाध्यता हो । मेरो त केही उपाय पनि छैन,’ उनी भन्छन्, ‘मसँग एउटा सुविधा छ– मेरो कुनै केन्द्र छैन, त्यही जिल्ला (मनाङ) हो । मैले आफ्नो ठाउँ हेर्ने हो । मेरो जिल्ला राम्रो बनिसकेपछि मलाई यो मन्त्रालय चाहिँदैन ।’

 
 

salt training

कमेन्ट गर्नुहोस्