काठमाडौं ५ कार्तिक– निर्वाचन क्षेत्र घट्दा र राजनीतिक दलहरुबीचको चुनावी गठबन्धनका कारण विगतका केही चर्चित अनुहार यसपटक उम्मेदवार बन्नबाट बञ्चित भएका छन् । विगतमा प्रत्यक्ष चुनाव जितेका र मन्त्री बनेका नेताहरुले समेत यसपटक प्रतिनिधि सभा र प्रदेश सभा कतैबाट पनि टिकट पाएनन् ।
२०५६ सालको प्रतिनिधि सभा र २०७० सालको संविधानसभा चुनावमा प्रत्यक्ष चुनाव जितेर संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री समेत बनेका दोलखाका एमाले नेता आनन्द पोखरेल यसपटक उम्मेदवार बन्न पाएनन् । दोलखामा प्रतिनिधि सभातर्फ पार्वत गुरुङ र प्रदेश सभातर्फ पशुपति चौलागाई उम्मेदवार बनेका छन् । प्राकृतिक स्रोतको बिषयमा जानकार पोखरेललाई राष्ट्रिय सभाको सांसद बनाउने सम्भावना रहेको एमाले स्रोतले बतायो ।
गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ विजयी भएका धादिङका एमाले सांसदद्वय गुरु प्रसाद बुर्लाकोटी र धनबहादुर घले तथा भोजपुरबाट निर्वाचित कृपासुर शेर्पा, पाँचथरबाट निर्वाचित गणेश कुमार काम्वाङ्ग र लमजुङाट निर्वाचित जमीन्द्रमान घले पनि उम्मेदवार बन्न पाएनन् ।
ताप्लेजुङका डम्वरध्वज तुम्वाहाम्फे, म्याग्दीका नवराज शर्मा, मुगुका मोहन बानियाँ, बझाङबाट निर्वाचित मानप्रसाद खत्री उम्मेदवार बन्न सकेनन् । टिकट नपाएका शेर्पा पनि पूर्व पर्यटन मन्त्री हुन् ।
नेपाली कांग्रेसका तर्फबाट पनि केही चर्चित अनुहार उम्मेदवार बन्नबाट छुटेका छन् । ताप्लेजुङका नेता एवं पूर्वमन्त्री सूर्यमान गुरुङ, शंखुवासभाका तारामान गुरुङ, बाग्लुङाट प्रत्यक्ष निर्वाचित ज्ञानकुमारी छन्त्याल रत्न शेरचन, रुकुमकी मिठु मल्ल पनि उम्मेदवार बन्न सकेनन् । उपयुक्त नाममध्ये केही कांग्रेसको समानुपातिक सूचीमा परेका छन् । सूर्यमान गुरुङ पूर्व श्रम मन्त्री हुन् ।
माओवादी केन्द्रका तर्फबाट पनि सरकारमा सहभागी केही चर्चित अनुहारहरु पहिलो चरणको चुनावको उम्मेदवार बन्नबाट बञ्चित भएका छन् । प्रधामनन्त्री शेरबहादुर देउवा सरकारकी वहालवाला मन्त्री गोरखाकी आशा कोइराला, गोरखाबाट प्रत्यक्ष निर्वाचित पूर्वमन्त्री हितराज पाण्डे, पूर्वमन्त्री गणेशमान पुन, रुकुमका दलजित विके श्रीपाइली, गोरखाबाट प्रत्यक्ष निर्वाचित छमबहादुर गुरुङ, पूर्वराज्यमन्त्री पाँचथरका श्रीप्रसाद जगेबुले प्रदेश र प्रतिनिधि सभामा टिकट पाएनन् ।
यसअघि महिला बालबालिका तथा समाजकल्याण मन्त्री रहेकी कोइराला अहिले विनाविभागिय मन्त्री छिन् ।
हितराज पाण्डे पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री थिए । स्थानीय तह सीमांकन तथा नामांकनमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेय राप्रपाका कमल थापा प्रचण्ड सरकारमा सहभागी भएपछि बीचमै सरकारबाट फिर्ता बोलाइएका थिए ।
गणेशमान पुन केपी ओली नेतृत्वको सरकारमा आपूर्ति र श्रीपाइली खेलकुदमन्त्री बनेका थिए ।
टिकट पाउन नसकेका नेताहरुलाई उचित जिम्मेवारी दिइने दलका नेताहरुले बताएका छन् । कतिपयलाई दलहरुले राष्ट्रिय सभाको सांसद बनाउने आश्वासन दिएका छन् । माओवादीसंग वामपन्थी गठबन्धन गरेका कारण नेकपा एमालेका धेरै आकांक्षीहरु उम्मेवार बन्नबाट बञ्चित बनेका छन् ।