०३ साउन २०८३, आइतबार

ग्लोबल आईएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिने​

असार १२, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिने​

ओपेक फण्डले ग्लोबल आईएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ ।​​​

यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यो ऋण लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरूद्वारा सञ्चालित व्यवसायहरूको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जनाएको छ ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरूले लगानीको ठूलो अभाव झेलिरहेका छन् । 

'नेपालमा लघु, साना तथा मझौला व्यवसायहरू र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरूलाई सुदृढ बनाउन ग्लोबल आईएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्रहरू दिगो आर्थिक वृद्धि र जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्त्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवर्द्धन गर्नेछ,' अल्खलिफाले भने ।

'यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैङ्गिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिकरूपमा सशक्त बनाउन सहयोग गर्नेछ,' ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने ।

सहकार्यको लागि ओपेक फण्डलाई उनले धन्यवाद दिए । यस सहकार्यले लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।

नेपाल जलवायु परिवर्तनका प्रभावहरूको उच्च जोखिममा छ ।

ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ ।​

ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरूमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्