
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालको स्वामित्वमा रहेको मोरङ अटो वर्क्स (एमएडब्ल्यू)ले चीनबाट भित्र्याएको सेरेस मिनी ईभीमा गम्भीर समस्या देखिन थालेको छ ।
गत सालको भदौमा नेपाली बजारमा सार्वजनिक भएको सेरेस कम्पनीको मिनी ईभीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि कम्पनीले ७ वटा गाडी फिर्ता लिएको छ ।
लोकान्तरको सम्पर्कमा आएका २ जना ग्राहकले गाडी किनेको केही दिनमै स्टेरिङ हल्लिन थालेको बताए । राम्रोसँग ब्रेकसमेत नलाग्ने समस्या देखिएको उक्त ईभीले सामान्य उकालो पनि तान्न नसकेको उनीहरूको गुनासो छ ।
'सोह्रखुट्टेकै उकालो तानेन,' एक ग्राहकले भने, 'काठमाडौंमा राम्रोसँग चलाउँला भनेर किनेको गाडी सामान्य खाल्डाखुल्डी र उकालोमै चल्न नसकेपछि त हामी के गर्ने ?'
नाम उल्लेख नगर्ने शर्तमा उनले थपे, 'कम्पनीका चिनियाँ प्रतिनिधि नै आएर हाम्रो गाडी हेरिरहेका छन् । अहिलेसम्म गाडी शो-रूममै छ । लिन बोलाएका छैनन् । हामीले गाडीभन्दा पनि पैसा रिफन्ड मागिरहेका छौं ।'
कम्पनीले गाडी फिर्ता लिएको विषयलाई बाहिर नल्याउन अनुरोध गरेको उनको भनाइ छ ।
'बाहिर गयो भने यसले कम्पनीको रेप्युटेसनमा हान्छ, तपाईंलाई नयाँ गाडी अथवा अन्य कुनै विकल्पमा हामी सघाउँछौं भनेका छन्,' उनले भने ।
गाडीको पैसा रिफन्ड नगरे कानूनी उपचार खोज्ने उनीहरूको भनाइ छ ।
७ वटा गाडी अहिलेसम्म इन्सपेक्सन गर्ने भन्दै फिर्ता लिएको र बाँकी ग्राहकले पनि गाडी शो-रुममा ल्याएर राखिदिन थालेको उनले बताए । यसबारे एमएडब्ल्यूले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
कम्पनीको मार्केटिङ विभागका कर्मचारी साहिलदत्त शिवले केही गाडीमा समस्या आएको तर समाधान भइसकेको जिकिर गरे ।
'बाइक चढ्दै आएका ग्राहकलाई गाडीसम्बन्धी खासै जानकारी नभएको हुन सक्छ,' उनले लोकान्तरसँग भने, 'आफूलाई थाहा नभएको विषयलाई उनीहरूले समस्या भन्ने भए । केही कम्प्लेन आएको हो, तर सबै समाधान भएका छन् ।'
उनले यसबारेमा 'हेडअफिस'मै कुरा गर्न सुझाए ।
सेरेसको मार्केटिङ प्रमुख बताउने विराज (पूरा नाम बताएनन्)ले यो विषयमा आफू केही नबोल्ने बताए । 'समाचारको विषय हो, हामी केही बोल्न मिल्दैन,' उनले भने, 'मैले माथि खबर गरेर तपाईंलाई फोन गर्न लगाउँछु ।'
एमएडब्लू वृद्धिले ३ भेरियन्टमा सार्वजनिक गरेको यस ईभीको सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फूल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जलाई १७ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
नेपाली बजारमा सस्तो विद्युतीय सवारी खोजिरहेका ग्राहकहरूको रोजाइमा सेरेसका मिनी ईभी परेका थिए ।
अहिले कतिपय ग्राहकहरूले यसलाई 'ठगी' भनेका छन् । सामाजिक सञ्जालमा ग्राहकहरूले एमएडब्ल्यूले ल्याएका चाइनिज विद्युतीय गाडी नकिन्न सुझाव दिइरहेका छन् ।
एक साताअघि नेपाल ड्राइभर्सले राखेको एउटा समाचारमा सूर्यप्रसादले कमेन्ट गरेका छन्, 'एमएडब्ल्यूले ल्याएका सामान नकिन्दा हुन्छ, यसको शोरूम सधैं रहन्न ।'
विक्रम नामका अर्का प्रयोगकर्ताले सेरेस नेपाल नामको फेसबूक पेजको एउटा पोस्टमा कमेन्ट गरेका छन्, 'गाडी खेलौनाजस्तो छ । चीनमा बनेका जस्तोसुकै गाडी पनि यहाँ ल्याएर नेपाली ठग्ने काम विष्णु अग्रवालले गरिरहेका छन् ।'
अग्रवालले सस्तो पर्ने नाममा चीनबाट कमसल गाडी ल्याएर नेपाली उपभोक्ता ठगेका मात्र होइनन्, टेस्लाकै लोगो कपी गरिएको अर्को विद्युतीय गाडी डीपल एस ०७ तीस लाखभन्दा बढी मुनाफा लिएर बेचिरहेका छन् ।
यसबारेमा लोकान्तरले 'टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल' शीर्षकमा समाचार समेत लेखेको छ ।
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले आफैं मूल्य निर्धारण गरेकोबाहेक सरकारले अनुमति दिएको वस्तुको व्यापारमा २० प्रतिशतभन्दा बढी मूल्य लिन पाइन्न ।
तर, अग्रवालले वास्तविक मूल्यमा करिब ३० लाख जोडेर नेपाली उपभोक्तालाई ठगिरहेका छन् । फेरि पनि पहुँचका आधारमा राज्यले उनलाई सधैं उन्मुक्ति दिइरहेको छ ।
ऐनको दफा ३ मा भनिएको छ, 'दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सय कडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।'
डीपल एस ०७ मा मोटरको क्षमता म्यानुपुलेसन गरेर करछली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिनसमेत गरिरहेको छ ।
त्यस्तै, अग्रवालले यामाहा बाइकमा पनि उपभोक्ता लुटिरहेका छन् । लोकान्तरले यसअघि 'नेपाली उपभोक्ताको ढाड सेक्दै विष्णु अग्रवाल : यामाहा बाइकमा दोब्बरसम्म लूट !' शीर्षकमा समाचार लेखेको थियो ।
अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले सेरेस, डीपलसँगै निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, यामाहा, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको रूपमा लाइसेन्स लिएको छ ।