०३ साउन २०८३, आइतबार
सबै सरकारी जागिरे

शिक्षकबाट निजामतीमा आएका ‘सीपी सर’का छोराछोरी

असार २९, २०८१
विराटनगर
शिक्षकबाट निजामतीमा आएका ‘सीपी सर’का छोराछोरी

तेह्रथुमको लालीगुराँस नगरपालिका– १ का छत्रपति खनाल पूर्वशिक्षक हुन् । उनले करिब ४० वर्ष विद्यार्थीलाई पढाए । जिल्लामा उनी नाम चलेका आईएस्सी (विज्ञान) शिक्षक थिए । उनको निधन भएको १० वर्ष भइसक्यो । उनलाई सबैले ‘सीपी सर’ भनेर बोलाउने गर्थे । धेरैले त छत्रपति भन्दा चिन्दैनन् । उनका ३ छोरा र दुई छोरी छन् ।

जेठो वेदनिधि, माइलो पोषण र कान्छो डम्बर खनाल हुन् । जेठी छोरी सिर्जना र कान्छी सुनिता हुन् । जेठी छोरीबाहेक अरु सबै निजामती सेवामा छन् । जेठी छोरी सिर्जना भने शिक्षिका हुन् । 

वेदनिधि खनाल रसुवाको प्रशासनिक बागडोर समालेर बसिरहेका छन् । उनी रसुवाका प्रमुख जिल्ला अधिकारी हुन् । पोषण कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मोरङमा लेखा अधिकृतमा कार्यरत छन् । डम्बर पनि यातायात कार्यालयमा लेखा अधिकृत छन् ।  सुनिता भने धुलिखेलको आन्तरिक राजश्व कार्यालयमा अधिकृत पदमा कार्यरत छिन् । 

उनीहरू सबै जनाले सामुदायिक विद्यालयबाट नै पठनपाठन गरेका हुन् । उनीहरूले रत्न मावि सोल्मामा अध्ययन गरेका थिए । यो विद्यालय तेह्रथुममा अग्रणी स्थानमा आउँछ । उनीहरू कक्षा १० सम्म बुबाले नै पढाएको विद्यालयमा पढेका हुन् । 

बुवा शिक्षण पेसामा आवद्ध भएकाले त्यहाँका धेरैलाई शिक्षामा जोड्ने काम उनले गरेका थिए । बुवालाई सबैले मानेको देख्दा पढ्न ऊर्जा मिल्ने गरेको पोषणले बताए । उनीहरूको घर पनि विद्यालयबाट नजिकै भएकाले सहज भएको थियो । 

null

भोलिको सम्भावना के भन्ने खोज्दाखोज्दै उनीहरू निजामतीमा आएका हुन् । बुवाको पद प्रतिष्ठा देखेर उनीहरूको लक्ष्य पनि शिक्षक बन्ने नै थियो । वेदनिधि र पोषणले भने केही समय पढाए पनि । पढाउने रहर हुँदाहुँदै उनीहरू निजामतीमा आएका हुन् ।  

वेदनिधि र पोषणले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा आईएस्सी गरेका थिए । आईएस्सी सक्नासाथ २०५६ सालमा साविकको हाँसपोसा हालको इटहरी उप महानगरपालिकाको एक निजी विद्यालयमा पढाउन थालेका थिए । पोषणले पनि २०५६ सालदेखि निजी विद्यालयमै पढाउन थालेका थिए । त्यतिबेला विज्ञान पढाउने शिक्षकको ठूलो अभाव हुन्थ्यो । 

निजी विद्यालय भएकाले बढी समय दिनुपर्ने भएपछि पोषणको स्वास्थ्यमा समस्या देखियो । घाटीमा समस्या देखिएपछि के अब के गर्ने भन्ने उनी अन्योलमा परे । बोलेर बच्चाहरूलाई कनभिन्स गर्नुपर्ने, सिकाउनु पर्ने भएकाले पनि शिक्षण पेसा छोड्ने तयारीमा उनी पुगिसकेका थिए । तर, घाटीको समस्या ठिक भएपछि उनले त्यही पेसालाई निरन्तरता दिए । उनले निजी छाडेर सामुदायिक विद्यालयमै पढाउन शुरू गरे । १० वर्ष उनले भएर शिक्षण पेसालाई साथ दिए । 

१० वर्षको अवधिमा उनले ८ वटा विद्यालयमा पढाएका थिए । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको कालिका आधारभूत विद्यालयमा र भोजपुरको प्याउली माध्यमिक विद्यालयमा उनले शिक्षण पेसामा हुँदा धेरै समय पढाएको बताए । १० वर्षसम्म  शिक्षक सेवा आयोग नखुलेपछि उनले लोकसेवा आयोगमा भिड्ने निधो गरे । 

२०५९ सालमा वेदनिधि निजामती सेवामा प्रवेश गरेका हुन् । वेदनिधिले पनि खरदार र सुब्बा पदमा प्रयास गरेका थिए । तर, उनलाई सफलता मिलेको थिएन । २०५९ नयाँ बीबीएस कोर्स शुरू भएको थियो । खरदार सुब्बामा सफल हुन नसकेका बेनिधिलाई अधिकृतमा भने सफलता मिल्यो । शाखा अधिकृतमा पहिलोपल्टमै नाम निकालेको उनले बताए ।

पोषण भने २ वर्ष खरिदार भएर गाविस सचिव बने । उनले १० वटा पालिकाको वडा सचिव भएर चलाए । स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि एउटै वडा सचिवले धेरैवटा वडा हेर्नु परेको थियो । २०६७ सालमा एकै आर्थिक वर्षमा ८ वटा पालिकाको नगर सभा पनि गराएका थिए । पालिकाका जनप्रतिनिधिको कामसमेत सचिवहरूले नै गर्नुपथ्र्याे । 

उनले भोजपुरको जरायो टार, प्याउली आसपासका १० वटा पालिकाको बागडोर समालेका थिए । ‘कर्मचारीले अहिलेको गाउँपालिकाको अध्यक्षजस्तो भूमिका निर्वाह गर्नुपथ्र्याे,’ उनले भने ‘राजनीतिक दलहरूलाई मिलाउने काम पनि वडा सचिवकै हुन्थ्यो ।’ 

तत्कालीन तिवारी भन्जायङ गाविसमा दलहरूबीच बेमेल भएपछि गाउँ सभा गराउन नसकेको उनी सम्झिन्छन् । त्यो भने पछुतो भएको उनले बताए । मान्छेसँग कसरी व्यवहार गर्ने भन्ने खालका कुराले पनि त्यो बेला प्रभाव पार्ने गरेको उनले अनुभव सुनाए । 

कान्छी सुनिताले भने एमबीबीएस पढ्दापढ्दै निजामतीमा नाम निकालेकी हुन् । सुनिताका श्रीमान् घनश्याम सुवेदी उपसचिव छन् । इन्जिनियरिङ ब्यागराउन्डबाट उनी पनि  निजामती सेवामा प्रवेश गरेका हुन् । 

पारिवारिक भेटघाट बिरलै हुने गरेको पोषणले सुनाए ।  ठूली बहिनीबाहेक अन्यसँग भेटघाट बिरलै मात्रै हुने गरेको उनले बताए । ‘ठूली बहिनी इटहरीमा भएकाले भेटघाट हुन्छ,’ उनले भने ‘सबैले सँगै दशैं नमनाएको धेरै वर्ष भइसक्यो ।’ पोषण र सिर्जनाबाहेक परिवार काठमाडौंमा बस्ने गर्छन्।

salt training

कमेन्ट गर्नुहोस्