
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा टुंगिएको लोकान्तरलाई जानकारी दिए ।
‘कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँट टुंगिएको छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘तर कुन मन्त्रालयमा कसले नेतृत्व गर्ने भन्ने टुंगिन बाँकी छ ।’
कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ ।
बाँकी मन्त्रालयमा साना दल जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई ल्याउने गरी राख्ने तयारी भएको छ ।
एमाले उपमहासचिव ज्ञवालीले सकेसम्म साना दललाई पनि जोड्ने हिसाबले ४ मन्त्रालय खाली राखिएको जानकारी दिए ।
सत्ताको नेतृत्व गर्ने एमाले र कांग्रेसले प्रभावशाली मन्त्रालय बाँडेर भागबन्डा टुंगाएका हुन् ।
एमाले अध्यक्ष ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने छन् ।
कांग्रेसको भागमा परेका मन्त्रालय
गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, उर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला
एमालेको भागमा परेका मन्त्रालय
अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण