११ साउन २०८३, सोमबार
नेतृत्व परिवर्तनको बहस

कांग्रेस बैठकमा देउवालाई सुझाव– ८० वर्ष पुग्नुभयो, अब नेतृत्व छाड्नुस् !

भदौ ७, २०८१
काठमाडौं
कांग्रेस बैठकमा देउवालाई सुझाव– ८० वर्ष पुग्नुभयो, अब नेतृत्व छाड्नुस् !

नेपाली कांग्रेसका सिनियर नेताहरूले ८० वर्ष उमेर पुग्न लागेको भन्दै सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न दबाब दिएका छन् ।

केन्द्रीय समिति बैठकमा सिनियर नेताहरू बलबहादुर केसी र विजयकुमार गच्छदारले अब पार्टीबाट नेतृत्व छाड्न सुझाएका हुन् । 

केन्द्रीय सदस्य बलबहादुर केसीले देउवाले अब पाउन बाँकी र बनाउन बाँकी कोही नभएको भन्दै अब पार्टीलाई मलम लगाउन आग्रह गरेका हुन् । 

‘तपाईं कति वर्ष पुग्नुभयो ? झण्डै ८० । यसबीचमा सभापति, प्रधानमन्त्री सबै बनिसक्नुभयो । अब तपाईंले बनाउन बाँकी कोही छ ? छैन,’ केसीले बैठकमा भनेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘यसैले अब पनि गुट/उपगुट केका लागि ? आफू कहिल्यै बिक्नुभएन । तर, अरूलाई बिकाउनुभयो । यसैले अब छाड्नुस्, पार्टीलाई मलम लगाउनुस् ।’

पूर्वतिर उमेर भएपछि पुर्खा (आशीर्वाद दिने र बस्ने उमेर) बनेर बस्ने अभ्यास रहेको भन्दै केसीले पार्टीमा अब अरूलाई ठाउँ खाली गर्न सुझाए ।

‘पार्टीमा लाग्दा तपाईंलेभन्दा बढी मैले पिटाइ खाएको छु नि, होइन ? (देउवाले बैठकमा हो–हो भन्दै मुन्टो हल्लाए),’ ती नेताले भने, ‘तर, पनि मलाई त छाड्नुहुन्न । हाम्रो पूर्वतिर उमेर भएपछि पुर्खा बनेर बस्ने चलन छ । तपाईं पनि अब कांग्रेसमा पुर्खाको काम गर्नुस् ।’

आगामी चुनावमा प्रतिस्पर्धा गर्नका लागि एमाले चुनौती रहेको भन्दै उनले कांग्रेसमा अहिले जसरी नै गुटबन्दी रहे पार्टीको अवस्था कमजोर हुने बताए । 

प्रतिस्पर्धा गर्ने पार्टीसँगको सत्ता सहकार्यले पनि कांग्रेसलाई घाटा हुने उनको भनाइ थियो । 

देउवानिकटका नेता विजयकुमार गच्छदारले पनि अब सभापतिले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । गच्छदारले नामै लिएर पुराना नेताहरूलाई सभापति बनाउन सुझाए । 

‘सभापतिज्यू, तपाईं अब पार्टीमा संरक्षक भएर बस्नुपर्छ । पुराना, सँगै लडेका र दुःख गरेकालाई सभापति बनाउनुपर्छ,’ गच्छदारले भने, ‘तपाईं दुःख गरेका नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी र पूर्णबहादुर खड्कामध्ये एक जनालाई सभापति बनाउन तयार हुनुहुन्छ भने म पनि मान्छु ।’

बैठकमा कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाले आगामी निर्वाचनमा एमाले कांग्रेसको प्रमुख प्रतिस्पर्धी रहेको विषय भुल्न नहुने बताएका थिए । दुवैले अहिले भइरहेको एमालेसँगको सत्ता सहकार्यप्रति आशंका गर्दै यस्तो विषय उठाएको जानकारी एक केन्द्रीय सदस्यले दिए । 

आरजुले भनिन्– भारतमा राम्रो सम्मान

बैठकमा परराष्ट्र मन्त्री एवं केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालमा बलियो सरकार बन्दा भारतमा राम्रो प्रतिक्रिया पाएको बताइन् । 

‘दुई ठूला दलले सरकार बनाएपछि भारतमा राम्रो प्रतिक्रिया र महत्त्व पाएँ,’ आरजुले बैठकमा भनिन्, ‘भारतमा जुन स्वागत र सम्मान पाएँ, यो हाम्रो पार्टीलाई गरेको सम्मान पनि हो ।’ 

पहिले नै तय नभए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको भनेर आरजुले बैठकमा बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

null

रविलाई किन जेल नहालेको ? 

केन्द्रीय सदस्य जीतजंग बस्नेतले सहकारीमा करोडौं ठगी गरेका रास्वपा सभापति रवि लामिछानेलाई किन जेल नहालेको भन्दै प्रश्न गरे । 

‘सहकारीमा करोडौं ठगेको प्रमाणसहितका विषय बाहिर आएका छन् । सरकार र गृहमन्त्रालय हाम्रै छ । किन रविलाई पक्राउ गर्न ढिलाइ गरेको ?,’ जीतजंगले प्रश्न गर्दै भने, ‘नागरिकता र पासपोर्टको दुरुपयोगपछि सहकारी ठगीमा यति धेरै प्रश्न उठ्दा सरकार रविलाई नपक्रेर किन चुप बसेको ?’

महामन्त्रीद्वयप्रति ज्ञानेन्द्रबहादुरको आपत्ति

बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हचुवाको भरमा प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाए । कार्कीले थापाको १५ औं महाधिवेशनको मिति तोक्नुपर्ने र शर्माको एक्जिट पोलिसीसम्बन्धी प्रस्तावको विरोध गरेका हुन् ।

‘पार्टीमा कसको योगदान छैन र यसरी एक्जिट पोलिसीको कुरा आएको हो ? यस्तो व्यावहारिक नहुने प्रस्ताव ल्याएर के गर्न लागेको ?,’ कार्कीले भने, ‘महाधिवेशन समयमै हुन्छ । तर, १५ समय र कार्यतालिका नै तोकें भनेर अहिले भन्नु अव्यावहारिक छ ।’

महासमितिमा बहुमतले स्वीकारेको हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न माग

बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले ३८ केन्द्रीय सदस्य र झण्डै ९ सय महासमिति सदस्यले हस्ताक्षर गरेको हिन्दूराष्ट्र कायम गर्नुपर्ने मागका विषयमा निर्णय लिन सुझाए । 

‘महासमितिमा उपस्थित सदस्यको झण्डै बहुमतले नेपाललाई हिन्दू राष्ट्र कायम गराउन हस्ताक्षर गरे । ३८ केन्द्रीय सदस्यले पनि हस्ताक्षर गर्नुभएको थियो,’ भण्डारीले भने, ‘यसैले पार्टीले यो विषयलाई स्वीकारेको निर्णय गर्न अब ढिलाइ गर्नुहुँदैन ।’ 

कांग्रेसको महासमिति बैठकमा डा. शशांक कोइरालाले पनि हस्ताक्षर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्