
अहिलेको समयमा ‘फास्टफूड’ र सफ्ट ड्रिंक्स सबैका लागि दैनिक उपभोग्य वस्तुजत्तिकै स्थापित छ । अझ गर्मीको समयमा त सफ्ट ड्रिंक्स अझै बढी रोजाइमा पर्ने गर्छ ।
सबैभन्दा बढी १४ वर्षदेखि १७ वर्ष उमेर समूहका ७८.९ प्रतिशत व्यक्तिले सफ्ट ड्रिंक्स उपभोग गर्ने ‘स्टाटिक्स’ को रिपोर्टले देखाउँछ ।
सबैभन्दा कम ७५ वर्ष उमेर समूहका व्यक्तिले ३३.९ प्रतिशत उपभोग गर्ने गरेका छन् । यो इटलीमा गरिएको सर्वेक्षण हो । सर्वेक्षणले ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकामध्ये ७४.५ ले सफ्ट ड्रिंक्स उपभोग गर्ने गरेको देखाएको छ ।
अहिलेको समयमा साना बालबालिकादेखि वृद्धसम्मले कोल्ड ड्रिंक्स उपभोग गर्ने गर्दछन् । त्यसैले अहिले कोल्ड ड्रिंक्सको बजार तीव्र रूपमा बढेको देख्न सकिन्छ ।
विश्व बजारमा कोल्ड ड्रिंक्सले सन् २०२८ सम्म ४.३९ ट्रिलियनको बजार बनाउने ‘मोर्डर इन्टलिजेन्स’ ले सार्वजनिक गरेको रिपोर्टले देखाउँछ ।
सानै उमेरमा हामीले टेलिभिजन, रेडियो, बजार अथवा कुनै न कुनै माध्यमबाट देखेको/सुनेको नाम हो, पेप्सी कोला । विश्वका २०० राष्ट्रका उपभोक्ता भएको पेप्सी–कोलासँग अधिकांश मानिस कुनै न कुनै रूपमा जोडिएका छन् ।
तराईको गर्मी होस् या बिहेको पार्टी, कतै घुम्न जाँदा होस् या कसैलाई भेट्न जाँदा, कुनै न कुनै रूपमा कोल्ड ड्रिंक्स जोडिएकै हुन्छ ।
विश्व बजारको ट्रेन्डमा २३७ बिलियन बजार पुँजीकरणसहित पेप्सी कोला तेस्रो स्थानमा छ । यसका साथै विश्वका सबैभन्दा ठूला कम्पनीमध्ये ४९ औं नम्बरमा पेप्सी रहेको ‘कम्पनिज मार्केट डटकम’मा उल्लेख छ ।
सन् २०२१ मा पेप्सीले ४२.३९ बिलियन डलर खुद नाफा आर्जन गरेको थियो । सन् २०२२ मा ४५.८१ बिलियन डलर खुद नाफा कमाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.०६ प्रतिशतले बढी हो ।
गत वर्ष सन् २०२३ मा पेप्सीले ४९.५९ बिलियन डलर खुद नाफा कमायो ।
गत वर्ष पेप्सीको नाफा ८.२४ प्रतिशतले बढेको थियो । त्यस्तै, सन् २०२४ को जुनसम्म पेप्सीले ५०.११ बिलियन खुद नाफा कमाइसकेको छ ।
पेप्सी–कोलाले कारमेल, डाइट पेप्सी, पेप्सी ट्विस्ट, पेप्सी लाइम, पेप्सी, एनिमल चेरी, क्रिस्टल पेप्सी, क्याफिन–फ्रि पेप्सी, पेप्सी–कोला मेड विथ रियल, पेप्सी भेनिला, पेप्सी जिरो सुगर, पेप्सी म्याक्स र नाइट्रो पेप्सी गरी १३ भेरियन्टमा उत्पादन गर्ने गर्दछ । यसका, साथै बजारमा उपलब्ध माउन्टेन ड्यु पनि पेप्सी कोलाअन्तर्गतकै उत्पादन हो ।
नेपालमा सन् १९७३ मा भित्रिएको पेप्सी–कोलाको बिक्री वितरण बरुण बेभरेज (नेपाल) लिमिटेडले गर्दै आइरहेको छ ।
भारतबाट पेप्सी–कोलाका बोतलहरू ल्याएर म्यानिफ्याक्चर शुरू भएको पेप्सी–कोला नेपालमा लोकप्रिय ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।
यसरी सुरुवात भयो पेप्सी कोलाको
आजभन्दा १२६ वर्षअघि सन् १८९८ अगस्त महिनामा ‘कालेब ब्राड हम’ले पेप्सी–कोला बनाएका थिए । त्यतिबेला अमेरिकी र युरोपेली राष्ट्रमा फास्ट फूड र पेय पदार्थको क्रेज क्रमशः बढ्दो थियो ।
बजारमा मानिसहरूले फास्ट फूड अथवा कुनै पनि खानेकुरा आएपछि पेय पर्दाथ खोज्ने गर्दथे । कालेब ब्राडहमले सबैले खोजिरहेको पेय पदार्थ बनाउने निर्णय गरे । उनले शुरूमा मीठो र भिन्न स्वाद भएको कुनै नाम नभएको पेय पदार्थ बनाए । त्यसपछि एउटा स्वादको कोला अर्थात् पेय पदार्थलाई बजारको प्रतिक्रिया लिनका लागि ल्याए । त्यतिबेलादेखि नै हो पेप्सी–कोलाले स्थान बनाउन शुरू गरेको ।
संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलाइनामा जन्मेका ‘कालेब ब्राडहम’ ले पहिलोपटक सफ्ट ड्रिंक्सका रूपमा पेप्सी बनाएका थिए । सन् १८९३ मा ‘कालेब ब्राडहम’ ले ‘कोला नट’ र ‘भेनिला’को रेसीपी बनाए, जसलाई उनले ‘ब्रान्ड्स ड्रिंक्स’ भनेर चिनाए ।
सन् १८९८ मा आएर कालेबले आफूले बनाएको पेय पदार्थको नाम ‘पेप्सी कोला’ राखे ।
त्यसको करिब ४ वर्षपछि उत्तरी क्यारोलिनामा स्थापीत कम्पनीका रूपमा ‘पेप्सी कोला’ले नियमित उत्पादन शुरू गर्यो । यसबीचमा सन् १९०३ मा पेप्सी कोलाले आफ्नो ‘ट्रेडमार्क’ पनि दर्ता गरायो ।
सन् १९६० मा पेप्सी–कोलाले आफ्नो उत्पादनमा तीव्र प्रतिस्पर्धा गरिरहेको थियो । यसका साथै पेप्सीले उपभोक्ताहरूलाई नयाँ स्वाद दिँदै नयाँ–नयाँ भेरियन्ट बजारमा ल्याइरहेको थियो । यसैबीच पेप्सीले ‘माउन्टेन ड्यु’लाई अक्वायर गर्यो ।
सन् २००० सम्म आइपुग्दा पेप्सी–कोलाले विश्व बजारमा तीव्र प्रतिस्पर्धा गरिरहेको थियो । त्यसपछि पेप्सी कोलाले आफ्ना उत्पादनमा अन्य प्रोडक्टहरू थप्यो ।
अहिले सन् २०२४ सम्म आइपुग्दासम्म पेप्सी–कोलाले निरन्तर एकै स्वादमा उपभोक्ताहरूलाई कोल्ड ड्रिंक्स प्रदान गरिरहेको छ ।