२८ असार २०८३, आइतबार
प्रहरीसम्बन्धी नयाँ कानून निर्माण प्रक्रिया

कानून मन्त्रालय पुग्यो प्रहरीसम्बन्धी ऐन, गृहमै फर्किएपछि मन्त्रिपरिषद्‌मा लैजाने

प्रहरीको ३० वर्षे सेवाअवधि तीन वर्षमा हट्ने, सशस्त्रमा तत्काल लागू हुने
भदौ २९, २०८१
काठमाडौं
कानून मन्त्रालय पुग्यो प्रहरीसम्बन्धी ऐन, गृहमै फर्किएपछि मन्त्रिपरिषद्‌मा लैजाने

नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ राय-परामर्शका लागि कानून मन्त्रालयमा पुगेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाश उमेर पुनरवलोकन गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदन अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि विधेयक कानूनमा पठाइएको गृह मन्त्रालयका कानून महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले जानकारी दिए ।

उनका अनुसार विधेयक ऐन बनेर लागू भएलगत्तै सशस्त्र प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने छ । प्रहरीको विधेयकमा भने अरु व्यवस्था तत्काल लागू भए पनि ३० वर्षे सेवाअवधि हट्ने विषय ऐन लागू भएको तीन वर्षमा हट्ने उल्लेख छ । 

सशस्त्र प्रहरीको विधेयकमा प्रहरी महानिरीक्षकको पदावधि तीन वर्ष, एआईजीको तीन वर्ष, डीआईजीको ५ वर्ष र एसएसपीको ८ वर्ष हुने उल्लेख छ । त्यस्तै सशस्त्रको वरिष्ठ हवल्दारदेखि तलका १६ वर्षमा पेन्सन पाक्ने उल्लेख छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र त्यसमाथिका दर्जाको २० वर्षमा पेन्सन अवधि हुने व्यवस्था विधेयकमा राखिएको छ । 

प्रहरीको विधेयकमा यसअघि महानिरीक्षकको ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष सिफारिस गरिएकोमा गृहले पुनः छलफल गरेर एआईजीको पदावधि तीन वर्षकै कायम गरेर पठाएको छ । 

उमेर हदमा दुवै संगठनमा एउटा व्यवस्था समेटिएको छ । जसमा  महानिरीक्षकको ६० वर्ष, एआईजी र डीआईजीको ५८ वर्ष, डीएसपी र प्रहरी निरीक्षकको ५७ वर्ष, वरिष्ठ सईदेखि सहायक निरीक्षकसम्म ५४ वर्ष, वरिष्ठ हवल्दारदेखि जवानसम्मको ५१ वर्ष र कार्यालय सहयोगीको ५५ कायम गरिएको गृह स्रोतले जनाएको छ । दुवै विधेयकमा उमेर हद बढाउने र पेन्सन अवधि घटाउने विषय समेटिएका छन् । त्यस्तै पूर्वानुमानयोग्य बढुवा र सरुवाको व्यवस्था समेत ऐनमै गर्न लागिएको गृहले जानकारी दिएको छ । 

सशस्त्रको मुख्य जिम्मेवारी सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपदमा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने भएकाले सेवा विशिष्टीकृतलाई विधेयकमा ध्यान दिइएको छ । 

मूल्यांकन अंकमा पनि एकरूपता समेटिएको स्रोतले जानकारी दियो । जसमा कार्य सम्पादन मूल्यांकनबापत् ५०, जेष्ठतामा २७, शैक्षिक योग्यतामा ७, तालिममा ८, चुनौती वा विशेष जिम्मेवारीमा ५ र बढुवा समितिले दिने अंक ३ गरी १०० पूर्णाङ्क कायम गरिएको छ । 

गृहमन्त्री रमेश लेखकले मन्त्री भएको १०० दिनमा  दुवै संगठनको ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा छलफलका लागि पेश गर्ने उद्घोष यसअघि नै गरिसकेका छन् । उनले हालै सरुवा भएर आएका सचिव गोकर्णमणि दुवाडीलाई पनि दुवै विधेयक टुंग्याएर मन्त्रिपरिषद्मा छिटो लैजाने गृह कार्यमा जुट्न निर्देशन दिइसकेका छन् । 

कानून मन्त्रालयमा पुगेको विधेयक राय परामर्शसहित गृहमै फर्किएपछि मन्त्रिपरिषद्मा लैजाने योजना गृहको छ ।

गृहमन्त्री लेखकले दुवै सुरक्षा निकायका प्रमुख र अन्य वरिष्ठ अधिकृतसँग सुझावसमेत मागिसकेका छन् । उनले दुवै संगठनको सुझावबारे भदौ २४ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले नटुंगिएको विषयहरू छिटो टुंग्याएर मन्त्रिपरिषद्मा ल्याउन निर्देशन मात्रै दिएनन्, संघीय प्रणालीअन्तर्गत प्रदेशमा प्रहरी खटनपटन ढिलो भएको बताएका थिए । 

कानून महाशाखाका प्रमुख रिजालले दुवै संगठनको विधेयकमा धेरै विषयमा एकरूपता रहेको बताए । उनका अनुसार नेपाल प्रहरी समायोजनमा जाने भएकाले नयाँ ऐनमा संघीय प्रहरी र प्रदेश प्रहरीबीच समन्वयका विषय राखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्