
पछिल्लो समय यातायातको पहुँच गाउँ–गाउँमा पुगेसँगै कोशी प्रदेशका पहाडी क्षेत्रका कुना–कन्दरासम्म बहुर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका पेय पदार्थ पुग्ने गरेका छन् । बजारमा यत्रतत्र पाइने यस्ता पेय पदार्थको नियमित सेवन गर्नु स्वास्थ्यका दृष्टिले उचित नभएको विज्ञहरूको भनाइ छ । यस्तोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ की ४३ वर्षीया महिला जुनु लावती भने यस्ता पेय पदार्थका विकल्प खोजिरहेकी छिन् । आफ्नै बारीमा उत्पादन गरेका वस्तुहरूलाई तराईका बजारसम्म ल्याएर उनले राम्रो आम्दानीसमेत गरिरहेकी छिन् । उनले गाउँमै माङपाहाङ लावती कृषि उद्योग सञ्चालनमा ल्याएकी छिन् ।
आफ्नै बारीमा उत्पादन भएका किवी, काँक्रा र तिनका परिकार बजार–बजारसम्म पुर्याउने गरेकी छिन् । उनले किवी ४५ रोपनी जग्गामा लगाएकी छिन् । लगाएको सबैले उत्पादन भने दिन थालेको छैन । यस्तै उनले प्रत्येक वर्ष तीन रोपनी जग्गामा काँक्रा रोप्ने गरेको उनले बताइन् । मोरङको कटहरीमा बिहीवारदेखि शुरू भएको एक्सपोमा उनले आफूले उत्पादन गरेका वस्तु लिएर आएकी छिन् । जुनुको स्टलमा धेरैको नजर पर्ने गरेको छ । कारण त्यहाँ तराईको प्रचण्ड गर्मीमा खानका लागि उपर्युक्त पहाडको चिसोमा फलेका काँक्रादेखि रसिलो किवीको जुससमेत पाइन्छ । स्टलमा एउटै काँक्रो आठ किलोसम्मको राखिएको छ ।

जुनु विसं २०६८ सालदेखि व्यावसायिक कृषिमा लागेकी हुन् । त्यहाँभन्दा अगाडि निर्वाहमुखी कृषिमै रमाएको उनले बताइन् । २०७८ सालदेखि आफ्नै उत्पादन लिएर मेला–महोत्सवहरूमा जान थालेको उनले जानकारी दिइन् । उनको आम्दानीको राम्रो स्रोत भने किवी नै हो । नलदेखि फलसम्म बेच्ने गरेको उनले बताइन । ‘फललाई जुस र अचार बनाउँछु,’ उनले भनिन्, ‘नललाई बिरुवा बनाएर बेच्ने गरेकी छु ।’
जुनुले फललाई ग्रेडिङ गरेर मात्रै बेच्ने गरेकी छिन् । ग्रेडिङ गरेर निस्केका ठूला दानालाई बेच्ने गरेको र साना दानाका विभिन्न परिकार बनाउने गरेको उनले बताइन् । किवी बजारमा मूल्य प्रतिकिलो ग्राम २०० देखि ३०० सम्म मूल्य पर्ने गरेको छ । ‘ठूला दानाले राम्रो भाउ पाउँछ,’ उनले भनिन्, ‘साना दानाको दाम भने खासै आउँदैन । त्यसैले किवी स्क्वास, किवी जुस, जाम मिक्स अचार, पेस्ट अचार, किवी वाइन, तीनपाने लगायतका खाद्य पदार्थ बनाएर बेच्ने गर्छु ।’ खाद्य प्राविधिकहरूको सल्लाहअनुसार विभिन्न परिकार बनाउने गरेको उनले बताइन् । किवीको जुस प्रतिलिटर १९५ रुपैयाँमा बेच्ने गरिएको छ ।
अब नेपालमै केही गर्न सक्छन् भन्ने खालमा उमेर पुगेका युवाहरू राजधानी (काठमाडौं)को अन्तर्राष्ट्रिय विमानस्थलमा ताती लागेको देखेपछि जुनुलाई नरमाइलो लाग्यो । ती युवालाई स्वदेशमा त्यसमा पनि गाउँमै केही गर्न सकिन्छ भनेर आफू व्यावसायिक कृषिमा लागेको उनले बताइन् । यसपछि वैदेशिक रोजगारीमा रहेका श्रीमान् बलेन्द्रकुमार राईलाई समेत घर फर्काएर खेती गरेको उनले सुनाइन् ।
‘अर्काको देशमा गरेजति दुःख आफ्नै माटोमा गर्दा आम्दानी हुन्छ भन्ने लागेर श्रीमानलाई पनि बोलाए,’ उनले भनिन्, ‘हामी अहिले खुसी नै छौँ ।’ उनलाई अहिले परिवारका सबैले साथ दिएका छन् । ९० वर्ष पुगिसकेका ससुरा मोहनसिंह राई र छोरा सनमले समेत साथ दिएको उनले बताइन् ।
यसअघि जुनु पाँचथरकै एक निजी विद्यालयमा पढाउने गर्थिन् । उनले आईएसम्मको पढाइ सकेर जागिर खान थालेकी थिइन् । केही वर्ष जागिर खाएपछि उनलाई आफ्ना आफन्तहरूले दिएको सुझाव आफ्नै जीवनमा मेल खाएकोजस्तो लाग्यो । अग्रजहरूले जागिरलाई ‘जा अनि गिर’ भनेर परिभाषा गर्ने गरेका थिए । गएर गिर्नुभन्दा श्रम गर्नु उचित सम्झेर व्यावसायिक बन्ने बाटो खोजेको जुनुको भनाइ छ । ‘हाम्रा अभिभावकले भनेको जसरी नै त मैले जागिरलाई अर्थ लगाउन मिलेन,’ उनले भनिन्, ‘यद्यपि जागिर खानुभन्दा आफ्नै बारीमा मेहनत गर्नुपर्छ भनेर लागेकी हुँ ।’
अहिले आफूसँगै उद्योगका स्टाफू बाँच्ने आधार कृषि नै बनेको जुनुले बताइन । उनले अफसिजनमा ७-८ जना र सिजनमा २० जनासम्मलाई रोजगारी दिने गरेकी छिन् । उद्योगमा श्रीमानको ११ वर्षको वैदेशिक रोजगारीको कमाइसहित गरेर १ करोड रुपैयाँ लगानी गरेको उनले बताइन् ।
‘प्रशोधनमा लगानी गर्दा खर्च बढेको जुनुका श्रीमान् बलेन्द्रले बताए । ‘आम्दानीको हिसाब–किताब खासै राख्दिन,’ उनले भने ‘आठ लाखभन्दा माथि खर्च कटाएर आम्दानी गर्छाैँ ।’ उनीहरूले २०७८ सालबाट प्रशोधन शुरू गरेका हुन् । बजारमा पाइने कृत्रिम पेय पदार्थको विकल्पको रुपमा आफूहरूले किवीको जुस उत्पादन गरेको बलेन्द्रले बताए । ‘पहाडको दुर्गम ठाउँबाट सञ्चालन गरेका साना उद्योगको लगानीले बजारमा स्थापित भएका ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन । यद्यपि, हामी आम उपभोक्तालाई प्राकृतिक पेय पदार्थ पस्किने कोसिस गरिरहेका छौँ,’ उनले भने ।

आफूले उत्पादन गरेको किवीको जुस उपभोक्तासँगै विभिन्न होटलले पनि मन पराएको बलेन्द्रको दाबी छ । ‘किवीको जुस, स्क्वास हामीले जहाँ–जहाँ लगेर चखाएका छौँ । त्यहाँ मन पराइएको छ । ती ठाउँमा निरन्तर माग बढिरहेको छ,’ उनी भन्छन्, ‘महोत्सवमा जाँदा होटलहरूमा सामग्री राख्न आग्रह गर्दा सधैँ ल्याइदिनु भयो भने हामी जंकफूड बेच्दैनौँ भन्नुहुन्छ । तर सडकको पहुँच नपुग्ने गरेकाले सबैतिर पुर्याउन भने सकिएको छैन ।’
विवाह तथा पार्टीहरूमा पनि बजारमा पाइने पेय पदार्थको सट्टामा किवी जुसको माग बढेको बलेन्द्रले बताए । यो जुस बिरामी, सुत्केरी र बच्चाहरूलाई खुवाउँदा राम्रो हुने विज्ञको भनाइलाई उद्धृत गर्दै उनले दाबी गरे ।
एक्सपोमा जुम्लाको स्याउदेखि मार्सीसम्म
कटहरी–१ स्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पोमा आधुनिक खेती प्रणालीका लागि प्रयोग हुने उपकरण औजारदेखि उन्नत प्रविधिबाट उत्पादन भएका तरकारी, फलफूल तथा बिउबिजन राखिएको छ । पहाडका खाद्य तथा नगदे बालीका स्टल रहेका छन् । तराईमा संस्थागत तवरले भइरहेको खेती प्रणालीदेखि पशुपालन व्यवसायसमेत झल्कने वस्तुहरू एक्स्पोमा राखिएका छन् ।
पहाड र हिमालमा उत्पादन हुने चीज, घ्यू, राडी–पाखी, अल्लोका कपडा, अलैँची, एभोकार्डाे, काँक्रा फर्सी, मह र अचारदेखि हुम्ला–जुम्लाको स्याउ र इलामको किवी जुससमेत मेलामा राखिएको छ । एक्पोमा भोजपुरको खुकुरीदेखि शहरका घरमा तरकारी खेतीका लागि आवश्यक पर्ने नयाँ प्रविधिसमेत रहेको छ ।
आइतवारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारका दाल र स्याउ, झापाको गाउँले अचार र नमूना अचार, पाँचथरका काँक्रा र किवीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् ।