०६ साउन २०८३, बुधबार
ध्यान नपुगेको पाटो

सडक विस्तारका क्रममा मासिँदै ‘भ्यालुएबल’ रूख, किन हरायो अन्यत्र सार्ने सफल योजना ?​​

असोज ४, २०८१
बुटवल
सडक विस्तारका क्रममा मासिँदै ‘भ्यालुएबल’ रूख, किन हरायो अन्यत्र सार्ने सफल योजना ?​​

वर्षौं लगाएर हुर्काएका रूख विकास निर्माणका क्रममा मास्नुपर्छ । विकसित मुलुकले ठूला रूख स्थानान्तरण गरेर चाहेको स्थानमा हरियाली गराउने गर्छन् ।

रूपन्देहीको बुटवल–बेलहिया (सुनौली) सडक खण्ड विस्तार गर्दा त्यहाँ रहेका ठूला रूख लुम्बिनीमा स्थानान्तरण गरिएको थियो ।

दश वर्षअघि थाइल्यान्डबाट वन प्राविधिक ल्याएर थाई बिहारले सडक दायाँ–बायाँका ठूला रूख अन्यत्र सार्ने देशकै पहिलो प्रयासलाई सफल बनाएको थियो । ३ दर्जनभन्दा बढी ठूला रूख अहिले पुरानै अवस्थाको जस्ता देखिन्छन् । 

बुटवल–नारायणगढ सडक खण्ड विस्तार गर्दा हजारौं रूख काटिए । अहिले फेरि बुटवल गोरूसिंगे सडक विस्तार गर्दा शीतलता प्रदान गर्ने औषधीय गुणयुक्त ठूलो बर, पिपल, स्वामी, आँपलगायतका रूख स्थानान्तरणको बहस उठेको छ ।

null

३६ किलोमिटरको यो खण्डमा ७ हजार रूख काट्नुपर्ने अवस्थाका छन् । धेरै पुरानाभन्दा ४० वर्षसम्मका रूख स्थानान्तरण गरेर पुरानै अवस्थामा फर्काउन सकिने वन प्राविधिकहरू बताउँछन् । 

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना अधिकृत केशव खड्काले रूखलाई क्रेनले उखेलेर जराको आकार अनुसार खाडल बनाई रोप्न सकिने बताए ।

‘शहरी क्षेत्रमा वृक्षरोपण गर्न र ठूला रूख एक ठाउँबाट उखेलेर अर्को ठाउँमा सार्ने टिनेबल मशिन किन्न दुई आर्थिक वर्ष गरेर ६ करोड रुपैयाँसम्म बजेट पनि विनियोजन गरिएको हो,’ खड्काले लोकान्तरसँग भने, ‘पहिलो वर्ष टेन्डर परेर त्यसपछि कसैले इन्ट्रेस्ट देखाएनन् । किनेर ल्याएपछि त्यसलाई हाम्रो प्राविधिकले चलाउन सक्ने हुन् कि होइनन् भन्ने कुरा आएपछि योजना नै हरायो ।’

खड्काले थपे, ‘शहरी क्षेत्रका लागि यो अत्यावश्यक काम हो । विदेशमा ठूला रूख स्थानान्तरण गरिन्छ । सडक विस्तार गर्दा वा अन्य विकासका काम गर्दा हटाउनुपर्ने रूख खाली ठाउँ र अतिक्रमण भएका क्षेत्रमा लगाउन सकियो भने हरियाली र सुन्दरता हुन्छ । यस्तो काममा अब मन्त्रालयको मात्र होइन, प्रदेश सरकारकै चासो र प्राथमिकता आवश्यक छ ।’ 

जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणका क्रममा वातावरणमैत्री योजना नबन्दा पर्यावरणको क्षेत्रमा चुनौती थपिँदो छ । सडकका वरपर हुने अधिकांश रूख बढी अक्सिजन प्रवाह गर्ने मात्रै नभई वातावरणलाई शुद्ध बनाइराख्ने औषधीय गुणयुक्त हुन्छन् ।

शहरी क्षेत्रमा सडक विस्तारका क्रममा रूख हटाउनुपर्ने भएपछि त्यसको सट्टामा अन्यत्र अर्थात् खाली ठाउँमा वृक्षारोपण गर्नुपर्ने वन नियमावलीमा व्यवस्था छ ।

null

सोही नियमावलीअनुसार सडक विस्तारका क्रममा काटिने अर्थात् हटाउने रूखहरूको सट्टामा सडक विभागले वनसँग मिलेर अन्यत्र नयाँ ठाउँमा नयाँ बिरुवा रोप्नुपर्छ । वन नियमावलीमा यही व्यवस्था भएकाले सबै फाइल तयार पारेर वन विभागमा पठाइएको बुटवल–गोरूसिंगे सडक विस्तार आयोजनाका कार्यालय प्रमुख होमबहादुर एसीले बताए ।

सबै खर्च बेहोर्ने गरी वन भनेर तोकिएको क्षेत्रफलमा नयाँ बिरुवा रोपिने इन्जिनियर एसीको भनाइ छ । 

वन क्षेत्रमा रहेका असंख्य रूखलाई अन्यत्र सार्न नसकिए पनि बस्तीमा शितल छहारी दिइरहेका कल्पवृक्षसहितका रूखलाई जोगाउने उपाय खोजी गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

null

युरोप–अमेरिकातिर रूख–बिरुवालाई अस्थायी रूपमा कुनै ठाउँमा रोपिराखेर सडक विस्तारपछि बन्ने ‘ग्रिनरी बेल्ट’ (मेडियन) मा पुनः ल्याएर रोप्ने गरेको भएपनि नेपालमा भने त्यस्तो अभ्यास अझै हुन नसकेको वातावरणविद् डा. खेटराज दाहालको भनाइ छ । शहरी क्षेत्रका सडकमा रहेका चौतारीसहितका रूखलाई जोगाउनेबारे बेलैमा ध्यान नजाँदा त्यस्ता उपकरणको समेत प्रयोग हुन नसकेर हुर्किएका कैयन कल्पवृक्ष मासिएको डा. दाहालको बताए ।  

वन तथा भूसंरक्षण विभागले यस्ता रूख सार्ने एउटा पनि उपकरण नभएको जनाएको छ । आवश्यक उपकरण नभएको र आयोजनासमेत कार्यान्वयनमा गइसकेकाले अहिलेलाई रूख सार्ने काम सम्भव नभएको विभागको भनाइ छ । 

विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले वातावरणीय क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकासे आयोजनालाई प्रभावित नगर्ने गरी अनुमतिको प्रक्रिया अगाडि बढाइएको बताए ।

null

यो खण्डमा पर्ने रूख काटेपछि एउटा रूखको सट्टा १० वटाका दरले नयाँ रूख रोपेर हुर्काउने बेलासम्मको सबै खर्च प्रबन्ध गर्न पनि विभागले सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ ।

सडक विस्तारका लागि सबै प्रक्रिया पूरा भएर ठेक्का सम्झौता गरी आवश्यक प्रक्रियासमेत अगाडि बढिसकेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारको ठेक्का पाएको छ ।

बुटवलदेखि पश्चिम कपिलवस्तुको गोरुसिङ्गेसम्म ५० किलोमिटर सडक खण्डलाई २ प्याकेजमा विभाजन गरेर निर्माण गर्ने गरी १३ अर्ब ५५ करोड ९५ लाख रूपैयाँमा गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।

अहिले ‘साइट क्लियर’ गर्ने प्रक्रिया चलिरहेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले फिल्डको थप अध्ययन भइरहेको बताएको छ र अबको दशैंतिहारलगत्तै काम अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका आयोजना प्रमुख इन्जिनीयर कुशलता न्यौपानेले आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले अब निर्माणको प्रक्रियामा जाने बताइन् । यो खण्डमा वन क्षेत्र धेरै पर्ने भएकाले रूख कटान, सट्टामा नयाँ रुख रोप्ने कामका कारण प्रक्रिया लामो भएको हो । सगँसँगै  विद्युतका पोलसमेत सार्नुपर्ने भएकाले सम्बन्धित निकायमा समन्वय गरेर सहजीकरण गरिसकिएको इन्जिनियर न्यौपानेको भनाइ छ ।

null

सडकको क्षेत्राधिकारमा पर्ने रूखहरू काट्ने र सट्टामा अन्यत्र नयाँ रूख रोप्नेसम्बन्धी वनसँग सम्बन्धित सबै काम वन तथा भूसंरक्षण विभागबाटै हुने उनले प्रस्ट्याइन् । 

वन नियमावलीअनुसार एउटा रूख काट्ने हो भने त्यसको सट्टामा अरू १० वटाका दरले ७० हजारभन्दा धेरै नयाँ बिरुवा खाली जमिन खोजेर रोपेर हुर्काउनुपर्ने हुन्छ । यसका लागि लाग्ने सबै खर्च सम्बन्धित आयोजनाले वन विभागसँग समन्वय गरेर बेहोर्नुपर्नेछ । यसका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

तौलिहवा वन डिभिजन कार्यालय, कपिलवस्तुका प्रमुख अजित कर्णले वन विभागसँग समन्वय भइरहेको र सडक विस्तार आयोजनालाई आवश्यक निर्देशनसहितको सहजीकरण पनि भइरहेको बताए । 

null

‘शहरी सडक क्षेत्रमा हुर्केका रूख बचाउने उपाय खोज्ने विषयमा वन तथा भूसंरक्षण विभागमा छलफल भएपनि अहिलेसम्म त्यस्तो प्रावधानको कार्यान्वयन भएको छैन,’ कर्णले भने, ‘भ्यालुएबल (वर, पिपल, समी, आँप, सिमल, कदमलगायत) रूख बचाउनुपर्ने हो, तर अहिले त आयोजना नै कार्यान्वयनमा गइसकेकाले सम्भव भएन ।’

विदेशका कैयन मुलुकमा 'भ्यालुएबल' रूखलाई महत्त्व दिने गरे पनि नेपालमा बेवास्ता हुँदै आएको उनको स्वीकारोक्ति छ ।

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् भने १४९ वटा कल्भर्ट र छवटा ‘अन्डर पास, ओभर पास’ निर्माण हुनेछन् । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुनेछ । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने काम अर्थमन्त्री विष्णु पौडेल पहलमा अगाडि बढेको हो । 

salt training

कमेन्ट गर्नुहोस्