
रवीन्द्र मिश्र संग्राहलयमा परिणत भइसकेको जीर्ण दरबारको राजनीतिक दुर्गन्ध बोकेर गणतन्त्रको हेडक्वार्टर (प्रचण्ड निवास) पुगे । फर्किएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले आशय यसरी व्यक्त गरे मानौं कि- त्यो गणतन्त्र हेडक्वार्टर विगतप्रति पश्चाताप र हिनताबोधमा छ । त्यतिमात्र होइन यतिबेला गणतन्त्र राजा महेन्द्रको दुर्लभ बासनादार पर्फ्युमको दिवाना छ । महेन्द्रको पर्फ्युम नपाएपनि ज्ञानेन्द्रको पर्फ्युमले चित्त बुझाउने मनस्थितिमा छ । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो भेटघाटको आशय माओवादी र राजावादीबीच सहकार्यका लागि हो भन्ने देखाउन खोजेका छन् । र, त्यो सम्भव छ भन्नका लागि उनले निकै जोडबल गरेको देखिन्छ । त्यसका लागि उनले दुईवटा विषय हाइलाइट्स गरेका छन् ।
पहिलो– प्रचण्ड यथास्थितिमै अब मुलुक अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् भन्ने विषयलाई उनले बोल्ड गरेको देखिन्छ । अर्को– प्रचण्डले युद्धकालीन समयको पार्टी अन्तरसंघर्ष स्मरण गर्दै आफू राजा र दरबारप्रति नरम रहेको भन्ने कुरालाई मिश्रले बोल्ड गरेका छन् । गएको एकसातादेखि उनले माओवादी अध्यक्ष प्रचण्डसँगका आकस्मिक र निर्धारित भेटघाटका साथै आफ्ना अभिव्यक्तिको श्रृंखलामा पनि माओवादी–राजावादी सहकार्यको सम्भावनालाई इंगित गर्दैछन् ।
के मिश्रले भनेजस्तो सहकार्य सम्भव छ ?
आम माओवादी पंक्ति राजावादीसँगको सहकार्यको कल्पनासम्म गर्न सक्दैन । राजनीति सम्भावनाको खेल त हो । तर निचता र विचलनताको त्यो पराकाष्टा पनि होइन, जति सजिलो रवीन्द्र मिश्रजीहरूलाई लाग्ने गर्छ । साम्यवाद र सामन्तवाद दुई विपरीत ध्रुव हुन् । एउटा शासकीय शैलीमा डिजाइन भएर र अर्को संघर्षको आँधी हुरीसँग सामना गरेर हुर्केको हुन्छ । एउटामा वंशजको रजगज मूल प्रवृत्ति हुन्छ, अर्कोमा आफ्नो पाखुरा र विवेकको । एउटाले सम्भ्रान्तवर्गको प्रतिनिधित्व गर्छ, अर्कोले भुइँमान्छेहरूको । यसर्थ राजावादी र माओवादीका बीच सैद्धान्तिक रुपमै आकाश–जमिनको फरक भएकाले सहकार्य सम्भव छैन ।
दोस्रो– माओवादी गणतान्त्रिक व्यवस्थाको माउ पार्टी हो । यो संविधान, यो व्यवस्था र यो राजनीतिक प्रणालीभित्रका सबै उपलब्धि माओवादीकै सोच र विचारका परिणाम हुन् । खासगरी डेमोक्रेसी (लोकतन्त्र), ब्युरोक्रेसी (कर्मचारीतन्त्र) र जुडिसियरी (न्यायालय)मा पछिल्लोपटक विकास भएका प्रवृत्ति, चरित्र र मूल्य–मान्यताहरूको श्रेय माओवादीको भागमा छ । हाम्रा केही कार्यशैली, केही सीमा, केही कलात्मक पक्षमा रहेका समस्याले जनमत हाम्रो पक्षमा आउन सकेन । तर यो राजनीतिक प्रणाली र यस व्यवस्थाका मूल जिम्मेवार हामी हौं र हामी नै यस व्यवस्थाको पहिलो संस्थापक हौं । अढाइ सय वर्ष लामो संस्थापनलाई सत्ताच्यूत गरी आफू संस्थापनको लाइनमा उभिएका हामीले राजावादीसँग साइनो–सम्बन्ध राख्ने, घाँटी जोड्नुपर्ने र सहकार्य गर्नुपर्ने कुनै कारण नै छैन ।
तेस्रो– सहकार्य समानान्तर हैसियत र प्रभावशाली शक्तिहरूसँग हुन्छ । दरबार हाल जीर्ण संग्राहलयमा परिणत भइसकेको छ । राजतन्त्र हाम्रा पाठ्यक्रमको इतिहासको विषयवस्तु बनिसकेको छ र पूर्वराजा एक साधारण नागरिकमा रुपान्तरण भइसकेका छन् । जहाँसम्म राजतन्त्रको विचारधारात्मक लिगेसी बोकेको संस्थाका रुपमा एउटा राप्रपा भन्ने पार्टी छ, त्यो गणतन्त्रको संविधानको सीमाभित्र छ । त्यो सत्तामा जाँदा गणतन्त्रवादी बन्छ, बाहिर निस्कँदा राजावादी हुन्छ । राष्ट्रपतिबाट शपथ लिएर सरकारमा सहभागी हुने पार्टी, प्रदेशमा चुनाव लड्ने पार्टी कसरी राजावादी र एकात्मक राज्यको पक्षमा हुन्छ ? त्यो बाटोको अलमलमात्र हो । भू–मध्य रेखा रवीन्द्रजीको रुचिको विषय हो र उनी त्यहीँ अन्योल र अकर्मन्यताको मध्यविन्दुमा छन् । त्यस्ता अन्योल, अस्पष्ट र अकर्मन्यतामा फसेका शक्तिहरूसँग सहकार्य गर्नुपर्ने बाध्यतामा माओवादी छैन ।
व्यापारी राजाले आफ्नो ‘बिजनेस’मा धक्का नपुग्ने हदसम्मको शक्ति बचाउनुबाहेक कुनै राजनीतिक महत्वकांक्षासहित सक्रियता बढाउने छैनन् । अब राजालाई सेरेमोनियल किङ, कल्चरल किङ र बेबी किङजस्ता कार्ड फालेर राजनीतिक बजारको गहिराइ नाप्नुपर्ने संक्रमणकाल बाँकी छैन । अझै पनि उनलाई एउटा अवसर चाहिँ दिन सकिन्छ । जसरी पनि उनको नामका पछाडि किङ (राजा) नजोडी केही शक्तिहरुलाई निन्द्रा पर्दैन भने ती शक्तिहरूले उहाँलाई बिजनेस किङ घोषणा गरे हुन्छ । अन्यथा इतिहासले कुँडा–कर्कटका रुपमा किनारातर्फ हुत्याइसकेको शक्ति र व्यक्तिलाई बोकेर कुनै प्रकारको राजनीतिक मुभमेन्ट असम्भव छ ।
जसलाई गलहत्याउन हजारौंले आफूलाई बलिवेदीमा होमे, हजारौं ‘अपाङ्ग’ भएका छन् । शरीरभित्र गोलीको छर्रा राखेर बाँचिरहेका सयौं योद्धा साक्षीका रुपमा अझै छन् । कैयौं आमाले आफ्नो काख रित्तो बनाएका छन्, धेरै भाउजुले सिन्दुर पुछेका छन् । जेल–नेल, यातना र हिरासतका कथा भन्ने कमरेडहरूको उमेर अझै बुढ्यौलीले छोएको छैन । केही साथीले शाही सत्ताको गणमा त केहीले रणमा आफ्नो कोटा चुक्ता गरे । रगतका ज्वारहरूसँग हुत्तिएर संयोग र सौभाग्यले बाँचेका हामीले सिंहासनबाट समसानघाटमा पुगेको राजतन्त्रलाई पुनः ब्युँताउनुपर्ने कुनै कारण छैन । सामन्ती निरंकुशता, दमन अनि शाही यातना र प्रताडनाको क्रुर र निर्मम इतिहासलाई कठिन संघर्षद्धारा किनारा लगाएका जनता फेरि अत्याचारको त्यो कालो युग निम्त्याउन कुनै हालतमा तयार हुने छैनन् । ‘शाही पृष्ठभूमिको वरिपरिबाट मात्रै नेपालको शासन–प्रशासन सम्भव छ । एउटा पूर्खाको गौरवगाथाभित्र मात्र देशको सीमाको भविष्य छ र कुलिनतन्त्र मात्रै संसारको उत्कृष्ट व्यवस्था हो’ भन्ने भ्रममा अब नेपाली जनता छैन । यसर्थ राजतन्त्रको विम्बमा कसैलाई वुद्धिविलास गर्न रहर भए बेग्लै हो, अन्यथा अब त्यो राजनीतिक भविष्यको विषय कहिल्यै रहने छैन ।
रवीन्द्रजीले हेक्का राख्नुपर्ने हो माओवादी आन्दोलनले कडा शाही शासनमा पनि तुलसी गिरी र केशरजंग रायमाझीहरू जन्माएको छैन । महाराजको जुनाफमा पुष्प गुच्छा अर्पण गरेको र पाउमा लम्पसार परेको इतिहास माओवादीको होइन । सिंगो पृथ्वी आफैँले रोकेको भ्रममा हुने गरी सत्ताको हाली–मुहाली गरिरहँदाका श्री ५ हरूलाई त हामीले ‘न्याकेट’ र ‘नेक्लेट’ गरेकै हौं । अब शक्तिक्षय, कान्तिक्षय, विश्वास, शाहस र सामथ्र्यक्षय गुमनाम भूमिगत शैलीका पूर्वराजासँग सहकार्य गरौँला त ? छतमा एक कप कफी पिएर त्यसै कपमा तुफान सिर्जना त गर्न सकिएला, तर राजतन्त्र हाम्रो त्यो इतिहास हो जसको वर्तमानमा फिर्ताको कल्पना गर्नु मानव जातिको आजको नेतृत्व चिम्पान्जीले गर्न सक्छ भन्नुजस्तै हो ।
रवीन्द्रजीलाई लाग्दो हो सत्ताबाट बाहिरिनुको पीडाले छट्पटाएको माओवादी, कांग्रेस–एमालेको अलि लामो सहकार्यको सहमति, सत्तारुढ दलहरूले उठाएको संविधान संशोधनको मुद्दा, ०८४ को निर्वाचनमा कसैसँग सहकार्य नगर्ने सत्तारुढ दुई ठूला दलको निर्णय आदिले प्रचण्ड बैचैन छन् । ठीक यहीबेला कन्भिन्स गर्न सकियो भने माओवादी राजावादीसँग हात मिलाउन आइपो हाल्छ कि ! त्यो भ्रममा उनी नपरे हुन्छ । माओवादी त्यस्तो भ्रममा पर्न सक्दैन । माओवादी भुइँ तहमा जान्छ, भुँइमान्छेहरूसँग सहकार्य गर्छ । भुँइमान्छेहरूकै पक्षमा गरिने दृढ प्रतिबद्धता, उनीहरूकै पंक्तिमा उभिने प्रवृत्ति र उनीहरूसँगकै हातेमालो माओवादीको मूल प्रवृत्ति हो । त्यही प्रवृत्तिले मात्रै माओवादीलाई फेरि परिपक्व र तन्नेरी बनाउँछ ।