![घाट नै बगाएपछि बाटैमा गरियो मृतकको दाहसंस्कार, छाती पिट्दै रोइरहन्छन् सर्वस्व गुमाएकाहरू [भिडियो स्टोरी]](https://lktcdn2.prixacdn.net/media/460596489_900863618575363_1402532366855508541_n_An8m3K8PAc.png)
पनौती नगरपालिका वडा नम्बर १२ स्थित भालेश्वर मन्दिर तलको घाटमा आइतबार अपराह्न एक ३४ वर्षीय युवा सञ्जीव केसीको अन्त्येष्टिको सुरसार हुँदै थियो ।
कम्तीमा आधा दर्जन सानो ठुलो पहिरो पार गरेर लोकान्तर टिम त्यहाँ पुग्दा मलामीका रूपमा केही स्थानीय जम्मा भएका देखिन्थे । वातावरण सुनसान र स्तब्ध थियो ।
निरन्तरको झरीपछि शुक्रवार राति १२ बजेपछि आएको पहिरोले केही समय विदेश बसेर आएका र होटेल व्यवसायमा हात हालेका सञ्जीवको ज्यान लिएको थियो ।
रोशी खोलाको माथिल्लो क्षेत्रबाट आएको पहिरोमा परी उनी त दिवङ्गत भए तर उनको परिवार भने सकुशल रह्यो ।
उनी पल्लो गाउँ आफ्नो साथीको घर गएका रहेछन् । पहिरोमा परी उनीसँगै उनको साथीको ६ जनाको परिवारको ज्यान गएको थियो ।
पनौतीको वडा नम्बर १२ का लगभग सबै घरमा पहिरोले क्षति पुर्याएको छ । विद्युत्, पानी र मोबाइल नेटवर्कबाट पीडितहरू विच्छेद भएका छन् । ठुला ठुला कङ्क्रिटका घर उत्तानो परेका छन् ।
स्थानीयले सबै दोष रोशी खोलाको उपल्लो क्षेत्रमा गरिएको माटो र बालुवा र अन्य प्राकृतिक स्रोतको दोहनलाई दिएका छन् ।
बाढीमा परी बल्लतल्ल ज्यान जोगाएका स्थानीय शालिकराम लामिछाने भन्छन्, 'यो वडामा सग्लो घर पाउन मुस्किल छ । ज्यानको क्षति कम भए पनि धनको क्षति अर्बौँमा भएको छ ।'
शुक्रवार राति आएको भयङ्कर बाढी र पहिरोमा परी सर्वस्व गुमाएकाहरू अहिले एउटा बोरामा केही सामान लिएर साथीभाइ र आफन्तको घरमा बास माग्न पनौतीतिर झारिरहेका देखिन्छन् ।

बिहीबार बेलुकासम्म हराभरा र लोभलाग्दो देखिने रोशी बजार अहिले पूर्ण रूपमा ध्वस्त भएको छ । लोकान्तर टीमले यसबारे विस्तृत भिडियो रिपोर्टिङ तयार गरेको छ ।
हामी बाढीले पुर्याएको क्षति हेर्न भालेश्वर मन्दिर नजिकैको घाटबाट थप कष्टपूर्ण यात्रा गरेर केही माथि पुगेका थियौँ ।
केही स्थानीयहरू माटोले पुरेका आफ्ना थाल कटौरा जम्मा पार्दै थिए भने केही रुँदै छाती पिटिरहेका देखिन्थे ।
आफ्नो तीन तले पक्की घर गुमाएकी भवानी केसी अलि सुरक्षित रहेको आफन्तको घरमा आश्रय लिएकी छन् ।
लोकान्तरसँग उनले भनिन्, 'राति एक्कासि बाढी आउन थाल्यो । घरमा मसँगै दुई छोरा, बुहारी र नाति थियौँ । धन्न धन्न हामी जोगियौँ तर बाढीले करोडौँको घर छोडेन । ४ रोपनी खेत पनि छैन ।'

वडा नम्बर १२ का वडाध्यक्ष जयराम केसी भने स्थानीय सरकार अहिलेसम्म उद्धारमै लागेको बताए ।
उनले भने, 'शुक्रवार र शनिवार त हामी उद्धारमै लाग्यौँ । आज अघि भर्खर पनि एउटा हेलिकप्टरमार्फत घाइते र अपाङ्गता भएकाको उद्धार गरियो । अब एक दुई वटा जेसीबी ल्याएर यहाँ कमसेकम पानी र अन्य खाद्यान्न आपूर्ति गर्ने योजना बनाइरहेका छौँ ।'
हेर्नुहोस् भिडियो: