
केहीदिन अगाडि आएको वर्षासँगको बाढीले ठूलो धनजनको क्षति गरेको छ । दशैंको मुखमा सडक तथा पुलहरू बाढीले बगाउँदा जताततै आवतजावतमा समस्या भएको छ ।
तर, मुख्य राजमार्गमा भएको क्षतिको यकिन विवरण भने कोशी प्रदेश सरकारसँगै छैन । राष्ट्रिय राजमार्गमा भएको क्षतिको विवरणबाहेक प्रदेश सरकारसँग कुनै तथ्यांक छैन ।
प्रदेशमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक महाशाखा प्रमुख रमेश कुमार श्रेष्ठले बताए । अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण संकलन गर्ने काम मात्रै भएको महाशाखा प्रमुख श्रेष्ठले बताए ।
धेरै जिल्लामा सडकको सम्बन्धविच्छेद भएको छ । पाँचथरको हेवा खोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि मेची राजमार्गसँग सम्बन्ध नै टुटेको छ । बेलिब्रिज बगाएपछि सडकसँगको सबन्ध टुटेको र अस्थायी रूपमा खुलाउने प्रयास भइरहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए । ‘आजदेखि नै फेरि पानी पर्छ भनिएको छ,’ उनले भने, ‘अझ के हुने हो टुङ्गो छैन ।’
मेची राजमार्गको इलाम–फिदिम सडक खण्डअन्तर्गत हेवा खोलामा रहेको पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । त्यसपछि २९ दिन लगाएर कोशी प्रदेश सरकारले बेलिब्रिज बनाएको थियो ।
तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईँ र मुख्यमन्त्री हिक्मत कार्कीले बेलिब्रिज बनाउन छुटाएको बजेट बाँडेर आ–आफ्नो क्षेत्रमा लगेका थिए । बाढीले पुल बगाएपछि चर्काे विरोध भएको थियो । त्यसपछि बेलिब्रिज बनाइएको हो ।
उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीमा रहेको फोक्सिङटार जोड्ने पुल पनि बाढीले बगाएको छ । खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो ।
पुलिबगाएपछि तीन घण्टाभन्दा बढी घुमेर मात्रै खोटाङ आइपुगिने अवस्था बनेको खोटाङ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
उदयपुरदेखि दक्षिणतिरका खोटाङ ओखलढुङ्गा सोलुखुम्बुलगायत जिल्ला जान धेरै घुम्नु पर्ने उनले बताए । १२० मिटर लामो पुलमध्ये २० मिटर बगाएको छ,’ उनले भने, ‘बेलिब्रिज लगाउनुपर्छ भनेर यहाँ चर्चा त शुरू भएको छ । तर खोला नघटेसम्म त्यो पनि सम्भावना छैन । दशैंमा आवतजावतमा समस्या नै होला ।’
भत्किएका पुल, बाटो तथा कल्भर्टहरू पुर्ननिर्माण गर्न प्रदेश सरकारलाई दबाब छ । भौतिक पुर्वाधार विकास मन्त्री भुपेन्द्र राईले भने दशैंअगाडि मर्मत गर्दा चल्ने झोलुङ्गे पुलहरू र अबरुद्ध भएका सडकहरू खुलाउने काम मात्रै गर्न सकिने बताए ।
गत बिहबिारदेखि तीन परेको वर्षाले कोशीसहित बागमती प्देशमा ठूलो क्षति गरेको थियो । कोशी प्रदेशमा बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु भइसकेको छ । दर्जनभन्दा बढी घाइते भएका छन् भने आधा दर्जनभन्दा बढी बेपत्ता छन् ।
प्रारम्भिक विवरणअनुसार बाढीपहिरोले कोशीमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । ३९ वटा कच्ची घर पूर्णरूपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।
१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र ६ वटा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेको प्रहरीले जनाएको छ ।