
काठमाडौं, १९ कात्तिक — उत्तर कोरियाले कडा आर्थिक प्रतिबन्ध झेलिरहेका कारण त्यहाँका जनताले भोकभोकै बस्नुपरेको खबर आइरहेको हुन्छ ।

संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका कारण यस देशमा समस्या परेको हो । अहिले त्यहाँको अर्को एउटा रहस्य खुलेको छ ।
खाना कम उत्पादन भएका कारण मानिसहरू भातसित इन्जोगोगी खान बाध्य छन् । इन्जोगोगी नक्कली मासु हो । सोयाबीनको तेलका अवशेषलाई थिचेर र रोल गरेर यो मासु बनाइन्छ ।
यसका साथै मिठाईका रूपमा यहाँ स्पीड केक पनि खाइन्छ । यो केकलाई बेकिङ गरिरहनुपर्दैन ।
यस किसिमका भोजनमा प्रोटीन र फाइबर भेटिन्छ अनि मांसपेशीलाई तन्दुरुस्त राख्नुका साथै भोक पनि छिटो मेटिन्छ ।
उत्तर कोरियामा औसत रूपमा मानिसहरू कुपोषित छन् । सन् २००९ मा भएको एक अध्ययनअनुसार, उत्तरमा प्रिस्कूल जाने बच्चाहरू दक्षिण कोरियाली बच्चाहरूको तुलनामा १३ सेन्टिमिटर होचा र सात किलो हलुका हुने गर्छन् ।
संयुक्त राष्ट्रसंघको खाद्य नियोग वर्ल्ड फूड प्रोग्रामका अनुसार, उत्तर कोरियाली एकै किसिमका खाना खान्छन् ।
उनीहरूको प्रमुख आहार चामल, मकै, किम्ची र बीन पेस्ट हो । यसबाट आवश्यक फ्याट र प्रोटीन उनीहरूले पाउँदैनन् ।
रोयटर्सको एक रिपोर्टअनुसार, देशमा पब्लिक डिस्ट्रिब्युसन सिस्टमले ७० प्रतिशत जनसंख्यालाई रासनपानीको प्रत्याभूति गर्छ ।
तर यसको बाबजुद ६१ प्रतिशत उत्तर कोरियालीले खानाको आधारभूत आवश्यकता पूरा गर्नका लागि बजारमा निर्भर रहनुपर्छ ।
उत्तर कोरियामा धनी मानिसहरू पोर्क खान्छन् । सामान्य जनता चाहिँ कुकुर, खरायो जस्ता जनावरको मासु खाएर जिन्दगी बिताउँछन् ।
देशमा उत्पादन भएका सागपात, मकै र सस्ता चामलहरू पनि खाइन्छ ।
उत्तरबाट भागेका मानिसहरूका अनुसार, प्योङयाङका केही प्रभावशाली मानिस मात्र सबै किसिमको डाइट पाउँछन् । उच्च ओहदाका सरकारी अधिकारी खसी र हरिणको मासु पनि खान्छन् ।
एजेन्सी