अहिले सिंगो देशको ध्यान पोखरातिर मोडिएको छ । सहकारी ठगी सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएपछि सबैको ध्यान त्यता केन्द्रित भएको हो ।
पोखराले सबैको ध्यान तानिरहेका बेला प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने मोरङमा गाउँपालिका अध्यक्षको उपचुनावमा केन्द्रित भएको छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले उम्मेदवार तोकिसकेको छ ।
कात्तिक ५ गते सोमबार एक कार्यक्रमका बीच माओवादीले नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि उपनिर्वाचन तोकेको छ । ०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । हृदयाघातका कारण उनको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभाको निर्वाचनका लागि तत्कालीन कांग्रेस–माओवादी गठबन्धन भेलामा सहभागी भएका बेला उनलाई हृदयाघात भएको थियो ।
माझीलाई गत भदौ २९ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका थिए । उनी यसअगाडि कांग्रेसमा थिए ।
जनयुद्धको समयमा उनी माओवादीकै कारण लखेटिएका थिए । २०४५ सालमा नेविसंघमार्फत राजनीति थालेका उनी २०५१ सालमा महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको उम्मेदवार बनेका थिए । तर, १७ मतले पराजित हुन पुगे ।
२०५४ सालमा लखन्तरी गाउँविकास समिति अध्यक्षको उम्मेदवार भएका उनी २ मतले विजयी भए । उनले एमालेका महेश माझीलाई पराजित गरेका थिए । २०५९ मा उनले ५ वर्षे कार्यकाल पूरा गरे ।
तत्कालीन विद्रोही माओवादीको जनयुद्धको असर उनीमाथि पनि परेको थियो । कांग्रेसलाई ‘खोजी–खोजी, एमालेलाई रोजी–रोजी’ भन्ने माओवादीको नाराले आफूलाई समेत छोएको उनले बताए । त्यतिबेला जनप्रतिनिधिहरूको खर्च र जनप्रतिनिधिले पाउने सुविधा धेरै फरक रहेको उनी बताउँछन् । आफूले आर्थिकरूपमा ठूलो नोक्सानी खेप्नुपरेको उनले बताए ।
२०५६ सालमा जग्गा समेत बेच्नुपरेको उनले बताए । ‘मेरो सेवासुविधा १५ सय मात्रै थियो,’ उनले भने, ‘जनताको अपेक्षा धेरै थियो । पछाडि नहेरी अगाडि मात्रै हेर्ने गरेकाले मैले ३ विगाह जमिन पनि बेच्नुपरेको थियो ।’
आर्थिक नोक्सानीसँगै माओवादीको समेत निशानामा परेपछि उनी विस्थापित भएका थिए । त्यसपछि उनी विदेश पलायन भए ।
माओवादीबाट विस्थापित भएपछि उनी २०६० सालमा मलेसिया गएका थिए । मलेसियामा ४ वर्ष बिताएर उनी २०६७ सालमा फर्किए । त्यसपछि यूएई गएर ७ वर्ष बिताए । २०७४ मा स्वदेश फर्किएर विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवारलाई चुनाव जिताउन आएको बताए । चुनावी अभियानमा खट्दा आफ्नो क्रेज देखेपछि उनी आफैं उम्मेदवार बने । ग्रामथान– १ को वडाध्यक्षमा उनी ८२८ मत ल्याएर निर्वाचित भएका थिए ।
पछि विजय गच्छदारको पार्टी कांग्रेसमा समाहित भएको थियो । त्यतिबेला कांग्रेसले काम गर्न नदिएको उनले बताए । कांग्रेसले जनताका काममा अवरोध पुर्याएको उनको आरोप रहेको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा उनी पालिका अध्यक्षको रेसमा थिए । तर, उनले टिकट पाएनन् । अध्यक्षमा स्वतन्त्र उठ्न खोज्दा माहोल नबनेपछि वडाध्यक्षमै उम्मेदवारी दिए । ७१८ मत ल्याएर कांग्रेसका सुरेशकुमार माझी निर्वाचित हुँदा उनले ५५४ मत ल्याए । २०७९ को निर्वाचनपछि कांग्रेसमा निष्क्रिय रहेका उनी भदौ २९ गते माओवादी प्रवेश गरेका हुन् ।
माओवादीबाटै विस्थापित भएका उनी अहिले माओवादीकै उम्मेदवार बनेका छन् ।
‘कांग्रेसले राणाहरूसँग लड्दा क्षति भएको थियो । एमालेले झापा आन्दोलन गर्दा पनि क्षति भएको थियो । राज्यसँग लड्दा अलिअलि क्षति हुन्छ । माओवादीले त अढाई सय वर्ष जकडिएको तानाशाही राजसंस्थालाई हटाउन १० वर्षे जनयुद्ध गर्नुपरेको हो,’ उनले भने ।
माओवादी पनि राज्यसँगको लडाईं अन्त्य भएपछि विकास निर्माणमा केन्द्रित भएको उनको भनाइ छ । देश निर्माणमा लागेपछि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान माओवादीले नै चलाएको उनले बताए ।
‘तीन तहको सरकार बनाउने मोडल त माओवादीकै हो । मोडल बनायो, गाडी बनायो, त्यो गाडी चलाउनलाई कुशल ड्राइभर नभएपछि आज नेपाली जनताले समावेशिताको सिद्धान्तबाट जुन सेवा पाउनु पर्ने हो, त्यो पाउन सकिरहेका छैनन्,’ उनले भने ।
चुनाव जित्नेमा आफू ढुक्क रहेको माझीले बताए । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीका कारण माओवादीमा प्रवेश गरेका हुन् । मोदी माओवादीबाटै प्रतिनिधिसभा सदस्य छन् ।