
प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइले जंगेपिलर नै नाघेको छ । उनलाई केपीले मध्यरातमा धोका दिएको कुराबाहेक अरू केही भन्नुजस्तो लाग्दैन ।
धेरै वर्षअगाडि मेरा एक साथी प्रेमिका भेट्न गएका थिए । चुम्बन गर्न खोज्दा खैनी भेटिएछ । त्यही खैनीका कारण उनीहरूको बिछोड भएको थियो । तीन महिना बितिसक्यो, तर मौका मिल्यो कि प्रचण्डले पनि आफूले धोका पाएको कथा सुनाउन हतार गर्छन् । थाहा छैन, केपी ओलीको दराजमा कस्तो खैनी थियो, त्यो पक्कै दुर्गन्धित हुनुपर्छ ।
कुनै समय केपी ओलीको संगत गरेर केही नपाए पनि 'ज्ञान पाएँ' भनेर आफैंलाई सान्त्वना दिने प्रचण्डको व्यथा हेर्दा लाग्छ, केपीको संगतले उनलाई पूर्ण सन्तुष्टि थिएन । भ्यागुताले जति खाए पनि पेट नफुटे जस्तै माओवादीहरूको चाहना पनि कहिल्यै पूरा भएन । यिनीहरू सरकारबाट बाहिरिन पर्यो कि अनिकाल लागेझैँ कराउँछन् ।
जति कराए पनि प्रचण्डको आनीबानी भने मिलनसार छ । उनी कहिले कांग्रेससँग, कहिले एमालेसँग त कहिले राप्रपासँग मिल्छन् । अहिले उनी रास्वपासँग मिलेका छन् । यो मिलन खानका लागि नभई देश परिवर्तनका लागि भएको बताइन्छ । तर, देश परिवर्तनका नाममा केपी ओलीलाई भ्रष्टाचारीको बिल्ला भिराउँदै सहकारी ठगहरूको संरक्षण गर्नु पर्ने अवस्था आएको छ ।
अहिले रास्वपाका नेताहरूले विभिन्न हाउभाउ देखाउँदै आन्दोलन गरिरहेका छन् । उनीहरूको यो अवस्था एक प्रकारको ‘Do or Die’ (गर या मर) स्थितिजस्तो हो । उनीहरूले रवि निर्दोष छन् भनेर मात्र होइन, रवि बाहिर निस्किएपछि ‘मेरा लागि तिमीहरूले के गर्यो ?’ भनेर प्रश्न गर्दा जवाफ दिन सकियोस् भनेर घाँटीको नशा फुलाउँदै चिच्याइरहेका छन् । त्यसैका लागि अहिले सडकमा ताण्डव मच्चाइएको छ ।
रास्वपाका नेताहरूले मात्र होइन, प्रचण्डले पनि रविलाई खुशी पार्नका एकदिने आन्दोलन गर्नुपरेको छ । चितवनबाट प्रचण्डलाई गोरखा भगाउने व्यक्ति रवि नै हुन् । तर, अब प्रचण्ड कतै भाग्न चाहँदैनन् । उनी चितवनबाट नै जित्न चाहन्छन् । त्यसका लागि रविको दु:खमा साथ दिनु प्रचण्डको बाध्यता हो । यसै क्रममा, भरतपुरकी मेयर रेणु दाहाल पनि केपी ओलीको विरोध गर्न काठमाडौं आइन् । रास्वपा सभापति लामिछानेले चुनाव जितेको चितवनमा रेणु दाहालको नागरिक अभिनन्दन हुने सम्भावना पनि छ ।
वल्लो चोकमा नीलो क्रान्ति र पल्लो चोकमा रातो क्रान्ति सम्पन्न गरिएको छ । न्याय र सुशासनका लागि सडकमा गरिएको यो डबल धमाका पहिलोपटक हो । दुई दशकमा मन्त्रिपरिषद्को शपथ सबैभन्दा धेरै माओवादी नेताहरूले खाएका छन् । तर, आज तिनै नेताहरू प्रदर्शनी मार्गमा उभिएर भ्रष्टाचारीको अनुहार खोजिरहेका छन्, मानौं भ्रष्टाचारी भनेको कुनै वस्तु हो, जो घर फर्किने बाटो बिर्सेर कतै हराएको छ ।
अस्तिसम्म अर्थ मन्त्रालयमा जनार्दन (शर्मा) र वर्षामान (पुन)हरू पालैपालो हावी थिए । देशका नामुद भ्रष्टाचारीहरू उनकै वरिपरि घुमिरहेका थिए । आफ्नो पार्टीका कार्यकर्ताहरूका लागि भने ती दफ्तरका ढोका बन्दजस्तै थिए । तर, ओली र शेरबहादुर देउवाका कार्यकर्ताहरूका लागि यिनीसँगको सम्बन्ध कफी पिउने साथीहरूझैं थियो । तिनलाई लाग्थ्यो, 'हाम्रो म्याजिक नम्बरको सरकार स्वरसम्राट नारायण गोपालको गीत जस्तै अजर-अमर छ ।'
केपी ओलीको मन्त्री बन्न पार्टी फुटाएर एमालेमा जान तम्सिएका मनुष्यहरूले एक बारको जुनीमा केपी ओलीविरुद्ध खबरदारी गरेरै छाडे । यिनीहरूले एउटा मन्त्री पदका लागि माओवादी पार्टी नै विघटन गर्न सक्छन् । माओवादीहरूले माग्ने बुढाको जिम्मेवारीजस्तै भूमिका खेलेका छन् । शुरूमा माग्छन्, नदिए फेरि माग्छन् । तर, उनीहरूको माग कहिल्यै सानो हुँदैन । माग्नु परे प्रधानमन्त्री पद नै माग्छन् ।
बालुवाटारको दफ्तरबाट केपी ओलीले मच्चाएका काण्डहरू प्रचण्डका काण्ड पनि हुन् । सिंहदरबारबाट ओलीले गरेका कुकर्महरू प्रचण्डकै कुकर्म पनि हुन् । सहकारी ठगहरूको रक्षाकवच बनेर सुशासनको पक्षमा खबरदारी कार्यक्रम चलाउने कुरा त विजय शाहीले ‘म मरेको मान्छेलाई बचाउँछु’ भनेजस्तै हो । हाँस्नका लागि अब मुन्द्रे, बान्द्रे या फुलन्देको कमेडी शो हेर्नुपर्दैन ।
स्वर्ग र नर्कको फन्टुस उदाहरण दिएर ओलीले आफूलाई धोका दिएको भन्दै हिँडिरहेका छन्, प्रचण्ड । तर वास्तविकता के हो भने धोका दिएको जनताले हो । धोका दिएको मतपत्रले हो । धोका दिएको मतपेटिकाले हो । र, धोका दिएको मतगणनाले पनि हो । जोसँग गहिरो प्रेम हुन्छ, उसले दिएको धोका लामो समयसम्म मनमा गढिरहन्छ । तर, ओली र प्रचण्डको प्रेम तथा धोकाको कथा सुनेर जीवन कटाउने फुर्सद जनतासँग छैन ।
चरम बेरोजगारी र गरिबीले प्रताडित नेपाली जनताको यो दुःखको पहाड सय दिनमा सिर्जित भएको होइन । भोगविलासको जीवन बिताइरहेका भाग्यविधाताहरूको भाग्य यो सय दिनमा मात्र खोसिएको पनि होइन । यिनीहरूको स्वार्थकेन्द्रित राजनीतिका कारण आजका कलिला युवा देश बुझ्न नपाउँदै विदेश जान बाध्य छन् । प्रचण्डले अरूलाई रोजगारी सिर्जना गर्नुपर्ने हो, तर आफैं बेरोजगार झैँ भएर सडकमा निस्किएका छन् ।
सरकारलाई प्रश्न गर्ने नैतिक अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई मात्र छ, किनकि उनी विगतका सत्तामा प्रत्यक्ष संलग्न छैनन् । सडकमा निस्किएर प्रचण्डले कोलाहल मच्चाउनु गणतन्त्रको बदनाम हुनु हो । जनताको दुःखको जवाफदेही केपी ओली नभएर प्रचण्ड हुन्, किनकि दुई दशकसम्म यस राज्यमा उनीहरूको प्रभाव रहँदै आएको छ । भ्रष्टाचार र बेतिथिका सवालमा सबैभन्दा बढी जवाफदेही कोही छ भने त्यो प्रचण्ड नै हो ।
तर, आज प्रचण्ड सहकारी ठगहरूको रक्षाकवच बनेर सडकमा उत्रिएका छन् । कुनै बेला माओवादीले २ रुपैयाँ ब्याज बढी लिने साहुलाई पनि 'सामन्ती' करार गर्दै भौतिक आक्रमणको रणनीति अपनाएको थियो । तर, आज अर्बौं रुपैयाँ ठगी गर्नेहरूलाई पक्राउ गरेकोमा माओवादी दु:खी देखिन्छ । न्याय दिनेभन्दा चुनाव जित्ने कुरा नै प्रधान ठानिएको छ ।

प्रतिपक्षको नेताको रूपमा आफूलाई बलियो बनाउन खोजिरहँदा प्रचण्ड सहकारी पीडितहरूको पक्षमा साँचो सहानुभूति दिन चुकिरहेका छन् । नेपालभर लाखौं सहकारी पीडित छन्, गाउँदेखि शहरसम्म । तर, यिनीहरूको पक्षमा गरिएका जनस्तरका आन्दोलनमा माओवादीको उपस्थिति देखिँदैन । बरु, कांग्रेसजस्तो बुर्जुवा पार्टीले पीडितहरूको पक्षमा निरन्तर आवाज उठाइरहेको छ ।
जीबी राईलाई मलेसिया सरकारले नेपाल फर्कन रोकको होइन । उनलाई प्रचण्ड नेतृत्वको सरकारले नै नेपाल फर्काउन नचाहेको हो, किनकि उनी फर्के सरकार ढल्न सक्थ्यो । अब सरकार ढलेसँगै जीबी फर्कने सम्भावना बढेको छ । यसरी रविलाई खुशी पारेर सरकार टिकाउन माओवादी मन्त्रीहरूले राहदानी फुकुवामा सहजीकरण गरेर जीबीलाई विदेश पठाएका हुन् । योजनाबद्ध ढंगले आफैंले भगाएको पात्रलाई ‘फेला पार्न सकिएन’ भनेर जनतालाई उल्लु बनाइरहेका छन् ।
प्रचण्डले संसद्को मञ्चमा उभिएर रवि लामिछानेलाई निर्दोष भनेर दाबी गरेका थिए । रवि लामिछानेविरुद्धका आरोपहरूलाई बेवास्ता गर्दै प्रचण्डले आफूलाई लोकप्रितावादीको कित्तामा उभ्याए । ठीक त्यही समयमा रविले सरकारी संयन्त्र दुरूपयोग गरेर आफूविरुद्ध उजुरी र मुद्दा दर्ता हुन दिएनन् । आफूमाथि छानबिन गर्न खोज्ने प्रहरीको सरुवा गरे ।
रविको दोहोरो राहदानीको मुद्दा अगाडि बढ्न रोक्नु र जीबी राईलाई माओवादी सरकारले नै भगाउनुजस्ता घटनाहरूले गम्भीर कानूनी र नैतिक प्रश्न उठाएका छन् । यसरी आफ्नो राजनीतिक स्वार्थका लागि कानूनी प्रक्रियालाई हतोत्साहित गर्ने प्रयास भइरहेको छ । रविको रिहाइको मागसहित भइरहेको आन्दोलनमा बल पुग्ने गरी माओवादी सडकमा ओर्लिनुले प्रचण्ड रास्वपासँग राजनीतिक सहकार्य गरेर लाभ लिने रणनीतिमा छन् भन्ने देखिन्छ ।
यसप्रकारको निर्णयले माओवादीलाई क्षणिक लोकप्रियता त दिन सक्छ । सम्भवतः उनलाई प्रधानमन्त्रीको कुर्सीमा फर्किन पनि मद्दत गर्न सक्छ । तर, अहिले प्रचण्डसँग प्रधानमन्त्री बन्ने जनमत छैन र आवश्यक राजनीतिक वैधता पनि छैन । प्रचण्ड आफू लोकप्रिय भएको भ्रम पालेर बसेका छन् ।
कैलाश सिरोहिया र रविको लामिछानेको सम्बन्ध मिडिया उद्यमीको रूपमा प्रतिस्पर्धात्मक भूमिकामा आधारित थियो । रवि कान्तिपुरभन्दा अगाडि बढ्न चाहन्थे । त्यतिबेलै उनीहरूको इगो संघर्ष शुरू भएको थियो । उनीहरूको लडाइँ राजनीतिक नभएर व्यावसायिक थियो । गृहमन्त्री बनेपछि रविले सिरोहियालाई विनाप्रमाण पक्राउ गरे । हस्तलिखित सरकारी कागजातको कमजोरीको फाइदा उठाएर सिरोहियालाई अनागरिक ठहर गर्नेको प्रयास भयो । प्रचण्ड रमिता हेरेर बसे ।
नेपालमा लोकप्रिय बन्नका लागि अरू केही गर्नु पर्दैन; केवल राजावादी बने पुग्छ । केही दिनअगाडि र हिजोको जुलुस हुनु अघिल्लो दिन प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको हल्ला फैलाइएको थियो । यो हल्ला अरू कसैले नभएर प्रचण्डकै सचिवालयका मान्छेहरूले चलाएका थिए । प्रचण्डले अब कुनै राम्रो काम गर्लान्, नगर्लान्, आफूलाई लोकप्रिय बनाउन जे गर्नुपर्छ, त्यो सबै गर्छन् । यदि दुर्गा प्रसाईंको लोकप्रियता देखेर प्रचण्डमा ईर्ष्या उत्पन्न भएको हो भने त्यो झन् उदेकलाग्दो कुरा हो ।
माओवादी नेतृत्वलाई आफ्नो मान्छेभन्दा बढी अरूप्रति भरोसा छ । काठमाडौंमा रहेका ढुलमुले राजावादीलाई सडकमा निकाल्न सकिन्छ कि भन्ने अभिप्रायका साथ यस्तो घिनलाग्दो कार्य गरिएको हो । रवि लामिछाने हिरासतमा पुगेपछि प्रचण्डले आफू पनि हिरासतमा पुगेको अनुभव गरेका छन् । रवि जेल गए भने प्रचण्डले आफू पनि जेल गएको अनुभव गर्नेछन् । किनकि उनले रविलाई निर्दोष ठहर्याउँदै राजनीतिक समर्थन गरेका थिए ।
आफूलाई अन्तिम समयसम्म साथ दिने व्यक्तिको पीडामा सहानुभूति जाग्नु स्वाभाविक नै हो । तर, ध्यान दिनुपर्ने कुरा के छ भने माओवादीको समानुपातिक मतभन्दा नेपालमा सहकारी पीडितहरूको संख्या धेरै छ । आज लगभग प्रत्येक परिवारमा एकजना सहकारीपीडित छन् । पीडकको पक्षमा उभिने कुनै पनि व्यक्ति माओवादी हुन सक्दैन । माओवादी भनेको पीडितहरूको पार्टी हो । माओवादीलाई मत दिने पनि पीडितहरू नै हुन् ।
अन्यायपूर्ण रूपमा आफ्नै पार्टीका नेता कृष्णबहादुर महरा पक्राउ पर्दा माओवादीले ताली बजाएको थियो । तर, अहिले रवि लामिछाने पक्राउ पर्दा आन्दोलनमा उत्रिएको छ । यसले सत्ताकेन्द्रित स्वार्थका लागि यिनीहरूले केसम्म गर्छन् भन्ने एउटा प्रमाण प्रस्तुत गर्दछ । सत्ताबाट बिरलै बाहिर बसेको माओवादीले अचानक भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन थालेको छ । यस्तो लाग्छ, मन्त्रिपरिषदबाट गर्न नसकेका निर्णय यिनीहरूले सडकबाटै गर्न खोज्दैछन् ।
रवि हिरासतमा छन् र न्यायिक निरूपणका लागि अदालतमा हाजिरी जनाइरहेका छन् । यसका लागि केपी ओलीलाई धन्यवाद दिनुपर्छ । रवि प्रकरणमा विस्तृत कुरा अर्कोपटक लेखौंला । तर, प्रचण्डले रविलाई जोगाउन मरिहत्ते गर्नुपर्दैन । रविका कमजोरीहरू प्रशस्तै छन् । ग्यालेक्सी टीभी रवि र जीबी मिलेर खोलेका हुन् । यसका लागि सहकारीको पैसा खन्याएर घोटाला गरिएको हो । यस्तो कार्यलाई Embezzlement Fraud भनिन्छ । अमेरिकामा भएको बहुचर्चित आर्थिक घोटलाजस्तै Enron Scandal र Bernie Madoff Ponzi Scheme पनि यसरी नै गरिएको थियो । संसारमा यस्ता थुप्रै पूर्व-योजनाबद्ध आर्थिक घोटालाका रणनीतिहरू छन्, जसले लगानीकर्ताको पैसामाथि स्क्याम गरिएका छन् । र, रविले Embezzlement Fraud गरेका हुन् । साधारण अर्थमा भन्दा Internal money laundering भएको छ ।
रविले आफू एमडी भएको कम्पनीमा आएको पैसाको Manipulation of financial records गराएका छन् । आफ्नो नामको खातामा ठूलो रकम आएको छ, तर कताबाट आएको हो थाहा छैन । यस्तो कुरा त Complex Transaction Structures for Fraud भैहाल्यो । ग्यालेक्सी टीभीमा आएको पैसा गोपिकृष्ण सिनेमा हलजस्ता दर्जनौं कम्पनीको नाममा रकमान्तर गरिएको छ । यो Unauthorized Benefits, Privileges and Recognition हो कि होइन ? Unauthorized Access to Funds हो कि होइन?
रविको नाममा बुटवलबाट पैसा आएको छ । तर, उनी त्यो खाता चिन्दिनँ भन्छन् । पैसा भने आफैंले झिकेर चलाएका छन् । यसलाई Identity Theft, Fake Data Entries, Fabricated Documentation र Entities Falsely Asserted गरेको भनेर बुझ्न सकिन्छ । पैसा जम्मा गर्ने रोशनी गुरुङ पुर्पक्षका लागि थुनामा गएका बेला झिकेर खाने मान्छे गृहमन्त्री थिए । यो भन्दा खतरनाक Conflict of Interest अरू केही हुँदैन ।
प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफ्नो पछिल्लो कार्यकालको पूरै अवधि सस्तो लोकप्रियताका लागि बिताए । जनहितका लागि कुनै काम भएनन् । ओली खराब समयमा प्रधानमन्त्री भएका हुन्, तर सहकारी प्रकरण छानबिनको सवालमा प्रचण्डले भन्दा खराब गरेका छैनन् । सडकमा मान्छे उतारेर केपी ओलीको सातो काड्ने तयारीमा प्रचण्ड देखिन्छन् । तर, केपी ओली यस्ता मनुष्य हुन्, जसलाई राक्षससँग पनि डर लाग्दैन ।
अन्तिममा एउटा कुरा– यति पढेर मलाई एमाले भयो भन्ठान्नेहरू मान्छे बन्न नै बाँकी छ ।