२२ असार २०८३, सोमबार

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

कात्तिक २३, २०८१
चितवन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरू गरिएको छ ।

यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरू गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा शुरू गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा शुरू गरिएको हो ।

उनका अनुसार एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा शुरू गरिएको उनले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौं जाने गर्दथ्यो ।

नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा रु ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा रु १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ । 

'छिटो रोग पहिचान गर्न पनि सहज भएको छ,' उनले भने ।

कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्