
हरेक दशैंमा मानिसहरू शहरबाट गाउँ अर्थात् कर्मथलोबाट जन्मथलो फर्किन्छन् । यसपालिको दशैं असोज २६ गते थियो । त्यसअघि नै मानिसहरू सदाझैं घर फर्किरहेका थिए । तर, हामी दुई जना (म र रमेश दाइ) भने दुई दिनअघि (असोज २४ गते) उल्टो बाटो लाग्यौँ । घर जान छोडेर ट्रेकिङ हिँड्यौं । जुन मेरा लागि सपनाजस्तै हुनेवाला थियो ।
वडादशैंको दिन हामी आँखै अगाडि एकै पटक लाङटाङदेखि गौरीशंकर हिमालको दृश्यावलोकन गरिरहेका थियौं । अहो ! त्यो दृष्य, लेखेर म कसरी बयान गरूँ ?
मन फुरुङ्ग भयो । रामकृष्ण ढकालको स्वरमा रहेको गीत नसम्झीरहनै सकिनँ-
‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्
नेपाली श्रम र सीपको प्रभाव दिगान्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तति सगर्व भन्न पाइयोस्
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरु म नर्कमा परूँ
जहाँ पुगे पनि तर नेपाली भन्न पाइयोस्’
साहित्यकार कालीप्रसाद रिजालद्वारा लिखित ‘बिहान उठ्नेबित्तिकै’ कविताका हरेक शब्दहरूको अनुभव मैले पहिलोपटक गरें ।
स्वर्ग त हुन्छ कि हुन्न थाहा छैन । भए कस्तो हुन्छ ? त्यो पनि कल्पनाको कुरा भयो । तर, सूर्य उदाउनुभन्दा अघि एकै पटक लाङटाङ, दोर्जेलाक्पा, जुगल, फुर्पाच्याजुङ, जम्बु पिक, गौरीपर्वत, गौरीशंकर र च्छो-रोल्पा गरी ६ वटा हिमालहरू देख्नु मेरा लागि कुनै स्वर्गभन्दा कम थिएन ।
विद्यालयको वार्षिकोत्सवका दिन ‘बिहान उठ्नेबित्तिकै’ गीत सुन्दा शरीरमा छुट्टै तरङ्ग उत्पन्न हुन्थ्यो । त्यो दिन पनि शरीर तरङ्गीत भयो ।
निकै टाढाबाट हिमालको छायाँ मात्रै देखेको म ४ हजार २ सय मिटर माथिको डाँडामा चढेर आँखै अगाडि ६ वटा हिमालहरू हेरिरहेको थिएँ ।
०००
यात्रा थियो सिन्धुपाल्चोकस्थित जुगल हिमालयको फेदमा रहेको पाँच वटा पोखरीहरूको सुन्दर कुण्ड पाँच पोखरी । भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड गरी पाँच कुण्डहरूले बनेको पाँचपोखरी ४ हजार २ सय मिटरको उचाइमा छ ।
करिब दुई दिन जान र दुई दिन आउनेगरी करिब ५ देखि ६ दिन लाग्ने पाँच पोखरीको यात्रा हामीले ३ दिनमा सकायौँ । मेलम्चीको तीनदोबाटो चोकबाट ४७ किलोमिटरको दूरीमा रहेको पाँच पोखरीको यात्रामा गाउँले परिवेश र रहनसहनका दृश्यहरू हेर्दै शुरू हुन्छ ।

पहिलो दिन
दशैंका लागि सबै मानिसहरू गाउँघर फर्किरहेका थिए । अफिसको काम पनि सुस्त हुँदै थियो । एक दिनपछि बिदा पनि शुरू हुन लागेको थियो । २३ गते बेलुकी अफिसबाट कोठातिर फर्किएँ । काठमाडौंका सडकहरू पनि खाली हुन थालेका थिए । राति खाना खाएपछि रमेश दाइलाई फोन घुमाए ।
मः दाजु दशैंको योजना के छ । कता मनाइँदैछ दशैं ?
रमेशः यसपालि त दशैं छैन नि कान्छा । यतै भइन्छ ।
मः पाँच पोखरी जाऊँ दुई दाजुभाइ ।
रमेशः हेरम के हुन्छ । जाउँला नि !
मः अरू केही थाहा छैन, खुरुक्क जाने हो । दशैं छ भनेर चुप लागेर बसेको थिएँ । हजुरको दशैं छैन के गर्नुहुन्छ त यहाँ ?
रमेशः हुन्छ । त्यसो भए । जाम न त !
एक मिनेटकै कुरामा पाँच पोखरी जाने योजना बन्यो । दुई दाजुभाइ असोज २४ गते काठमाडौंबाट सिन्धुपाल्चोकतिर लाग्यौँ । काँधमा एक झोला, हातमा ट्रेकिङ छडी समाउँदै मोटरसाइकलमा यात्रा शुरू भयो । सबै गाउँघर फर्किरहेको समयमा हामी ट्रेकिङ जाँदै थियौँ र त्यस यात्रालाई उल्टो बाटोको नाम दियौँ ।
बिहान करिब १० बजे काठमाडौं छोडेका हामी नगरकोटको ओरालो झर्दै करिब १०/१२ किलोमिटर लामो बाटो हुँदै साढे १२ बजे मेलम्ची पुग्यौं । त्यसबाहेक पनि करिब १०/१२ किलोमिटर छोटो बाटो चाबहिलबाट रहेछ । जुन राम्रो रहेको कुरा फर्कँदा थाहा पायौँ ।
मेलम्चीसम्मको कालोपत्रे सडकबाट अब गाउँघरको कच्ची सडक खण्ड शुरू भयो । जुन सिन्धुपाल्चोकको छिम्ती बसपार्कसम्म हुनेवाला थियो । मेलम्चीबाट करिब १३ किलोमिटरको कच्ची सडक खण्डपछि थाङपालधाम गाउँपालिका पुगिन्छ । यहाँबाट पाँच पोखरी थाङपाल गाउँपालिका क्षेत्र शुरू हुन्छ ।
थाङपालधापको सिमानाबाट करिब २० किलोमिटरको ढुङ्गा बिछ्याइएको बाटो र ग्राबेल बाटोको यात्रापछि छिम्तीसम्म पुगिन्छ । केही केही ठाउँमा थोरै कालोपत्रे सडक पनि भेटिँदोरहेछ । जुन पहिरोले भत्काइदिएको रहेछ ।
सुन्दर गाउँको दृश्य र बाटो-बाटोमा खसी बाख्रा काटेर पोलेको सुगन्धले दशैं आएको भान हुन्थ्यो ।
ठाउँ-ठाउँमा रोक्दै बाटो सोधेर छिम्तीसम्म पुग्यौँ । तर, निकै ढिलो भइसकेको जस्तो अनुभव भइरहेको थियो । छिम्तीसम्म मात्रै गाडीहरू जान्छ भन्ने सुनेका थियौँ । तर, छिम्तीबाट करिब दुई किलोमिटर परसम्म मोटरसाइकल जाने र त्यहाँ मोटरसाइकल राख्ने ठाउँ पनि रहेछ । यस ठाउँलाई देउराली भनेर चिनिन्छ । मोटरसाइकल देउरालीमा राखेर साढे चार बजे हाम्रो ट्रेकिङ शुरू भयो ।
यहाँबाट पाँच पोखरीको लागि ट्रेकिङ शुरू हुने रहेछ । बसमा आउनेहरू छिम्तीसम्म आएर त्यहाँबाट हिँडेर जान्छन् भने मोटरसाइकल तथा स्कुटरमा आउनेहरू दुई किलोमिटर परसम्म आएर पैदल यात्रा शुरू गर्छन् ।
बाइकमा जानेहरूका लागि कठिन यात्रा शुरू हुन्छ । मेलम्चीबाट पाँच पोखरीका लागि ‘भोताङ छिम्ती’सम्म मात्रै गाडीहरू जान्छन् । त्यहाँबाट करिब २ किलोमिटर माथिसम्म दुईपांग्रे नै लैजाने ठाउँ रहेछ । देउरालीमा बास बस्न होटलहरू छन् ।
देउरालीसम्म आएपछि यहाँबाट पाँच पोखरीका लागि पैदल यात्रा शुरू हुन्छ । बिहीबार बेलुकी ४ बजे देउराली पुगेका हामी त्यहाँ बाइक राखेर साढे ४ बजे पैदल यात्रा शुरू गर्यौँ । त्यहाँबाट करिब साढे दुई घण्टामा हामी बोङदोगाङ डाँडामा पुग्यौँ । दिनभरको कच्ची तथा फुटपाथ सडकको यात्राले थाकेका हामीले बोङदोगाङ डाँडाभन्दा अगाडि नबढ्ने निर्णय गर्यौँ र बिहीबार रातिको बसाइँ बोङदोगाङ डाँडालाई नै बनायौँ ।
असोज २४ गतेको बसाई बोङदोगाङ डाँडामै भयो । दिउँसोसम्म गर्मी नै भइरहेको थियो। जब राति पर्न शुरू भयो पहाडको चिसोले हान्न थाल्यो । रातिको खाना दाल भात र आलुको तरकारीसँगै खाएर सुतियो ।
दोस्रो दिन
बिहानै ५ बजे उठेर जाने सोच बनाएका थियौं । होटलमा केही बैंकका कर्मचारीहरूको टोली पनि पाँचपोखरीका लागि जान आएका थिए । उनीहरूले बिहानसँगै जाने प्रस्ताव पनि राति नै गरिसकेका थिए । बिहान ५ बजे भने पनि होटेलवालाहरूले अलिक ढिलो उठेकोले खाजा बनाउँदा र खाँदा साढे ६ बज्नै लागिसकेको थियो । हामी ती बैंकका कर्मचारीहरूलाई छोडेर साढे ६ बजे बोङदोगाङ डाँडाबाट हिँड्यौं ।
होटल तथा स्थानीयहरूले न्यूनतम ८ देखि १० घण्टा लाग्ने बताएका थिए । अर्थात् उनीहरूका अनुसार बिहान ६ बजे हिँड्यो भने, बेलुकी ५ देखि ६ बजेसम्म पाँच पोखरी पुगिन्छ ।

हामीले कसैको कुरालाई बेवास्ता गर्दै त्यही दिन नै फर्कने कुरा गर्दै हिँड्न थाल्यौँ । हामीभन्दा करिब आधि घण्टा अघि हिँडेका दुई टोलीलाई हामीले २८ सय मिटरको उचाइमा पछाडि छोड्यौं। त्यसबाहेक पनि कतिपय मानिसहरू एक दिनमा पनि पुग्न नसकेर बाटोमा रहेका होटलहरूमा बसेर पाँच पोखरी जाँदै थिए ।
साढे ६ बजे हिँडेका हामी साढे ९ बजे ‘तपखर्क’ पुग्यौँ । जुन ३४०७ मिटरको उचाइमा छ । यहाँसम्म आइपुग्दा सामान्य हिँडाइ नै रहेको थियो । अब केबल करिब ५ किलोमिटरको दूरी मात्रै बाँकी थियो । तर, ३५०० मिटरको उचाइपछि हरेक पाइलाहरू भारी लागेको महसुस हुन थाल्यो । जति जति नजिक पुग्न थाल्यौं त्यति भारी महसुस भइरहेको थियो । काँधमा बोकेको झोलाको भारी बढी भएजस्तो भइरह्यो ।

डरलाग्दो भिरको बाटो अनि त्यसमा चिसो हावाले छातीमै हानिरहेको थियो । तल हेर्दा नै शरीर जिरिङ्ग हुने । माथि हेर्दा ठूल्ठूला ढुङ्गाका चट्टानहरू । हिँड्दै गर्दा एकातिर चिसो हावा अनि त्यसमा आकाशमा उडिरहेका बादलहरूसँग छिन छिनमै भेट हुन्थ्यो ।
मनभित्र डर भए पनि आकाशमा उड्ने बादलहरूले आफूलाई छोएर जाँदा बेग्लै अनुभव हुँदो रहेछ । करिब ५ घण्टाको हिँडाइपछि हामी केही किलोमिटर टाढा मात्रै थियौँ । कहीँ ठाडो उकालो, कहीँ भिरैभिर त कहीँ डरलाग्दो ओरालो । ठ्याक्कै १२ बजेर ३५ मिनेटमा पाँचपोखरीमा पुगियो । यसो समय हेरेर हिसाब गरेको ६ घण्टा ५ मिनेटमा १०.३ किलोमिटरको यात्रा तय गरेका रहेछौँ ।
अब आजै फर्कंर्दा पनि करिब बेलुका रातिसम्म देउराली पुगिने अनुमान थियो । तर, दुवैलाई पाँच पोखरीको दृश्य सूर्य उदाउँदा हेर्नु थियो । त्यसैले २५ गतेको राति पाँच पोखरीमै बस्ने निर्णय भयो । शुक्रबार अरूभन्दा छिट्टै पुगेकोले दिउँसो १ बजे खाना खाएर एक छिन आराम गरियो । अनि ३ बजे पाँच पोखरीको वरिपरि कता कताबाट राम्रो दृश्य देखिन्छ भनेर खोज्न थाल्यौँ । गज्जबको कुरा त के छ भने, हरेक कुनाबाट पाँच पोखरी हेर्दा छुट्टै दृश्य देखिने रहेछ ।

पाँच पोखरीको उत्तर पूर्वी डाँडामा गएर अस्ताउँदै गरेको सूर्यलाई हेरियो र राति सुनको दाँत भएकी बुढी आमाको होटेलमा बस्यौं । सुनको दाँत भएकी आमाको अनुमतिबाट रमेश दाइले कोदोको ढिँडो बनाए र सबैले खायौँ ।
तेस्रो दिन
असोज २६ गते शनिबार । दशैंको विशेष दिन । बिहानै ५ बजे उठेर पाँच पोखरीको भ्यु प्वाइन्टमा पुग्यौँ । ठाडो उकालो हुँदै भ्यु प्वाइन्टमा पुग्नुपर्ने थियो । भ्यु प्वाइन्टमा पुग्नासाथ सबै थकाइ कता हरायो कता । पहिलो पटक पूर्ण रूपमा हिमालको दृश्यले मनै फुरुङ्ग भयो । हिमालहरू त काठमाडौंका डाँडाहरूबाट पनि देखिन्थे । तर, ४ हजार २ सय मिटरको उचाइबाट केही दूरीमै हिमाल देख्नुको अनुभव बेग्लै हुँदो रहेछ । त्यसमा झन एकै पटक लाङटाङ, दोर्जेलाक्पा, जुगल, फुर्पाच्याजुङ, जम्बु पिक, गौरीपर्वत, गौरीशंकर र च्छो-रोल्पा गरी ६ वटा हिमालयहरूले मनलाई झनै उत्साहित र रोमाञ्चक बनायो ।
मनलाई थाम्नै सकिएन । मन फुरुङ्ग भयो । फेरि रामकृष्ण ढकालको स्वरमा रहेको गीत गुनगुनाइयोः
‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्

सूर्य उदाउने पर्खाइमा हामीसँगै अन्य केही व्यक्तिहरू थिए । डाँडैमा चौंरी गाई पाल्दै आएका सार्की शेर्पा दाइको हातबाट ‘शेर्पा ली चिया’ पनि पहिलो पटक खाइयो । चौरीको दूध पनि पहिलोपटक नै खाइयो ।
विस्तारै सूर्यले उज्यालो फैलाउँदै हिमालका सेता डाँडाहरूलाई चिर्दै थियो । अहो ! कुनै चलचित्रमा देखिने दृश्यजस्तै लाग्न थाल्यो । विस्तारै सूर्यको प्रकाश पाँच पोखरीमा पर्न शुरू भयो र पाँच पोखरीको दृश्यमा नयाँ रङ्ग थपिएजस्तो देखियो ।
बिहान ५ बजेतिर पाँच पोखरीको भ्यु प्वाइन्टमा गएका हामी पाँच घण्टापछि होटेलमा फर्कियौँ । यसबीचमा हामी सिन्धुपाल्चोकको जुगल गाउँपालिका भित्रका केही भेगमा गयौं । त्यहाँका स्थानीयसँगै जंगलका जडीबुटीहरू चिन्ने मौका पनि मिल्यो । जिन्दगीको अर्को अनुभव पनि जुगल गाउँपालिकामा भयो । जुन यहाँ लेखेर पुग्दैन ।

२६ गते नै हामी पाँच पोखरीबाट धेरै कुरा सँगै बोकेर फिर्ता भयौँ । बोङदोगाङ डाँडाबाट जाँदा ६ घण्टा लागेको थियो भने फर्कँदा ३ घण्टामै देउराली पुग्यौँ । हामीलाई देखेर बिहान सूर्योदय हेरेर ७ बजे नै पाँच पोखरीबाट फर्केका टोलीहरूले पनि बेग्लाबेग्लै नाम नै दिएका थिए । सबैभन्दा पहिले फिर्ता हुने र पुग्नेमा हामी नै थियौँ । धेरैले पत्याएनन् पनि ।
साढे १२ बजे पाँच पोखरीबाट हिँडेका हामी साढे तीन बजे देउराली पुग्यौँ । बाटोमा हामीसँग पानीको एक बोतलबाहेक केही पनि थिएन । केहीबेर खाजा खाएर देउरालीबाट साढे ४ बजे हिँडेका हामी करिब साढे ९ बजे काठमाडौं पुग्यौँ ।

