
मोरङ क्षेत्र नम्बर- २ का तीन जना सांसदमध्ये दुई जना विवादमा तानिएका छन् । विवादमा तानिएका सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल र प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी दुवै जना नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन् ।
प्रतिनिधिसभा सदस्य पोख्रेल सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।
मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको करिब १२ करोड रुपैयाँ ठगी प्रकरणमा पोखरेलपत्नी अञ्जला कोइराला जोडिएकी छिन् । कोइराला दुई कार्यकाल सञ्चालक समितिको सदस्य भएकी थिइन् ।
कोइराला सञ्चालक भएको बेला सहकारीले बुटवलमा रहेको आरएसडीसी लघुवित्तबाट ऋण लिएको थियो । उक्त ऋण नबुझाएपछि सहकारीले उनीसहित सञ्चालकहरूलाई कालोसूचीमा राखेको छ ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ । सहकारीको कागजात माग गर्दा नदिएपछि कात्तिक १४ गते प्रहरीले सटरको ताला फुटाएर केही कागजात जफत गरेको थियो ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको पाइएको छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले सहकारीका अध्यक्ष धनपालथान ४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध पक्राउका लागि मोरङ जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । तर, सहकारी ठगीमा जोडिएकी पोख्रेलपत्नी अञ्जलाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।
अध्यक्ष रौनियारसहित सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जीतमान ठाकुर छन् ।
यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीमा अनियमितता भएको निष्कर्षसहित छानबिनका लागि दिएको प्रतिवेदनअनुसार अनुसन्धान भइरहेको मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले बताए । ‘प्रतिवेदनअनुसार हामीले अनुसन्धान गरिरहेका छौ,’ उनले भने, ‘प्रमाण भेटिए सबै कानूनी दायरामा आइहाल्छन् नि ।’
स्रोतका अनुसार प्रतिवेदनमा कोइरालाको नाम उल्लेख छैन ।
आफू विवादमा तानिएपछि सभापति पोख्रेलले इमानको राजनीति सक्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै, मानव तस्करीमा जोडिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
उनी एक कार्यक्रममा सहभागी हुन यही कात्तिक १३ गते जापान गएका थिए । उनको भ्रमण दलमा उनकै मन्त्रालयका कर्मचारी बनेर केही युवा जापान पुगेको खुलेको छ ।
अधिकारीसँगै जापान पुगेका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूका साथै पूर्वमन्त्री अधिकारी र नवलपरासीकी अनिता तिम्सिनालाई जापान अध्यागमनले डिपोर्ट गरेको त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईले पुष्टि गरे ।
टोकियो विमानस्थलबाट डिपोर्ट भएपछि मन्त्रीसहित ५ जना काठमाडौं फर्केका थिए ।
अनिताको साथबाट नक्कली कागजात नभेटिएको भट्टराईको दाबी छ । तर प्रहरीले अनिताका बारेमा केही खुलाएको छैन ।
उनी मन्त्रीको जापान भ्रमण टोलीकी सदस्य हुन वा होइनन् भन्नेसमेत प्रहरीले केही खुलाएको छैन ।
नक्कली कागजात बनाउन सघाउने अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङका ३४ वर्षीय महेश पाण्डे, दोलखाका वीरबहादुर सुनार र नुवाकोटका जुगल रिजाल छन् ।
नक्कली कागजात बनाएर मन्त्रीसँगै अन्य मान्छेलाई जापान लैजान योगराज भनिने गोपाल गौतमले भूमिका खेलेको खुलेको छ । गौतम सांसद अधिकारीकै निर्वाचन क्षेत्रका हुन् ।
मन्त्रीको जापान भ्रमण र लेखा समितिका सभापतिको सहकारी प्रकरणले क्षेत्र नम्बर २ का एमालेका कार्यकर्ता समेत अन्योलमा परेका छन् ।
मोरङ क्षेत्र नम्बर- २ को प्रतिनिधिसभामा पोखरेल, प्रदेशसभा १ मा गणेशप्रसाद उप्रेती र प्रदेशसभा २ मा अधिकारी निर्वाचित बनेका थिए ।