०४ साउन २०८३, सोमबार
स्थानीय तह उपनिर्वाचन

अधिकांश स्थानमा कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा, कहाँ को बन्दैछन् उम्मेदवार ?

कात्तिक २५, २०८१
काठमाडौं
अधिकांश स्थानमा कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा, कहाँ को बन्दैछन् उम्मेदवार ?

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा अधिकांश ठाउँमा सत्तारुढ दल कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ । 

केन्द्र र प्रदेशको सत्तामा सँगै भए पनि दुई ठूला दलले आपसमा प्रतिस्पर्धा गरेर जाने गरी धमाधम उम्मेदवार तय गरिरहेका हुन् ।

४४ रिक्त स्थानमा हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले धमाधम उम्मेदवार तय गरिरहेका छन् ।

मंसिर १६ गते २ जिल्ला समन्वय समितिका प्रमुख, १ नगरपालिका प्रमुख र १ उपप्रमुखमा निर्वाचन हुन लागेको हो । 

त्यस्तै, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष ३४ गरी ४४ पदमा निर्वाचन हुन लागेको हो । 

त्यस्तै, कैलाली र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखको पनि निर्वाचन हुँदैछ ।

स्थानीय आवश्यकताको आधारमा अन्तिममा केही ठाउँमा समीकरण बन्न सक्ने भए पनि घोषित रूपमा एक्लाएक्लै चुनाव लड्ने विषय दुवै दलको प्राथमिकतामा छ । कांग्रेस निर्वाचन समितिका सदस्य मधु आचार्य घोषित रूपमा स्थानीय तहको निर्वाचनमा तालमेल नहुने बताउँछन् । 

‘सत्तामा सँगै भए पनि कांग्रेस र एमाले दुवै दलले आ–आफ्नै हिसाबले धेरै ठाउँमा चुनाव लड्ने तयारी गरेका छन् । कांग्रेसले त घोषणा गरेरै एक्लै चुनाव लड्ने बताइसकेको छ’ आचार्यले भने, ‘वामपन्थी एक हौं भन्ने नाराले काम गरे हामीलाई गाह्रो पार्छन् । जति एक्लै चुनाव लड्ने भने पनि चुनावी गणितको रणनीति भनेजस्तो सजिलो हुँदैन । स्थानीय आवश्यकताको आधारमा एकदुई ठाउँमा अन्तिममा एलायन्स बन्न पनि सक्छ । तर, यो केन्द्रको नीतिअनुसार हुने छैन ।’

एमालेको सचिवालय बैठकले शनिबार ४४ मध्ये ३३ उम्मेदवार तय गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सबै ठाउँमा उम्मेदवार अगाडि सारेर जिताउनेतर्फ अग्रसर हुने निर्णय गरेको जानकारी दिए । नेपाली कांग्रेससँग सत्ता समीकरण भए पनि आ–आफ्नो हिसाबले प्रतिस्पर्धा गरेर जाने एमालेको भनाइ छ ।  

मुख्य ठाउँमा कांग्रेस र एमालेबाट को–को बने उम्मेदवार ? 

कीर्तिपुर नगरपालिका

एमालेले कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धर र माओवादीले शिवलाल महर्जनको नाम सिफारिश गरेको छ । राप्रपाले पूर्व मेयर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसबाट उम्मेदवार टुंगिन बाँकी छ । 

ग्रामथान गाउँपालिका 

मोरङको ग्रामथान गाउँपालिकामा कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूले दिए । १७ आकांक्षीमध्ये कांग्रेसले सरदारलाई उम्मेदवार बनाएको हो ।

कांग्रेसबाट जितेका जयप्रकाश गच्छदारको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । गच्छदारको गत असार ३ गते निधन भएको थियो ।

११ जना सिफारिश भएकोमा एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले ग्रामथानको अध्यक्षमा कांग्रेसबाट भित्र्याइएका नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ । 

महाबु गाउँपालिका

दैलेखेको महाबु गाउँपालिकाको अध्यक्षमा हुने उपनिर्वाचनलाई प्राथमिकता साथ हेरिएको छ । कांग्रेसले महाबुको उपाध्यक्षमा झलकबहादुर भण्डारीलाई अगाडि सारेको छ । एमालेले यहाँ उम्मेदवार टुंग्याइसकेको छैन ।  

नलगाड नगरपालिका

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा एमालेले सुनिता बोहोरालाई उम्मेदवार बनाएको छ । कांग्रेसले नलगाडमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाउने भएको छ । 

कांग्रेसबाट निर्वाचित सरिता सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । इन्द्रा स्वर्गीय सरिताकै भाइबुहारी हुन् । पूर्वशिक्षक इन्द्रा कांग्रेसकी क्रियाशील सदस्य मात्रै हुन् ।  

गौरीशंकर दोलखा

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पासदिकी तामाङलाई अगाडि सारेको छ । एमालेले उमा लुंगेली मगर शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । 

माओवादीले निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । यसअघि यहाँ गठबन्धन भए पनि यसपटक दलहरू एक्लाएक्लै प्रतिस्पर्धा उत्रिन लागेका हुन् । 

स्वामीकार्तिक खापर गाउँपालिका

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले नेकपा एकीकृत समाजवादीको साथ लिएर उपाध्यक्षको उम्मेदवार उठाउन खोजेका छ ।

यसअघि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव जितेका थिए । माओवादीका उपाध्यक्षको निधन भएपछि हुन लागेको चुनावमा नेकपा एसले कांग्रेसलाई समर्थन गर्न खोजेको एक नेताले जानकारी दिए ।

एमालेले सुलोचनाकुमार भण्डारी बुढालाई उम्मेदवार बनाएको छ । 

सर्केगाड गाउँपालिका

हुम्लाको सर्केगाडमा एमालेले जाना शाहीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ ।  

रुकुम पूर्व पुथा उत्तरगंगा

कांग्रेसले यसअघिको स्थानीय तह निर्वाचनमा पराजित भएकी कमलाकुमारी मल्ललाई उम्मेदवार बनाउने भएको छ । मल्ल २०१० मत ल्याउँदा माओवादीबाट भूपेन्द्रा बुढा ४०५९ मत ल्याएर विजयी भएकी थिइन् ।

बस दुर्घटनामा उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । एमालेले केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

माओवादीले उत्तरगंगामा ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको हो । 

काठमाडौं– १६ मा सबैको नजर

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं– १६ बाट कांग्रेसका मुकुन्द रिजाल ४०१९ मत ल्याएर विजयी भएका थिए ।

उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यसपटक कांग्रेसलाई वडाध्यक्षको उम्मेदवार टुंग्याउन सकस भएको छ । एमालेले भने यहाँ उम्मेदवार तय गरिसकेको छ । 

यी हुन् उपनिर्वाचन हुन लागेका ४४ पद

जिल्ला समन्वय समिति प्रमुख– २

ओखलढुंगा र कैलाली

नगरपालिका प्रमुख १

काठमाडौंको कीर्तिपुर नगरपालिका

नगरपालिका उपप्रमुख–१ 

जाजरकोटको नलगाड 

गाउँपालिका अध्यक्ष– २

मोरङको ग्रामथान 

दैलेखको महाबु 

गाउँपालिका उपाध्यक्ष– ४

दोलखाको गौरीशङ्कर 

हुम्लाको सर्केगाड 

बाजुराको स्वामीकार्तिक खापर

रुकुम पूर्वको पुथा उत्तरगंगा 

वडाध्यक्ष

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३

झापाको कन्काइ नगरपालिका वडा नं ६ 

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८ 

सुनसरीको गढी गाउँपलिका वडा नं ६ 

ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५ 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ 

बेलका नगरपालिका वडा नं ९ 

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ 

धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ 

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २ 

रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ 

राजपुर नगरपालिका वडा नं ६ 

गढीमाई नगरपालिका वडा नं ८ 

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४ 

काठमाडौँ महानगरपालिका वडा नं १६ 

नुवाकोटको ककनी गाउँपालिका वडा नं २ 

मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२ 

गोरखाको गोरखा नगरपालिका वडा नं ५ 

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ 

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ 

रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ 

कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ 

दैलेखको दुल्लु नगरपालिका वडा नं १३ 

कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४ 

जाजरकोट कुशे गाउँपालिका वडा नं ७ 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ 

रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५ 

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ 

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ 

दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ 

salt training

कमेन्ट गर्नुहोस्