०४ साउन २०८३, सोमबार
निर्देशिका संशोधन

गैर आवासीय नेपालीसहितको कम्पनीले शेयर निकाल्न पाउने, कारोबार एनआरएनबीच मात्र

मंसिर ७, २०८१
काठमाडौं
गैर आवासीय नेपालीसहितको कम्पनीले शेयर निकाल्न पाउने, कारोबार एनआरएनबीच मात्र

नेपाल सरकार र गैर आवासीय नेपाली (एनआरएन)को संयुक्त लगानीमा बन्ने इन्भेस्टमेन्ट कम्पनीले शेयर निष्कासन गर्न पाउने बाटो खुलेको छ । यद्यपि, प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न भने पाइने छैन ।

साथै, यस्ता कम्पनीले निष्कासन गर्ने शेयर गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ मा यस्तो व्यवस्था गरिएको हो ।

यस्ता कम्पनीको शेयर निष्कासन गर्नुपूर्व धितोपत्र बोर्डमा दर्ता गर्नुपर्नेछ । 

शेयर दर्ता गर्नका लागि कम्पनी दर्ता प्रमाणपत्र, कम्पनीको अद्यावधिक प्रबन्धपत्र र नियमावली, कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, कम्पनीको शेयर दर्ता गराउने सम्बन्धमा भएको सञ्चालक समितिको निर्णय, सोसम्बन्धी कार्य गर्न दिइएको अख्तियारी र विदेशी लगानी स्वीकृतिको पत्र पेश गर्नुपर्नेछ । 

२०७९ सालमा सरकारले नेपाल सरकार र गैर आवासीय नेपालीले संयुक्त लगानी गर्न पाउने व्यवस्था गरेको थियो । यसरी बन्ने इन्भेस्टमेन्ट कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले अनुमति दिएका क्षेत्रहरूमा लगानी गर्न पाउने गरी अनुमति दिइएको थियो । 

अहिले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ ले गैर आवासीय नेपालीको संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीलाई सेयर निष्कासनका लागि बाटो खुलाइदिएको हो । 

कम्पनीको शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुने उल्लेख गरिएको छ । तोकिएको अवधिभित्र निष्कासन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनुपर्नेछ ।

दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ । त्यस्तै, शेयर लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भएबमोजिम हुनेछ ।

शेयरमा आवेदन दिनका लागि आवेदकको धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न आश्वा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा विदेशी लगानीसम्बन्धी प्रचलित कानूनी व्यवस्था पूरा गरी आफ्नो नाममा गैरअवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खाता हुनुपर्नेछ ।

आवेदन दिँदा आवेदनका साथ कारोबार गर्ने बैंक खातासम्बन्धी विवरण खुलाउनुपर्नेछ ।

आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैर आवासीय नेपाली नागरिकता वा गैर आवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ ।

आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले गैर आवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट शेयर आवेदन दिने व्यवस्था गर्न सक्नेछ ।

शेयर खरिद गर्न गैर आवासीय नेपालीले खोल्ने खातामा प्रचलित कानूनको रीत पुर्‍याई प्राप्त हुने विदेशी मुद्रा, विनिमय दर लगायतका नेपाल राष्ट्र बैंकले तोकेबमोजिमका विवरण सम्बन्धित आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गरी राख्नुपर्नेछ ।

यस्तो इन्भेस्टमेन्ट कम्पनीको शेयरको कारोबार गैर आवासीय नेपालीबीच मात्र हुनेछ । तर, यस्तो शेयर बाँडफाँड भएको मितिले कम्तीमा १ वर्षसम्म बिक्री गर्न पाइने छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्