
स्याङजा आँधीखोलाको छेवैमा छ, सानो बस्ती । त्यही वस्तीमा ढलान गरिएका घरहरूको बीचमा छ, टिनले छाएको एउटा सानो घर । झण्डै खोलासँगै जोडिएको ।
यही घरमा बस्छ ६७ वर्षीय सोमबहादुर माझीको परिवार । यही आँधीखोलामा सोमबहादुरका सपना मिसिए । आँसु मिसिए । खुशी मिसिए । र, भरोसा पनि यही खोलाले दियो । आँधीखोलासँगको सामिप्यताले सोमबहादुर जीवन निर्वाहलाई भरथेग गरिरह्यो । जुन आज पर्यन्त जारी छ ।
सोमबहादुरको बालापन यही खोलाको पल्लो छेउमा बित्यो । खोलाको पानीसँगै हुर्किए सोमबहादुर । आँधीखोलाको झंकारसँग उनको हृदयको धुन जोडिएको छ । भावना जोडिएको छ ।
२०१७ सालमा जन्मिएका उनको टाउकोमा ओत त थियो तर, घरको छत थिएन । बाबुआमा साहुको घरमा काम गर्थे । खोलाछेउमा रहेको ठाँटीमा ओत लागेर जीवन गुजार्थे उनीहरू । आफ्नो भन्नु घर थियो न जग्गा जमिन ।
‘हाम्रो त घरबास नै थिएन । ठाँटीमै जन्मिएका हौं । बाबाले घाँस काट्ने काम गर्नुहुन्थ्यो अरुकोमा । चारवटा भाइ दुईवटा दिदीबहिनी त्यही ठाँटीमै जन्मियौं । हुर्कियौं’, सोमबहादुर भन्छन् ।
सोमबहादुर माछा मार्न सानैबाट खोलामा पसे । माछा मार्नु छाक टार्ने प्रमुख विकल्प थियो । माछा मारेर नै उनले धेरेथोर रकम जोडे । अनि, खोला वारी सरिआए । सानो ठाउँमा स्याउलाले छाएर टाउको छोप्ने ठाउँ बनाए । घरजम गरे । समयक्रमसँगै सानो घरलाई ब्लकले बलियो बनाए । माछा मारेरै तीन छोरी र एक छोरा हुर्काए ।
उनी जाल हान्दै हान्दै निकै परसम्म पुगिसकेका हुन्थे । माछा लिएर घर फर्किँदै गर्दा भेऊ पाउँथे- अहो ! म त निकै टाढा पो पुगेको रहेछु । तर, जति पर पुगेपनि आँधीखोला छोडेर जान सक्ने अवस्था थिएन । उनले धेरै परको सपना देख्न सकेनन् । जसरी खोलामा हालिएको महाजालले माछाहरू छेक्थ्यो, त्यसरी नै गरिबीले उनका पाइलाहरू अल्झाइरह्यो । सपनाको ढोका उघार्नै दिएन ।
तर, समय पहिलेजस्तो रहेन । अचेल खोलामा माछा कम हुँदै गए । खोलाले पनि बाटो फेर्यो । र, सायद माछाले पनि।
खोलामा माछा घट्नुलाई उनी ढुंगा, गिट्टी, बालुवा निकाल्ने र करेन्ट तथा विष हालेर माछा मार्ने कामलाई ठान्छन् । खोलामा करेन्ट प्रवाह गरेर एवं विष हालेर माछा मार्नु गैरकानूनी हो । तर, नियमन गरिदिने कसले ?
‘त्यतिखेर कसैले ढुंगा लाँदैन्थे । बालुवा लाँदैन्थे । खोलामा जताततै माछा पाइन्थे । अहिले त बीचमा बाँध हालेर आउनै छोड्यो । माछा पातलो भए’, सोमबहादुर सुनाउँछन्, ‘विष पनि हालेर भ्याए । करेन्ट पनि लाउन थाल्यो । पाँच वर्ष जति भयो माछा पातलो भएको ।’
एकातिर माछा कम पाइन्छन् भने अर्कोतिर पहिलेजस्तो ठूला पनि छैनन् । पहिले जाल हानेरै दिनमा १० किलोग्रामसम्म माछा पारेको उनको अनुभव छ । तर, अचेल मुस्किलले दुई किलो पनि पुग्दैन ।
सोमबहादुर महाजाल थापेर खोलामा राख्छन् । कहिलेकाहीँ दुई/तीन दिनसम्मै राख्छन् । सामान्य जालमा भन्दा महाजालमा धेरै माछा पर्छन । तर,आजकल महाजालमा समेत माछा कम पर्न थालेको उनी बताउँछन् ।
अहिले सोमबहादुर मात्र होइन, छोराछोरी पनि माछा मार्ने काममै छन् । माछा बेचेर दिनमा एक हजारदेखि पन्ध्र सयसम्म कमाउँछन् । छोराछोरीले समेत माछा मार्न सिकेपछि सोमबहादुरको जीवन निर्वाहमा केही सहज भएको छ ।
‘पहिले बालाई धेरै दु:ख थियो । हामीले अहिलेजस्तो काम गरेर त्यतिबेला सहयोग गर्न सक्ने अवस्था थिएन । हामी सबै काम गर्न थालेपछि भने माटो र स्याउलाले बनाएको घर हटाएर ब्लकको बनायौं’, छेउमै रहेकी सोमबहादुरकी छोरीले भनिन् ।
यो वर्ष अघिल्लो वर्षजस्तो आम्दानी नभएको सोमबहादुर सुनाउँछन् । खोलाबाट निकाल्ने ढुंगा र बालुवाले माछाको बासस्थान समेत बिगारिदिएको उनको गुनासो छ ।
‘खोलाबाट ढुंगा-बालुवा निकाल्दा माछाको घर बिग्रियो । माछाहरू घर छोडेर गए । उता माछाले घर छोड्दा यता हाम्रो घरमा समस्या पुग्छ’, सोमबहादुर चिन्तित देखिए ।