
गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ ।
'मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो', मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भनेका छन्, 'मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरू सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुखसमक्ष गुनासो गर्न सकिनेछ ।'
उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्गतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए । 'प्राप्त गुनासो सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत प्राथमिकताका साथ सुनुवाइ र फछर्यौट गर्ने व्यवस्था मिलाइएको छ', प्रवक्ता तिवारीले भने ।
सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन नसकेमा गुनासो कक्षको इमेल ([email protected]), फेसबुक (हेलो गृह मन्त्रालय), एक्स हेलो गृह (@mohagunaso) ह्वाट्सएप (९८५१३६०६०३) र हुलाकमार्फत लिखित रूपमा पनि गुनासो राख्न सकिनेछ ।