
नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई देशबीच भैँसीको मासु निर्यातसम्बन्धी समझदारी भएसँगै मासु निर्यात गर्ने बाटो खुलेको हो । मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भएको दुईपक्षीय भेटवार्तापछि दुई देशका अधिकारीहरूबीच समझदारीमा हस्ताक्षर भएको थियो ।
गत वर्ष(२०८०)को असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैँसीको मासु निर्यात गर्ने विषयमा सहमति गरेका थिए । दाहाल नेपाल फर्केलगत्तै चीनको ‘जनरल एडमिनिस्ट्रेसन अफ कस्टम’ले मासु उत्पादनमा जोखिम विश्लेषणसम्बन्धी पत्र पठाएको थियो । नेपालले पनि त्यसको जवाफ पठाएपछि सम्झौता पत्रमा हस्ताक्षर गर्नेगरी प्रक्रिया अगाडि बढाइएको थियो ।
तर, त्यसपछि चीनबाट कुनै पनि जवाफ नआएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सम्झौताअनुसार चीनले माग गरेको मापदण्ड बमोजिम मासु निर्यात गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहराले बताए ।
‘चीन सरकारसँग मासु निर्यातसम्बन्धी सम्झौताअनुसार मासु निर्यात गरिनेछ’, उनले भने, ‘चीनको आफ्नो प्रोटोकल छ । प्रोटोकलअनुसार हामीले आवश्यक मापदण्ड पूरा गरेर निर्यात गर्ने छौं । यसअघि पनि निर्यातका लागि कुरा भइसकेको थियो । मन्त्रालयले त्यसमा गृहकार्य पनि गरिसकेको छ ।’
यसअघि नै मासु निर्यातका लागि चीनले १५ पृष्ठको मापदण्ड उल्लेखगरी नेपाललाई पठाएको थियो । जसमा मासु रोगमुक्त हुनुपर्ने, आफ्नै उत्पादन हुनुपर्ने, खाद्य स्वच्छतालगायत तोकेको मापदण्डअनुसार हुनुपर्ने कुरा मापदण्डमा उल्लेख गरिएको थियो ।
पशु सेवा विभागका अनुसार नेपालका गाई भैँसी कुनै न कुनै रोगबाट प्रभावित भएको कारणले अधिकांश राष्ट्रहरूमा सिधै मासु निर्यात गर्न मिलेको छैन । चीनमा मासु पठाउन पनि रोगसम्बन्धी चुनौती यथावत् रहेको विभागका अधिकारीहरू बताउँछन् । नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास आवश्यक रहेको उनीहरूको भनाइ छ ।
कसरी पठाइन्छ भैँसीको मासु ?
नेपालबाट भैँसी तथा अन्य पशुजन्य वस्तु तथा मासु सिधै विदेश पठाउन मिल्दैन । त्यसमा लागि ल्याब परीक्षण गरेर पशु सेवा विभाग अन्तर्गतको क्वारेनटाइन महाशाखामा अनुमतिको लागि निवेदन पेस गर्नुपर्छ ।
महाशाखाले ल्याब टेस्ट गरिएको छ/छैन ? कसरी/कति पठाउने हो ? कति मूल्यमा पठाउने हो ?लगायत सम्पूर्ण कागजादहरूसहित निवेदन माग गर्दछ । उक्त निवेदनहेरी महाशाखाले अनुमति दिएपछि मात्रै पशुजन्य वस्तु तथा मासु बाहिर पठाउन सकिन्छ ।
यद्यपि चीनको सन्दर्भमा भने भैँसीको मासुका लागि चीनले माग गरेको मापदण्ड पूरा गर्नुपर्ने पशु सेवा विभागले जनाएको छ । अब मन्त्रालयले चीनको प्रोटोकलअनुसार मासुको मापदण्ड बनाएर निर्यातका लागि अनुमति दिनेछ ।