०१ साउन २०८३, शुक्रबार
नियात्रा

अमेरिकाको डिज्ने वर्ल्डको एनिमल किङडममा रमाउँदा...

पुस १३, २०८१
काठमाडौं
अमेरिकाको डिज्ने वर्ल्डको एनिमल किङडममा रमाउँदा...

म र मेरी पत्नी अमेरिकाको फ्लोरिडा शहर नजिक थियौं । हामी ओल्र्यान्डोस्थित डिज्ने वर्ल्डतर्फ पाइला चाल्यौं । अनौठो संसारमा विचरण चरेर अलौकिक आनन्दको अनुभव भयो ।

विश्वप्रसिद्ध डिज्नेवर्ल्डका पाँचवटा थिमपार्कमध्ये एनिमल किङडम प्रमुख पार्क रहेछ । हामी एनिमल किङडम पुगेको दिन फ्लोरिडाका स्कुल/कलेजहरू बिदा भएको समय परेछ । सिंगै फ्लोरिडा डिज्नेवर्ल्डमा उत्रिएको भान भइरहेको थियो । 

डिज्नेवर्ल्डका ढोका बाहिरैदेखि आफ्ना अनुहारमा विभिन्न जंगली जनावरका मुखाकृति पेन्ट गरिएका केटाकेटीहरू देखिए । केटाकेटीदेखि वयस्क मानिसका अनुहारमा विशेषगरी बाघको पेन्टिङ गरिदिने कलाकार पंक्तिबद्ध भएर बसेका थिए । त्यहाँ आएका कतिपय मानिसले आफ्नो र आफ्ना छोराछोरीलाई अनुहारमा विभिन्न जनावरका अनुहार पेन्टिङ गरउँदा रहेछन् ।

कोही ठूलै मानिसले पनि अनुहारमा जनावरका अनुहार पेन्टिङ गराएका देखिन्थे । एउटी सुनकेसरी युवतीले मेरा नजिकै आएर मलाई सोधिन्, ‘के तिमी आफ्नो अनुहारमा बाघको अनुहार पेन्टिङ गराउन चाहन्छौं ? म सस्तोमा पेन्टिङ गरिदिन्छु ।’ 

मैले भनें, ‘गराउँदिनँ, तिमीलाई धन्यवाद !’ मेरो बोली सुनेपछि उनी मुसुक्क मुस्कुराएर अर्को यात्रुलाई सोध्न थालिन्, ‘तिम्रो अनुहारमा जनावरको अनुहार पेन्टिङ गरिदिउँ ?’ हामी सरासर अगाडि बढ्यौं ।

हामी एनिमल किङडमको रमाइलो हेर्न एउटा कलात्मक ढोकाबाट भित्र प्रवेश गर्‍यौं । हाम्रो टोलीमा म, मेरी पत्नी, छोरी साधना, ज्वाइँ, छोरीकी नन्द मञ्जु र ज्वाइँ आमोद देवकोटासमेत ६ जना थियौं । 

डिज्ने वर्ल्ड बालबालिकाको रमाइलो संसार हो भनेर मैले धेरै पहिलेदेखि पत्रपत्रिकामा पढेको थिएँ । ती कुरा सम्झँदै मेरो मनले अनेक कल्पनाका तानाबाना बुनिरहेको थियो । 

एनिमल किङडम नामको थिमपार्कभित्र अफ्रिका र एसियाका दुई बेग्लाबेग्लै खण्ड रहेछन् । ‘जहाँ आफ्नो, त्यहीँ आगो ताप्नु’ भन्छन्, अफ्रिकाभन्दा हामीलाई एसियाको माया बढी थियो । पहिले एसिया खण्डमा प्रवेश गर्ने निधो गर्‍यौं । जति पाइला अगाडि बढाउँदै गयौं त्यति नै हामी अचम्ममा पर्दै गयौं । लाग्यो कतै हामी नेपालमै त पुगेनौं ? 

त्यो ठाउँ हेर्दा हामीलाई आफ्नै देश पुगेकोजस्तो लाग्यो । दोबाटोमा दुवै हात जोडेर नमस्ते लेखिएको साइन बोर्ड थियो । त्यसले हामीलाई आकर्षित गर्‍यो । 

कतै पेगोडा शैलीका र कुनै झिंगटीले छाएका घरहरू नेपालकै हुन् भन्ने लाग्दथ्यो । इँटाले बनेको तर, प्लास्टर नगरिएको इँटा पर्खाल लगाएर बनाइएको एउटा घरले नेपालका थुप्रै घरको प्रतिनिधित्व गर्दथ्यो । त्यहाँ एउटा याक एण्ड यति रेस्टुरेन्ट रहेछ त्यो देख्दा त गर्वको अनुभूति भयो । 

‘रेशम फिरिरी, रेशम फिरिरी, उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी’ भन्ने नेपाली गीतको धुन चर्को माइकको आवाजमा गुन्जिरहेको थियो । 

‘होइन हामी कहाँ आयौं ? नेपाली गीतको धून पो बज्दै छ त । सबैथोक नेपालकै जस्तो छ, सपना हो कि विपना हो यो !’ अचम्म मान्दै सपनाले प्वाक्क भनिन् । 

रेशम फिरिरी......गीतको धून ठूलाठूला स्पिकरबाट बजिरहेका थिए । त्यो मीठो गीतको आनन्ददायक धुनसँगै कैयौं मानिसहरू झुमिरहेका, हल्लिएर नाच्न खोजिरहेका जस्ता देखिन्थे, त्यसबेला मलाई लाग्यो संगीतको कुनै राजनीतिक सीमा रेखा नहुने रहेछ । मलाई लाग्यो, संगीत कुनै पनि देशको भौगोलिक सीमाका ठिंगुराहरूमा कैदी भएर रहन नसक्नेरहेछ । यो सर्वव्यापी हुनेरहेछ , विश्वजनिन हुँदोरहेछ ।

छोरी साधनाले अचम्म मान्दै पेगोडाशैलीमा निर्माण गरिएको झिंगटीको छानो भएको एउटा नेपाली कलाको मन्दिरतिर देखाउँदै भनिन्, ‘मामु ! यहाँ त हाम्रो ज्ञानेश्वरको शिव मन्दिरजस्तै मन्दिर पनि पो रहेछ त । ’

हामीले छोरीले देखाएतिर हेर्‍यौं , मन्दिरका बाहिर देवनागरी लिपिमा स्पष्टसित लेखिएको थियो ‘शिवालय’ । ‘यहाँ त गजवै पो रहेछ त । यो एनिमल किङडमभित्र त अर्को सानो नेपाल पो रहेछ त ! कस्तो मजा लाग्यो । मेरो त छाती नै गर्वले भरिएजस्तो भयो’, मैले भनें ।

हामी त्यो शिवालयभित्र पनि छिर्‍यौं । त्यस मन्दिरमा भित्र बाटेको धुप बलिरहेको थियो, त्यसको छेउमा एउटा तामाको दियो बलिरहेको । हामीले शिवालयको ढोकासम्म गएर नमस्कार गर्‍यौं । कसैकसैले चाहि त्यहाँ चानचुने पैसा पनि चढाउँदा रहेछन्, चानचुने पैसा छरपस्ट छरिएका थिए । सायद ती हिन्दुहरूले चढाएका होलान् भन्ने मलाई लाग्यो । हामीले पनि चानचुन पैसा चढाउँदै बारम्बार पञ्चाक्षरी मन्त्र उच्चाहरण गर्‍यौं, ‘ॐ नमः शिवायः । ’

शिवालयको परिक्रमा र दर्शन सकेर हाम्रो टोली अघि बढ्यो । हाम्रा ज्वाइँ प्रकाशले नाकको डाँडीबाट झर्नलागेको चस्मा चोर औंलाले माथितिर ठेल्दै भन्नुभयो,‘यो एसिया खण्डको डिजाइन गर्नेले चाहिँ नेपालकै मात्र नक्कल गरेको जस्तो देखिन्छ ।’ ज्वाइँ साहेबले फेरि भन्नुभयो, ‘ऊ त्यो ठाउँ हेर्नुहोस् त कस्तो लाग्छ ?’

null

हामीले उहाँले देखाएका ठाउँतिर हेरेको असन , इन्द्रचोकको झल्का दिने चिजबिजहरू थिए त्यहाँ । नभन्दै त्यहाँ कुटो , कोदालो, हँसिया, खुर्पा , खुकुरी कट्टा आदि फलामका हतियार बाहेक पनि बाँस बेतका सामान , मुडा ,चकटी , मान्द्रो गुन्द्री र सुकुल पनि बेच्न राखेजस्तो गरी सजाएर राखिएका रहेछन् । तर, ती पसल थिएनन् , ती त एसियाका छनक दिने कुरा मात्र थिए । 

त्यसै, पसलका अर्का छेउमा एउटा साइनबोर्ड देखापर्‍यो । त्यसमा लेखिएको थियो- ‘कोकाकोला जहिले पनि, जहाँ पनि ।’ अर्को ठाउँमा लेखिएको थियो-‘ताजा मःमः । ’  हामी झन्‌झन् रोमाञ्चित हुँदै गयौं । छक्क पर्दै गयौं , उदेक मान्दै गयौं ।

हामी अझै अघि बढ्यौं । पसल थापेजसरी एउटी सुन्दरी युवती बसिरहेकी थिइन् । छोरी साधनाले र्‍याकमा राखिएको एउटा टिनको भाँडोतिर इंगित गर्दै भनिन्, ‘आम्मै इलामको चिया रे !’ मैले पनि हेरें । एउटा टिनको भाँडामा बाहिर लेखिएको थियो-‘इलामको चिया ।’ त्यसैगरी, अर्को भाँडामा बाहिर लेखिएको थियो-‘दार्जेलिङको चिया ।’ 

मैले त्यस स्टलमा बसेकी युवतीसित सोधें, ‘ऊ त्यो भाँडाको बाहिर के लेखिएको छ ? तिमी भन्न सक्छ्यौ ?’ त्यस युवतीले आफ्ना कुम हल्लाउँदै आफूलाई त्यो थाहा नभएको कुरा बताई । मैले उसलाई त्यहाँ लेखिएको कुरा बताइदिएँ । उसले नयाँ कुरा सिकेजस्तो गरी । 

त्यसको ठीक सामुन्ने एउटा हिमालय पहाड थियो । त्यसलाई देखाउँदै छोरी साधनाले भनिन्, ‘ड्याडी , हेर्नुहोस् त ऊ त्यो एभरेष्ट रे ।’ हामीले त्यहीं ठिङ्ग उभिएर एभरेष्टलाई निकैबेर नियाल्यौं । हाम्रो देशमा देखिरहेको माउण्ट एभरेष्ट (सगरमाथा)को तस्वीर सित त्यो काटिकुटी मिल्दथ्यो । त्यसको तलतल रातै लाली गुराँस फुलेको देखाइएको थियो । हामीले त्यो कसरी बनाएछन् भनेर बुझ्न खोज्यौं । त्यो त फलामका मोटामोटा पाताहरूबाट बनेको रहेछ । हिउँ देखाउन चाहिँ त्यसमाथि सेतो इनामेल पोतिएको रहेछ । त्यसका तल फुलेका लालीगुराँस पनि इनामेल पेन्टिङ गरेर बनाइएको रहेछ । त्यो एभरेष्ट ४०/५० तले घरजत्रो आकारमा बनाइएको हुँदो हो । त्यो एभरेष्टमाथि चढ्ने पनि व्यवस्था रहेछ । त्यसलाई एभरेष्ट राइड भन्दारहेछन् । त्यहाँ चढ्ने डब्बैडब्बा जोडेर बनाइएको एउटा लामो साधन रहेछ । त्यसलाई रोलरकोस्टर भन्दा रहेछन् । त्यो रोलरकोस्टर बिजुली चम्किएको गतिमा उकालो चढ्ने , ओरालो झर्ने गर्दो रहेछ ।

हाम्रो टोलीले पनि एभरेष्ट राइडमा रोलरकोस्टर चढ्ने निर्णय गर्‍यो । सबैजना रोलरकोस्टर चढ्ने भएपछि म एक्लै पछि हट्ने कुरा पनि भएन । मलाई त निकै डर लागेको थियो । हामी रोलरकोस्टर चढ्न लाइनमा बसेका थियौं । 

अचानक एउटा भित्ताले मलाई झ्वाम्मै आकर्षित गर्‍यो । त्यहाँ त विभिन्न नेपाली चलचित्रका पोस्टर टाँसिएका रहेछन् । निखिल उप्रेती , सरोज खनाल, राजेश हमाल , गौरी मल्ल, शिव श्रेष्ठ , भुवन केसी , मौसमी, दिलिप रायमाझी , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य आदि कलाकारहरूका एक्सन फोटाहरूले हामीलाई निकैबेर त्यही भित्तातिर हाम्रो ध्यान खिचियो । । नेपाली पुराना चलचित्रखेखि पछिल्लो समयका चलचित्रका पोस्टर देख्दा हामीले उदेकले जिब्रो टोक्यौं । हामीलाई एकतमासको अनुभव भयो ।

त्यस रोलरकोस्टरमा दुई/दुई जनाको सिट हुँदो रहेछ । दुई जनाको सिटमा म र सपना बस्यौं । हामीभन्दा पछाडी मञ्जु , आमोद त्यसपछि साधना, प्रकाश । मलाई डर लागिरहेको थियो । हामी एभरेष्ट राइडमा चढ्न तयार हुँदै थियौं ।

‘सगरमाथाको देशका नागरिकले सगरमाथा चढ्न पनि अमेरिका पो आउनुपर्‍यो !’ मैले भनें । बिजुली चम्किएको गतिमा चल्ने रोलरकोस्टर चढेर सगरमाथा घुम्न मुटु बलियो पार्नु पर्ने रहेछ । मुटुका रोगीलाई त्यो राइड चढ्न पूर्ण प्रतिबन्ध रहेछ । हामी पनि के कम , जीवनमै पहिलो पटक चढ्यौं । फलामको लुम्सो कम्मरमा ल्याएर हामीले आफूलाई पहिले लक गर्‍यौं । हामीले लक गरेको मिलेन/मिलेको जाँच गर्न त्यहीँका स्टाफ आउँदा रहेछन् । जाँचे , पास भयो । हाम्रो कम्मरमा दरोसित बाँधेपछि , सुइँय्य सिटीमात्र के बजेको थियो , रोलरकोस्टर त चल्न थाल्यो । सगरमाथाका बाहिर पहिले विस्तारै गतिमा चल्दाचल्दै त्यसले बेस्सरी स्पिड बढायो । सुइँय्य गरेर माथि पुगेको रोलर कोस्टर एक्कासी तलतिर ब्याक गर्दा मेरो त त्यसैबेला सातो पुत्लो उडेजस्तो भयो । फेरि त्यो माथि चढ्यो । त्यो यति स्पिडमा थियो , दायाँबायाँ केही नदेखिने अवस्था । 

मैले आपत् पर्दा भन्ने गरेको पञ्चाक्षरी मन्त्र बारम्बार भनें, ‘ॐ नमः शिवाय ।’ पछि त त्यसको स्पिड यति बढ्यो, त्यो ओर्किने, फर्किने, माथि चढ्ने , सिधै तल झर्ने गर्दा मैले केहीबेर त ‘ॐ नमः शिवाय’ पनि भन्न नसकी ‘राम !! राम !! राम !!’ भनें । दौडिँदा दौडिँदै त्यो रोलरकोस्टर एउटा अँध्यारो गुफाभित्र छिरेको थियो । त्यस अँध्यारो गुफाभित्र एउटा डरलाग्दो यतिका पञ्जाले हामीलाई कोपर्न खोजेको थियो । त्यसको केही बेरपछि त मलाई लाग्यो , मेरो जीवनको अन्तिम दिन आजै रहेछ । यहीँ सकिएँ भने नेपालमा भएका छोराको अवस्था के होला भनेर उसको निन्याउरो अनुहार मेरा आँखा अगाडि नाच्न थल्यो । त्यहीँबाट मैले नेपालमा भएका सबै आफन्तलाई सम्झिएँ । रोलरकोस्टर टक्क रोकिँदा त म मूर्तिवत बनेको थिएँ । मेरो होस हवास सबै गुम भएको थियो । लाग्यो , अब भने बाँचियो ।

मलाई त्यस रोलरकोस्टरबाट तब झरियो , जीवनै सकिने भयो जस्तो लागेको थियो । बढीमा पाँच मिनेटको त्यो राइड पछि पनि मेरा दुवै आँखामा त मूल फुटेजस्तै कोशी र कर्णाली बगिरहेका थिए । सपनाले सोधिन्, ‘बुढामान्छेका आँखामा किन आँसु नि ?’ मैले त्यसबेला बल गरेर भनेको थिएँ, ‘नेपालमा भएकाहरूको सम्झना आएर ।’ त्यसबेला मेरो गला नै अबरुद्ध भएको थियो । मलाई भक्कानिएर रुनुजस्तो लागेको थियो , तर आफूलाई थामें ।

एभरेष्ट राइडमा दिनहुँ हजारौं हजार मानिसहरू जाँदा रहेछन् । डिज्ने वर्ल्ड मूलतः वाल्टर डिज्ने महोदयले बालबालिकाहरूका लागि रमाइलो संसारको कल्पना गरेर निर्माण गराएका भएपनि त्यहाँ केटाकेटीका अतिरिक्त युवा र प्रौढ व्यक्तिको पनि ठूलो घुइँचो हुँदोरहेछ ।

डिज्ने वर्ल्डको एभरेष्ट राइड गर्न पुगेका विश्वभरिका बालबालिकाहरूलाई नेपाल सरकारले एभरेष्ट सूचना केन्द्र खोलेर यो एभरेष्ट भनेको विश्वको सबैभन्दा अग्लो हिमालय पहाड हो । यो एसिया महादेशको नेपाल भन्ने देशमा छ । नेपालमा एभरेष्टबाहेक पनि अरु धेरै विश्वप्रसिद्ध हिमालयहरू छन् भनेर सूचना उपलब्ध गराउने हो भने ती बालबालिकाहरूमध्ये कैयौंले ठूलो भएछि माउण्ट एभरेष्टको देश नेपाल जाने उद्देश्य नै बनाउन सक्दथे  । त्यसबाट नेपालको पर्यटन उद्योगको विकासमा सहयोग पुग्ने थियो होला भन्ने मनमा लाग्यो । तर, यसमा टाउको दुखाउने फुर्सद कसलाई हुन्छ र ? 

एभरेष्टको राइडपछि हामी काली रिभरको र्‍याफ्टिङ गर्न गयौं । त्यो काली रिभर हाम्रो कालीगण्डकी नदीको प्रतिरूप थियो । पानी पनि कालो थियो । काली रिभर र्‍याफ्टिङ गर्न आउनेहरूले पहिले नै रेनकोटको व्यवस्था गरेका हुँदा रहेछन् । हामीसित त रेनकोट थिएन । कृत्रिम रूपले निर्माण गरिएको काली रिभरमा विद्युतचालित र्‍याफ्टिङ चढेर काली रिभरका किनारमा भएका अनेक उदेकलाग्दा र विविध सौन्दर्यपूर्ण कुराको दृष्यावलोकन गर्दै रमाउँदै, ठट्टा गर्दै हामी चक्कर काटिरहेका थियौं । र्‍याफ्टिङ गर्ने यात्रुहरूलाई अझ भरपुर मनोरञ्जन दिन ठाउँठाउँमा छ्यापिएको पानीले हामी आधाउधी भिजिसकेका थियौं । 

null

काली रिभरबाट फर्केपछि कार्टुनका क्यारेक्टरहरू डोनाल डक , मिकी माउससँग पालैपालो हामीले तस्वीर खिचायौं । मिकी माउस र डोनाल डकहरू त खोल लगाएर बसेका मानिसहरू पो रहेछन् । ऊसित टाँसिएर फोटो खिच्ने हुँदा मिकी माउससित म निकै टाँसिएर उभिएको थिएँ । उसले मेरा कम्मरमा हल्का कोट्याइदिँदा म अलि परतिर सरेको थिएँ । त्यसबेला मलाई पोखराको फेवा ताल किनारमा रहेको गोल्डेन मेनको मीठो सम्झना भएको थियो ।

एनिमल किङडममा फोरडी फिल्म हेर्दाको मजा अर्कै खालको थियो । त्यसपछि पनि डिज्नेका विभिन्न सानातिना राइड चढेर हामीले डिज्नेको मजा लुट्नसम्म लुट्यौं । डिज्नेको रमाइलो संसारमा बिहान नौ बजेतिर पसेका हामी बेलुका आठ बजे मनमोहक वातावरणलाई छातीभरि राखेर गेटबाट बाहिर निस्कियौं । अनि, गाडी पार्किङ गरेको ठाउँतिर लाग्यौं ।

salt training

कमेन्ट गर्नुहोस्