
बुवा र भाइको हत्यापछि आत्मसमर्पण गरेका मिलन आचार्य विगत १५ दिनदेखि भक्तपुर प्रहरीको हिरासतमा छन् ।
हिरासतमा थुनुवाले पाउने सबै सुविधा मिलनले पाएका छन् । सातामा एक दिन मासुभात र अन्य दिन सादा खाना दिने गरिएको छ ।
प्रहरीले मिलनलाई सोधेका थिए– ‘बुवाको किरिया गर्न त पाएनौ भाइ, नुन बार्छौ कि ?’ जवाफमा मिलनले भने– ‘जे हुनु भइसक्यो, अब बारेर के काम, बरु मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले नै आमालाई हेर्नुपर्छ ।’
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार बुवा र भाइको हत्या गरेकोमा मिलनमा कुनै पश्चाताप छैन ।
उनी अन्य सामान्य मानिसझैँ व्यवहार गर्छन् । आफ्नै सन्तानबाट यस्तो अपराध होला भन्ने कल्पना कमै गर्न सकिन्छ । मनले नमाने पनि मिलनकी आमा रेजिना भक्तपुर प्रहरीको हिरासतमा बेलाबेला उनलाई भेट्न पुग्छिन् ।
आमालाई देखेपछि मिलन भावुक हुँदैनन्, बरु किन भेट्न आएको भनेर प्रश्न गर्छन् ।
कूलप्रसादकी श्रीमती रेजिनाको आँसु अझै रोकिएको छैन । मिलनलाई हिरासतमा भेट्न पुगेकी उनले भावुक हुँदै भनेकी थिइन्– ‘बाबु तैँले नै हो त बुवा र भाइलाई मारेको ? जवाफमा मिलनले भने– ‘हो आमा, मलाई पहिला त्यही बुद्धि आयो ।’
६ पटकसम्म लोकसेवाको परीक्षामा असफल भएका मिलन डिप्रेसनमा थिए । भाइ प्रवीणको आनीबानी, साथीसंगत र अन्य जीवनशैलीबाट आजित भएको उनले प्रहरीलाई बताएका छन् ।
बुवा कूलप्रसादले मिलनको शैक्षिक आवश्यकता पूरा गर्दागर्दै यो नियतिको बारेमा सोच्न भ्याएका थिएनन्, शायद । अन्तिममा आफ्नै छोराबाट मारिनुपर्यो ।
एसपी बुढाथोकी भन्छन्, ‘थुप्रै अपराधका घटना हेरियो, अनुसन्धान पनि गरियो, तर मिलनको व्यवहार देखेर उदेक लाग्यो ।’
प्रहरीलाई रेजिनाले पटक–पटक सोधेकी थिइन्, ‘बाबु मेरो छोरा मिलनले नै बुवा र भाइको हत्या गरेको हो त ? मलाई पत्याउन गाह्रो भइरहेको छ ।’
पुस ७ गते भक्तपुरको बालकोटस्थित डोरामा राति मासुभात खुवाएर बुवा कूलप्रसाद र भाइ प्रवीणलाई सुत्न पठाएका मिलनले बिहान हुन नपाउँदै डमबेल र सिलौटोको लोहोरोले हिर्काएर हत्या गरी भागेका थिए ।
मिलनले प्रहरीमा बयान दिएअनुसार उनले पनि आत्महत्या प्रयास गरेका थिए । प्रयास असफल भएपछि उनी प्रहरीमा आत्मसमर्पण गर्न पुगेका हुन् ।
मृतक कूलप्रसादका ८२ वर्षीय वृद्ध बाबु खडानन्द र ७६ वर्षीया आमा तुलसा कान्छो छोरा एकनाथको घर बालकोटमै बस्दै आएका छन् ।
अहिले पनि खडानन्द बेलाबेला त्यो घटना सम्झेर झसंग हुन्छन् ।
प्रहरीले मिलनको मोबाइल खोतल्दा अर्को तथ्य फेला परेको थियो । उनले भाइ र बुवाको स्केच बनाएर क्रस चिह्न लगाएका थिए । उनले दशैंमै घर गएका बेला परिवारका सबै सदस्यको हत्या गर्ने योजना बनाएको खुलेको छ ।
प्रहरीमा उनले बयान दिएअनुसार आमाको हत्या गर्ने योजनाबाट पछि हट्नुको कारण भने उनी राजनीतिमा थिइन् । रेजिना नेकपा एमाले खोटाङकी जिल्ला सदस्य हुन् ।
भक्तपुर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत मिलनविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराएको छ । ‘मुद्दाको अभियोजन भइसकेको छ, अब एकदुई दिनमा थुनछेक आदेश आउला,’ एसपी बुढाथोकीले भने, ‘मिलनले पनि हिरासतका प्रहरीलाई सोध्ने रहेछन्, कहिले मुद्दा बुझाउने भनेर ।’
पढ्नुहोस्, यो पनि :
बालकोट घटनाको नयाँ रहस्य– बुवा र भाइको स्केच बनाएर पहिल्यै लगाएका थिए ‘क्रस’
बुवा र भाइको ज्यान लिने मिलन– सजाय कम गरिदिए हुन्थ्यो सर, आमा पाल्नुपर्छ !
हेर्नुहोस् भिडियो :