०६ साउन २०८३, बुधबार

रविलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन हुँदै, जिल्लाले उच्च सरकारी वकिलमा पठायो फाइल

माघ ६, २०८१
काठमाडौं
रविलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन हुँदै, जिल्लाले उच्च सरकारी वकिलमा पठायो फाइल

रवि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उच्च सरकारी वकिलको कार्यालयमा फाइल पठाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयकी प्रमुख कमला काफ्लेले पुनरावेदनका लागि उच्चमा निवेदन दिएको जानकारी दिइन् । 

‘पर्याप्त प्रमाण हुँदाहुँदै प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश बदर हुनुपर्ने मागसहित हामीले उच्चमा निवेदन दर्ता गराइसकेका छौं । अब उच्च सरकारी वकिलको कार्यालयले अध्ययन गर्छ,’ जिल्ला न्यायाधिवक्ता काफ्लेले लोकान्तसँग भनिन् । 

जिल्लाको आदेश एकतर्फी रहेको र कानूनसम्मत नभएको तर्क सरकारी वकिल कार्यालयको छ । रविविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरी ३१ करोड २६ लाख बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको थियो । 

३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको गम्भीर प्रकृतिको मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले पुनरावेदनका लागि उच्च सरकारी वकिलकोमा पठाएको हो । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका रविलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

‘तत्काल प्राप्त प्रमाणका आधारमा रवि निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिएकाले उनलाई धरौटी लिएर रिहा गर्न’ आदेश दिइएको थियो । अदालतले तोकेको धरौटी तिरेर उनी सोही दिन हिरासतमुक्त भइसकेका छन् । तर, आदेशको विषयलाई लिएर टीकाटिप्पणी भइरहेको छ । 

आदेशमा लेखिएको मितिमा प्राविधिक त्रुटि समेत देखिएको थियो । पुस २५ गते आदेश भएकोमा आदेशको पुछारमा पुस २४ गते उल्लेख छ । 

कास्की जिल्ला अदालतको सो आदेशविरुद्ध न्याय परिषद्मा समेत उजुरी परेको छ । 

लामिछानेको झुटो बयानलाई आधार मानी तथ्य, प्रमाण र नजीरविरुद्ध आदेश भएकाले न्यायाधीश राईको भूमिका र चरित्रमाथि गम्भीर अनुसन्धान गर्न माग गर्दै अभियन्ता युवराज सफलले पुस २६ गते न्यायपरिषद्मा उजुरी दिएका थिए । 

यता काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अर्का प्रतिवादी छविलाल जोशी आइतबार मात्रै अदालतमा उपस्थित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्