
मदिराले नियन्त्रण गुमाउँदा रुकुमपूर्वमा एक पुरुषले एकै परिवारका दुई जनाको हत्या गरेका छन् । र, हत्यामा संलग्न ती पुरुषले आफ्नो पनि ज्यान फालेका छन् । घटना मंगलबार दिउँसो २ बजेतिरको हो ।
भूमे गाउँपालिका–४ साकिमका ५३ वर्षीय चन्द्रसिंह पुनले छिमेकी ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समीरको खुकुरी प्रहार गरेर हत्या गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव खरेलले अत्यधिक मदिराको मातले होस गुमाएर चन्द्रसिंहले हजुरआमा र नातिको हत्या गरेको अनुसन्धानबाट देखिएको बताए । चन्द्रसिंहको शव नजिकै रगतसहितको खुकुरी समेत फेला परेको छ ।
‘पुरानो रिसइबी केही देखिँदैन’ डीएसपी खरेलले लोकान्तरसँग भने, ‘खुकुरीले उनीहरूको हत्या गरेर आफू पनि भाग्दै गर्दा त्यही खुकुरीले लागेर उनको पनि मृत्यु भएको देखिन्छ ।’
‘हत्या गरेँ’ भन्दै हातमा खुकुरी लिएर भाग्दै गरेका पुनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि पुगेको प्रहरीले भीरबाट लडेर खसेजस्तो अवस्थामा उनको शव फेला पारेको डीएसपी खरेलले बताए ।
‘सानोतिनो झगडा रहेछ । ती व्यक्ति मापसे गरिरहने रहेछन् । माइन्डले सही निर्देशन नगरेपछि घटना घटेको देखिन्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’, डीएसपी खरेलले भने ।
भूमे गाउँपालिका-४ का वडा अध्यक्ष श्याम बुढाले हत्या घटनाले सिंगो गाउँ शोकमा डुबेको बताए । गाउँको डरलाग्दो घटनाले सबै त्रसित समेत रहेको उनको भनाइ छ ।